मुस्ताङका ३ पालिकामा खोप अभियान

समाधान संवाददाता २०७६ चैत ६ गते १३:०३

समाधान संवाददाता
जोमसोम

मुस्ताङमा दोस्रो चरणको दादुरा रुबेला खोप अभियान चलाइने भएको छ । पहिलो चरणमा प्रदेश नं. १, २ र ५ मा भएको अभियान दोस्रो चरणमा बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिमका विभिन्न जिल्लामा सञ्चालन गरिँदै छ ।

गण्डकी प्रदेशका ११ जिल्लामा अभियान सञ्चालन हुन लागेको हो । खोप अभियानको तयारी पूरा भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङका प्रमुख टीकाराम भण्डारीले खोप अभियानको पूर्व तयारी स्वरुप जिसस प्रमुखको संयोजकत्वमा जिल्ला स्तरीय खोप समन्वय समिति गठन भएको बताए । उनले खोप अभियानलाई सफल पार्न पालिका तथा वडा स्तरीय खोप समन्वय समिति पनि बनिसकेको जानकारी दिए ।

Advertisement

खोप अभियानमा सरिक बालबालिकाको अभिलेख संकलन गर्न घर घरमा निमन्त्रणा कार्ड पठाइएको छ । दादुरा रुबेला सन् २०२३ सम्म निमूल गर्ने सरकारको लक्ष्य रहेको स्वास्थ्य कार्यालय मुस्ताङका प्रमुख भण्डारीले बताए । ९ महिनाभन्दा माथि र ५ वर्षमुनिका बालबालिकालाई खोप लगाइँदै छ । ९ महिनाभन्दा माथिका बालबालिकालाई १५ महिनापछि पुनः खोप लगाईने र २ वर्षदेखि ५ वर्षमुनिका बालबालिकालाई १ पटक मात्रै खोप लगाइनेछ । रुबेला खोप भने गर्भवती महिलालाई लगाइन्छ ।

भण्डारीले दादुरा रुबेला खोप लगाउनाले बालबालिकाको रोग प्रतिरोधात्मक शक्ति बढ्ने उल्लेख गरे । दोस्रो चरणको अभियान भए पनि उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा अभियानपछि सरेको छ । मुस्ताङका ५ स्थानीय तहमध्ये ३ पालिकामा मात्र अभियान सञ्चालन हुनेछ । उपल्लो मुस्ताङमा चिसो अझै नघटेको र चिसो छल्न बेशी झरेका मुस्ताङी घर नफर्किएकाले अभियान वैशाखमा सञ्चालन गरिने भएको छ ।

Advertisement

जिल्लाको वारागुङ मुक्तिक्षेत्रमा १८, घरपझोङमा १० र थासाङ गाउँपालिकामा १३ खोप केन्द्र गरी ३ पालिकामा ४१ खोप केन्द्र स्थापना गरिएको स्वास्थ्य कार्यालय मुस्ताङले जनाएको छ । खोप अभियानमा ४१ स्वास्थ्यकर्मी र ८२ स्वंयसेवक परिचालन हुने कार्यालयले जनाएको छ । दोस्रो चरणको खोप अन्तर्गत वारागुङ मुक्तिक्षेत्रमा चैत १० देखि १६ गते सम्म, घरपझोङमा चैत १४ देखि १८ गतेसम्म र थासाङ गाउँपालिकामा चैत ६ गते देखि १३ गतेसम्म चल्नेछ । थासाङ, घरपझोङ र वारागुङका ६ सय ३० बालबालिकालाई दादुरा रुबेला खोप लगाउने योजना छ ।

तपाईको प्रतिक्रिया