डान्स पार्टीका नाममा ट्रान्स पार्टी

समाधान संवाददाता २०७६ चैत ६ गते १२:५२

सुरेशराज अधिकारी
पोखरा

पोखरामा केही वर्षअघि देखि नै विभिन्न ठाउँमा ट्रान्स पार्टी हुँदै आएका छन् । अवैध रुपमा गरिने ट्रान्स पार्टी पोखरा र आसपासमा पछिल्लो समयमा बढेका थिए । यो पार्टीमा नेपालीभन्दा बढी विदेशी सहभागी हुने गरेका छन् ।

गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी पोखरामा कार्यालय कास्कीले मंगलबार ट्रान्स पार्टीबारे अनुसन्धान पनि गर्‍यो । पोखरा २३ मा चापाकोटको माथिल्लो भागमा ट्रान्स पार्टी भइरहेको सूचना आएको थियो । चापाकोटको वन्स इन नेचर रिसोर्टमा प्रत्येक महिनाको १ पटक ट्रान्स पार्टी हुँदै आएको थियो ।

Advertisement

रिसोर्टका सञ्चालकले ट्रान्स पार्टी चलाएको जानकारी पाएको प्रहरीको अनुसन्धानले प्रमाणित भएपछि मंगलबार रातिबाट अनुसन्धान थालियो । छानो राखिएको सानो कटेरा, चारैतिर खुला थिए । त्यहाँ जान बस्तीलाई छाडेर करिब १५ मिनेट पैदल हिड्नुपर्छ । कटेरामा नेपाली र विदेशी गरी लगभग ३५ जना ठूलो आवाजमा म्युजिक लगाएका नाच्दै थिए । उनीहरुलाई चेकजाँच गर्दा प्रहरीले गाँजा र चरेस फेला पारेको छ ।

अनुसन्धान अधिकारीका अनुसार झट्ट हेर्दा त्यो ट्रान्स पार्टी जस्तै देखिएको थियो । लागुऔषध गाँजा, चरेस साथमा लिएका र ड्रान्स पार्टीका गरी ७ जनालाई पक्राउ गरिएको । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ । १ जर्मन, ४ नर्वेली, १ स्विडिस र रिसोर्टका सञ्चालक सन्देश शर्मा पक्राउ परेको रहेको जिल्ला प्रहारी कार्यालय कास्कीका प्रवक्ता तथा इस्पेक्टर नरहरि अधिकारीले जानकारी दिए । उनले त्यो ट्रान्स पार्टी नभई अन्य उद्देश्यले रातिसम्म खोलिएको दाबी गरे ।

Advertisement

के हो त ट्रान्स पार्टी ?
‘ट्रान्स पार्टी’को अर्को नाम ड्रग्स पार्टी हो । यसलाई नेपालमा मात्र हैन, विश्वमै अवैध मानिन्छ । लागुऔषधको सेवनसहित ठूलो आवाजमा विदेशी संगीत बजाएर ३÷४ दिनसम्म लगातार नासामा रहेर नाच्ने कार्यक्रमलाई ट्रान्स पार्टी भनिन्छ । स्थानीय युवाभन्दा आन्तरिक र बाह्य पर्यटक यसका ग्राहक हुन् ।

केही वर्षअघिसम्म काठमाडौंमा ट्रान्स पार्टी हुने गर्थे । पछिल्लो समयमा धरान, पोखरा तथा बुटवलका विभिन्न रेस्टुरेन्टले डान्स पार्टीका नाममा पनि ट्रान्स पार्टी गर्न थालेको प्रहरी अधिकारी बताउँछन् ।

गत वर्ष पोखराको लोकसाइडस्थित द अफिस रेस्टुरेन्टबाट यस्तै ट्रान्सपार्टीमा रमाइरहेका युवायुवतीलाई वडा प्रहरी कार्यालय बैदामले पक्राउ गरेको थियो । त्यो बेला नेपाली र विदेशी गरेर ८० जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । पछिल्लो समय प्रहरीको आँखा छल्न विभिन्न बहानामा डान्स पार्टीका नाममा केही गिरोहले ‘ट्रान्स पार्टी’ आयोजना गर्ने गरेका थिए । यस्तो पार्टी पोखरामा धेरै हुने गरेको स्रोत बताउँछ । प्रायः ट्रान्स पार्टी ठूला ठूला खोलाका किनारा र एकान्तमा हुन्छन् । अहिले यस्तो पार्टी गिरोहले रेन्टुरेन्टमै १ रातका लागि चलाउन थालेको प्रहरीको दाबी छ ।

मुद्दा चलाउन प्रमाण अभाव
ट्रान्स पार्टी गर्नेहरुलाई मुद्दा चलाउन प्रमाण नपुग्ने गरेको प्रहरी बताउँछ । ट्रान्स पार्टीमा सहभागी भएकामध्ये लागुऔषध साथमा हुनेलाई लागुऔषध ओसारपोसारको मुद्दा लगाउने गरिन्छ । ‘अन्यलाई मुद्दा चलाउने गतिलो प्रमाण हुँदैन,’ ‘प्रहरी अधिकृत भन्छन्, ‘होहल्ला तथा अन्य मुद्दा दर्ता गरिन्छ ।’ प्रमाण बलिया नहुँदा उनीहरु चाडै छुट्ने र यस्तै क्रियाकलापमा फेरि संलग्न हुने गरेका छन् । नेपालमा ट्रान्स पार्टीका लागि छुट्टै कानुन छैन ।

तपाईको प्रतिक्रिया