कास्कीमा ५० हजार बालबालिकालाई दादुरा रुबेला खोप लगाइने

समाधान संवाददाता
पोखरा
कास्कीका ५० हजार २ सय ६० बालबालिकालाई दादुरा रुबेला खोप लगाइने भएको छ । दादुरा रुबेला खोप अभियानको दोस्रो चरण अन्तर्गत कास्कीका ४ सय २० खोप केन्द्रमा लक्षित जनसंख्यालाई खोप दिन लागिएको हो । अभियानका लागि ६ सय ४७ खोप कार्यकर्ता परिचालन गरिने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय कास्कीका प्रमुख बाबुराम आचार्यले चैत महिनाको १० देखि २२ गतेसम्म गरी ९ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई खोप दिन लागेको जानकारी दिए । जिल्ला स्वास्थ्य कार्यालय कास्की र पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाले राष्ट्रिय खोप कार्यक्रम दादुरा रुबेला खोप अभियान २०७६÷०७७ बारेमा बिहीबार आयोजना गरेको कार्यक्रममा कार्यालय प्रमुख आचार्यले कास्कीका गाउँपालिकामा चैत १० देखि १९ गतेसम्म र पोखरा महानगरपालिकामा चैत २० देखि २२ गतेसम्म खोप सञ्चालन हुने बताए ।
दादुरा रुबेला खोप अभियानको तयारीको क्रममा योजना तर्जुमा गोष्ठी, खोप कार्यकर्तालाई तालिम तथा अभिमुखीकरण गोष्ठी, लक्षित बच्चा भएको घरमा निमन्त्रणा कार्ड पठाइने कार्यक्रम छ । जनशक्ति व्यवस्थापन, प्रचार प्रसार गर्नेदेखि खोप सामग्री स्वाथ्य संस्थामा पुर्याउने काम भएको कार्यालय प्रमुख आचार्यले जानकारी दिए । उनले वडा स्तरमासमेत जनप्रतिनिधिको सहभागितामा खोप समन्वय समितिको बैठक बसी खोप अभियानलाई व्यवस्थित गरिने बताए । सरकारले पहिलो चरणमा प्रदेश नम्बर १, २ र ५ नम्बर प्रदेशका ३४ जिल्लामा फागुन १ देखि ३० गतेसम्म दादुरा रुबेला खोप अभियान चलाएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोस्रो चरणमा गण्डकी, कर्णाली, सुदूरपश्चिम र वागमती प्रदेशका ४३ जिल्लामा चैतको १ देखि ३० गतेसम्म खोप अभियान चलाउने तयारी गरेको छ । पहिलो चरणमा ९ महिनादेखि ५ वर्षसम्मका १९ लाख बालबालिकालाई खोप दिइएको छ । दोस्रो चरणमा दादुरा रुबेला खोप अभियान र नियमित खोप कार्यक्रमको सुदृढीकरणमा ३० लाख बालबालिकालाई समेट्ने सरकारको योजना छ ।
जिल्ला स्वास्थ्य कार्यालय कास्कीका प्रमुख आचार्यले सन २०१९ सम्ममा दादुरा रुबेला निवारण गर्ने लक्ष्यका साथ सन् २०१३ र सन २०१६ मा दादुरा रुबेला खोप अभियान गरेको जानकारी दिए । ‘नियमित खोपको कभरेजको कमी र महामारीमै रहेको कारण सन् २०१९ मा दादुरा रुबेला निवारणको लक्ष्य हासिल गर्न सकिएन,’ उनले भने, ‘दक्षिण पूर्व एसियाको क्षेत्रका सबै देशबाट सन् २०२३ सम्ममा दादुरा रुबेला रोग निवारण गर्ने लक्ष्य निर्धारण गरिएको छ । नेपालले पनि निवारण गर्ने लक्ष्यमा प्रतिबद्धता जनाएको छ ।’ उनले रोगहरुको नियन्त्रण, निवारण र उन्मुलनका लागि नियमित खोप तथा अभियानमा सबै तहमा ९५ प्रतिशत भन्दा माथि कभरेज भएको सुनिश्चितता हुनु पर्ने जानकारी दिए ।
दक्षिण पूर्वका श्रीलंका, भुटान, माल्दिभ्स, टिमोर, लिस्टे र दक्षिण कोरियाले दादुरा रुबेला नियन्त्रण गरेको जानकारी दिँदै उनले निवारण उन्मुख दादुरा रुबेलालाई नेपाल लगायत ६ देशले दादुरा रुबेला केसलाई शुन्यमा झार्ने योजना अघि सारेको बताए ।
उनले छुटेका बच्चाको पहिचान र कारणको विश्लेषण गरी आगामी दिनमा समतामूलक र गुणस्तरीय खोप सेवाकालागि राजनीतिक प्रतिबद्धता र सामाजिक परिचालनमा विशेष जोड दिनु पर्ने उल्लेख गरे । पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख हेमन्त शर्मा पौडेलले उच्च जनघनत्व भएको सहरी क्षेत्र, अव्यवस्थित बस्ती र डेरामा बस्नेलाई अभियानमा छुट्न नदिन सतर्कता अपनाउने बताए । उनले सहरी क्षेत्रमा बालबालिकालाई खोप लगाउनबाट छुट्न नदिन विशेष योजना बनाएको उल्लेख गरे । बाल रोग विशेषज्ञ डा. रामचन्द्र बास्तोलाले पहिलो चरणमा खोप लगाए पछि हुन सक्ने अवाञ्छित घटना (एइएफआइ) नभएको जानकारी दिए । उनले दोस्रो चरणमासमेत सतकर्ता अपनाएर अवाञ्छित घटना दोहोरिन नदिने बताए ।
कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुवकुमार पोखरेलले दादुरा रुबेला खोप अभियानलाई सफल पार्न सञ्चार क्षेत्रको सकारात्मक सहयोग आवश्यक भएको बताए । कार्यक्रममा पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका दादुरा रुबेला खोप अभियानका फोकल पर्सन हरिलाल आचार्य, स्वास्थ्य निरीक्षक फुलदेव शर्मा, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ लगायतले दादुरा रुबेला खोपको तयारी बारे बोलेका थिए ।









ग्रीन डेभलपमेन्ट बैंकको लाभांश पारित, सेयरधनीले ८ प्रतिशत बोनस पाउने
प्रजातन्त्र सेनानी कर्णशंकर पालिखेको निधन
तानातानबीच रतनपाण्डे माविमा प्रधानाध्यापक बनिन् संगीता पोखरेल
पोखराका ताल–सिमसार क्षेत्रमा प्रजाति विविधता घट्यो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया