फोहोरी हात

समाधान संवाददाता २०७६ चैत ६ गते १४:१३

अहिले जताततै एउटा सूचना व्यापक प्रचारमा छ– कोरोना भाइरसको संक्रमणबाट बच्ने पहिलो उपाय व्यक्तिगत सरसफाइ भएकाले साबुन पानीले राम्रोसँग मिचिमिचि हात धुने बानी बसालौं । हुन पनि स्कुल, कलेजदेखि जताजतै यस्तै कुरा पढाइन्छ । ससाना बालबालिकालाई पनि बाबुआमाले यस्तै सिकाइरहेका हुन्छन् । आखिर के हाम्रो हात यति धेरै फोहोर हुन्छ त ? हो हाम्रो हात असाध्यै फोहर हुन्छन् । आफै विचार गर्नुस् त १ मिनेटमा तपाईं हात कति चल्छ र फोहोरसँग छोइन्छ ? राम्ररी हात धुने, सफा पानीको प्रयोग अनि साबुन पानीको प्रभावकारी उपयोग गर्नाले हात सफा भएर धेरै रोगबाट बच्न सकिन्छ । अहिले विश्वभर महामारीको रुप लिएको कोरानालाई पनि यही तरिबाबाट परास्त गर्न सकिन्छ । केही दसक अघिसम्म साबुन उपलब्ध नहुँदा माटोले हात धुने या खरानी पानीले हात धुने चलन नेपाली समाजमा रहेको थियो । उपलब्ध नभएका बेलै त्यही विधि उपयुक्त थियो । तर अहिले त हामीसँग साबुन लगायत थुप्रै सामग्री छन् हातको सफाइका लागि । त्यतिमात्र हो, हात सफाइमा ध्यान मात्रै दिनुपर्‍यो ।

विश्व स्वास्थ्य संगठनले हातको सरसफाइ अहिले विकासोन्मुख देशको ठूलो चुनौती भनेर उल्लेख गरेको छ । सुन्दा सानो र सामान्य विषय हो । तर यसले मुलुकको विकाससँग सम्बन्ध राख्छ । त्यतिमात्र होइन दीगो विकासका लक्ष्य प्राप्तिमा समेत हातको सरसफाइ जोडिएको छ । हात सफा नभएका कारणले नै विभिन्न रोग र संक्रमणहरुका कारण बर्सेनि लाखौंले ज्यान गुमाइरहेका छन् । विश्वभरि प्रतिवर्ष पौने २ करोड बालबालिकाको मृत्युको कारण हातको फोहोर सावित भइसकेको छ । हातको सफाइलाई प्राथमिकता राख्नकै लागि विश्वभर हरेक वर्ष अक्टोबर १५ मा हात धुुने दिवस मनाइन्छ । बालबालिकादेखि वयस्कमात्र होइन प्रौढलाई सचेत बनाउन यो दिवस प्रभावकारी हुँदै आएको छ । यो दिवस मनाउन थालेको सन् २००८ बाट हो । हात धुँदा भाँडामा पानी राखेर भन्दा पनि धारा प्रयोग गर्नुपर्छ । किटाणुहरु सबैतिर भए पनि ती किटाणु हाम्रो आँखाले देख्न सक्दैन । जुन किटाणुका कारण हाम्रो ज्यानै पनि जान सक्छ । हात नधोएकै कारण बिरामी हुन् अस्पताल पुग्नु र ज्यानै गुमाउनु भन्दा त धोएकै राम्रो होइन र ?

विश्व स्वास्थ संगठनका अनुसार शौचालय गएपछि र बच्चाको दिसापिसाब लागेका कपडा चलाएपछि वा कोपरा फालेपछि, खाना खानुअघि र खाएपछि, पकाउनु अघि, काँचो खानेकुरा छोएपछि या बिरामी हरुलाई भेट्नु अघि र भेटेपछि, धूमपान गरेपछि अनिवार्य हात धुनुपर्छ । यति धेरै महत्व बोकेको हातको सफाइका बारेमा हाम्रा शिक्षालय र कार्यथलोमा कत्तिको सचेतता अपाइएको होला त ? विद्यार्थीलाई शिक्षा दिने असल कुरा सिकाइले शिक्षालयमा साबुन त कुरै छाडौं पानीको पनि प्रबन्ध हुँदैन । स्याङ्जाका केही विद्यालयको प्रसंग सञ्चारमाध्यममा आए पनि यो समस्या अन्यत्र पनि व्याप्त छ । निजी तथा सामुदायिक विद्यालयमा सरुवा रोगबाट बच्न साबुन पानीले हात धुने कुरा व्यवहारमा लागु हुन सकेको छैन । प्रधानाध्यापकहरुले गल्ती स्वीकार गरेका छन् । के गल्ती स्वीकार गरेर मात्र हुने विषय हो र यो ? किताबमा सिद्धान्तका कुरा सिकाउने अनि व्यवहार कार्यान्वयन गर्न चासो नदेखिाउने ? यस्तो पनि शिक्षा हुन्छ ? दैनिक सयौं विद्यार्थीको जमघट हुने विद्यालयमा हात धुने पानी र साबुनको प्रबन्ध नहुनु सामान्य गल्ती होइन ।

Advertisement

तपाईको प्रतिक्रिया