कास्की अदालतका स्रेस्तेदार घुससहित पक्राउ

समाधान संवाददाता २०७६ चैत ६ गते १२:३६

समाधान संवाददाता
पोखरा

जिल्ला अदालत कास्कीका स्रेस्तेदार लोकनाथ पराजुलीलाई ३० हजार रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले बुधबार पक्रेको छ । पोखरा ५ पस्र्याङको मदिरा पसलमा घुस लिइरहेको अवस्थामा बुधबार साँझ साढे ७ः३० बजेतिर पराजुली पक्राउ परेका हुन् ।

अख्तियार पोखराका अनुसार संगठित अपराध सम्बन्धी मुद्दामा पक्राउ परेका व्यक्तिको गाडी छुटाइदिने प्रलोभनमा स्रेस्तेदार (उपसचिव) पराजुलीले ३० हजार रुपैयाँ घुस मागेका थिए । अपराधको सिलसिलामा प्रयोग भएको आधारमा नियन्त्रणमा लिएको गाडी छुटाइदिने प्रलोभन पराजुलीले दिएका थिए । ५० हजार रुपैयाँ घुस माग्दा ३० हजारमा बार्गेनिङ गरी त्यतिमा कुरो टुंगिएपछि पैसा लिन पराजुली रेस्टुरेन्ट पुगेका थिए । स्रेस्तेदारको जिम्मेवारी अदालतमा प्रशासनिक प्रमुखको हुन्छ ।

Advertisement

गएको साउन महिनामा रामबजारका रमेश नेपालीले पत्नी हत्याका लागि प्रयोग गरेको गाडी अदालतको आदेशले छुटिसकेको थियो । गाडी छुटाउन आफूले सहयोग गरेको भन्दै पराजुलीले रकम दिन तारन्तर सम्पर्क गरेपछि गाडीधनीले बुधबारको समय तोकेका थिए । उनले यो बारेमा अख्तियारलाई बिहानै खबर गरेपछि टोली पराजुलीको निगरानीमा खटिएको थियो । रमेश नेपालीले भाडाको गाडी प्रयोग गरेर पत्नी हत्याका लागि पुम्दीभुम्दीको जंगलमा मानिस पठाएका थिए । हत्यामा संलग्न भारतीय नागरिक फरार छन् भने सहयोग गर्ने नेपाली पुर्पक्षका लागि थुनामा छन् ।

बागलुङ जिल्ला अदालतमा स्रेस्तेदार छँदा विवादमा मुछिएका पराजुलीकै कारण कुनै मुद्दाका पक्षले अदालतको गाडीमा ढुंगामुढा गरेका थिए । कास्कीबाट सरुवा भइसकेका उनी रमाना लिएर हिँड्ने बेलामा उनी घुस काण्डमा फसेका छन् । उनको सर्वाेच्च अदालतको इजलास अधिकृतमा सरुवा भइसकेको छ । पराजुलीको ठाउँमा आउने उपसचिव हाजिर नभएका कारण उनले रमाना लिन पाएका थिएनन् ।

Advertisement

तपाईको प्रतिक्रिया