चितुवा पीडित इशक परिवारलाई राहत

समाधान संवाददाता २०७६ चैत ६ गते १३:१५

कृष्ण न्यौपाने
दमौली

चितुवा आक्रमणबाट १३ माघमा ज्यान गुमाएका बन्दीपुर गाउँपालिका ४ लोहीपाखाका १० वर्षीय इशक सुनारको परिवारलाई डिभिजन वन कार्यालय तनहुँले राहत रकम प्रदान गरेको छ ।

वन कार्यालयले इशक परिवारलाई बुधबार घरमै पुगेर राहत रकम बापतको ९ लाख ५० हजारको चेक प्रदान गरेको हो । कार्यालयका प्रमुख केदार बराल र बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले संयुक्त रुपमा उक्त चेक इशकका बुबा सुकबहादुर सुनार र आमा पवित्रा सुनारलाई हस्तान्तरण गरे । कार्यालयले घटना लगत्तै किरिया खर्चबापत ५० हजार र बन्दीपुर गाउँपालिकाले ५० हजार उपलब्ध गराएको थियो ।

Advertisement

नेपाल सरकार वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत वन्यजन्तुको क्षतिको राहत निर्देशिका २०६९ (संशोधित २०७५) बमोजिम वन्यजन्तुको आक्रमणमा परी सामान्य घाइते भएमा ५० हजारसम्म, गम्भीर घाइते भएमा २ लाखसम्म र मृत्यु भएमा अधिकतम १० लाखसम्म उपलब्ध गराउने व्यवस्था छ । सोही व्यवस्था अनुसार पीडित परिवारलाई १० लाख राहत प्रदान गरिएको बरालले जानकारी दिए ।

राहत बापतको चेक हस्तान्तरण गर्दै बन्दीपुर गाउँपालिका अध्यक्ष थापाले राहत रकम अन्य छोराछोरीको शिक्षादीक्षामा लगानी गर्न आग्रह गरे । थापाले अझै पनि यस क्षेत्रमा चितुवाको त्रास रहेकाले अभिभावकले विशेष ख्याल गर्नुपर्नेमा जोड दिँदै भने, ‘साँझको बेला बालबालिकालाई बाहिर निस्कन नदिऔं ।’

Advertisement

डिभिजन वन कार्यालयका प्रमुख बरालले चितुवाको आक्रमणबाट बालबालिकाको मृत्यु हुने र घाइते हुने क्रम रहेकाले बालबालिका जोगाउन अभिभावकले ध्यान दिनुपर्नेमा जोड दिए ।

विवाह भोज खाएर फर्कदै गरेको अवस्थामा चितुवाको आक्रमणमा परी बालकको मृत्यु भएको थियो । घर नजिकै पुग्ने बेलामा आक्रमणमा परेका बालकको शव घरभन्दा ८० मिटर टाढा खोल्सामा फेला परेको थियो ।

२ दिन अघि चैत ३ गतेमात्रै चितुवाको आक्रमणबाट तनहुँको शुक्लागण्डकी नगरपालिका ३ बनकेवामा २१ महिनाकी संस्कृति न्यौपाने घाइते भएकी थिइन् । उनको पोखरास्थित मनिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । २८ फागुनमा चितुवाको आक्रमणबाट बन्दीपुर ५ याम्पामा ७ वर्षीय अनुप नेपाली घाइते भएका थिए । उनको अवस्था पनि सुधारोन्मुख छ ।

चितुवाको आक्रमणबाट तनहुँमा २०७४ फागुन यता ९ बालबालिकाले ज्यान गुमाएका छन् । तीमध्ये ७ जना बालबालिकालाई राहत बापतको रकम प्रदान गरिएको र शुक्लागण्डकी ३ रातमाटाका २२ महिनाका रवीन नेपाली र आँबुखैरेनी गाउँपालिका १ रानागाउँका ८ वर्षीय पुजन सिंजाली मगरको परिवारलाई राहत प्रदान गर्न बाँकी रहेको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ ।

तपाईको प्रतिक्रिया