आवश्यकताभन्दा बढी सञ्चयले ग्यास अभाव

समाधान संवाददाता २०७६ चैत ६ गते १२:१८

समाधान संवाददाता, पोखरा

बजारमा खाना पकाउने ग्यासको अभाव भइरहेको गुनासो सुनिएको बेला संघीय सरकारसहितका विभिन्न निकायले गरेको अनुगमनबाट उपभोक्ताले आवश्यकताभन्दा बढी भण्डारण गरी राख्न थालेकाले समस्या देखिएको पाइएको छ । उपभोक्ताले चाहिएभन्दा बढी सिलिन्डर भण्डारण गर्न खोज्दा त्यसको प्रत्यक्ष असर बजारमा देखिएको उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष कपिलनाथ कोइरालाले बताए ।

‘ग्यासको उत्पादन र वितरण पूर्ववत् रुपमै सञ्चालन भइरहेको पाएका छौं,’ उनले भने, ‘अझ् उत्पादन मात्रा पहिलेभन्दा २÷४ सय सिलिन्डर उद्योगीले बढाएका पनि छन्, एकैपटकमा ह्वात्तै माग बढ्यो ।’ आफ्ना नियमित ग्राहकलाई खुद्रा व्यापारीले ग्यास दिनैपर्ने वाध्यताजस्तै भएको र उपभोक्ताले पनि सकेसम्म धेरै भण्डारण गरेर राख्न खोजेकोले बजारमा समस्या देखिएको उनले बताए । ‘अब धेरै दिनसम्म यस्तो समस्या रहँदैन, उपभोक्ताको घरघरमा भएका सिलिन्डर भोरिन्छन्, त्यसपछि बजारमा ग्यासको माग स्वात्तै घट्छ,’ उनले भने । कोरोना भाइरस (कोभिड–१९) को बारेमा सरकारले फैलिएका भ्रम चिर्न सार्थक प्रयास नथालेकाले उपभोक्तामा मनोवैज्ञानिक असर परिरहेको अध्यक्ष कोइराला बताउँछन् । उनी भन्छन्, ‘उत्पादन र वितरणमा समस्या छैन भन्ने सन्देश हामी दिनहुँ गरिरहेको अनुगमनले पनि पुष्टि गरेको छ ।’

Advertisement

बुधबार जिल्ला प्रशासन कार्यालय कास्की, उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, पोखरा महानगर र उपभोक्ता मञ्चका प्रतिनिधि सम्मिलित टोलीले क्षेत्र बाँडफाँड गरी एकैपटकमा अनुगमन गरेको छ । इलाका प्रशासन कार्यालय लेखनाथका प्रशासकीय अधिकृत चित्रांगद बरालको संयोजकत्वमा लेखनाथ क्षेत्र, प्रशासकीय अधिकृत नवराज बरालको संयोजकत्वमा सेतीपूर्वको क्षेत्र, सेती पश्चिमको क्षेत्रमा प्रदेश बजार अनुगमन समितिका सदस्य सचिव भरतमणि बरालको संयोकत्वमा अनुगमन टोली परिचालित भएको हो । प्रदेश बजार अनुगमन समितिका संयोजक समेत रहेका निर्देशनालयका निर्देशक गोकुल शर्मा पौडेलको संयोजकत्व टोलीले कास्की बाहिरका जिल्लालाई निगरानी गरेको छ ।

अनुगमनले दैनिक उपभोग्य वस्तुको आपूर्तिमा समस्या नभएको बताएको छ । सामान्य १÷२ रुपैयाँ बढाएर खुद्रा पसलेले बिक्री गर्दा मूल्य वृद्धिको हल्ला फैलिएको उपभोक्ता मञ्च गण्डकी अध्यक्ष कपिलनाथ कोइरालाले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया