हाेटेल व्यवसायमा काेराेनाकाे कहरः रोयल पाम रिसोर्ट बन्द, अरु ठूला होटल रुङ्नुमात्रै

अमृत सुवेदी
पोखरा
पोखरा चाउथेमा रहेको रोयलपाम रिसोर्टमा पोखरा चेम्बर अफ कमर्सले चैत १ गते विशेष कार्यक्रम राखेको थियो । कोरोना भाइरसको सन्त्रास र भीड हुने खालका कार्यक्रम नगर्न निर्देशन भइरहेकाले संस्थाले कार्यक्रम रोक्यो ।
विश्वभर फैलिएको कोरोनाको सन्त्रासकै कारण फागुन पहिलो सातायता पोखरा रोयल पाम रिसोर्ट हुने तय भएका ६ वटा यस्ता कार्यक्रम स्थगित भए । बढी आम्दानी हुने ठूला कार्यक्रम स्थगित हुने र कोरानाको प्रभावले पाहुना पनि शून्य बनेपछि रोयल पामले रिर्सोट नै बन्द गराएको छ ।
‘भइरहेका कार्यक्रमहरु धमाधम बन्द भए । पर्यटक आउन शून्य भयो,’ रोयल पामका म्यानेजर राज श्रेष्ठले भने, ‘न पाहुना छन् न कर्मचारीले गर्ने अरु काम छ । रिसोर्टले धान्न नसक्ने भएपछि कर्मचारीलाई बिदामा पठाएर रिसोर्ट बन्द गराएका छौं ।’
पछिल्लो २ सातासम्म केही पाहुना थिए । ती पाहुना पनि गएपछि रिसोर्ट फागुन अन्तिम साताबाट शून्य नै भयो । कोरोना प्रभावले रिसोर्ट नै ठप्प भएपछि रोयल पाम व्यवस्थापनले १ महिनाका लागि कामदारलाई बिदा दिएर बन्द भएको छ ।
‘सुरुमा कर्मचारी आलोपालो गरेर रिसोर्ट खुला राख्ने कि भन्ने थियो । पछि पाहुना शून्य भए, सरकारले पनि सूचना जारी ग¥यो,’ म्यानेर श्रेष्ठले भने, ‘बुधबारदेखि १ महिनालाई रिसोर्ट बन्द ग¥यौं ।’
१ महिनाका लागि बिदामा पठाएका कामदारका विषयमा अन्य रिसोर्टले के गर्छन् भन्ने हेरेर निर्णय गर्ने उनले बताए । ‘विषम परिस्थिति छ । उनीहरु बिदामा जाँदा सेवा सुविधाको विषयमा के गर्ने भन्ने निर्णय गरिसकेका छैनौं,’ म्यानेजर श्रेष्ठले भने, ‘अरुले कसरी व्यवस्थापन गर्छन्, कामदारका सवालमा के कस्ता निर्णय हुन्छन् हेरेर अगाडि बढ्छौं ।’
यसअघि अर्कै समूहले चलाइरहेको रिसोर्ट ४ वर्ष अघिमात्र रोयल पामको सूमहले खरिद गरेको थियो । यो रिसोर्टमा ३५ जना कामदार छन् । बिहीबारसम्म उनीहरुमध्ये अधिकांश घर लागिसकेका छन् ।
९० प्रतिशत कामदारलाई बिदा, शून्य पाँचतारे
पोखरामा अहिले १ मात्र पाँच तारे होटल छ । फूलबारी रिसोर्ट बन्द भएपछि पोखरा ग्रान्ड होटल एकमात्र यहाँको ५ तारे होटल बनेको छ । पछिल्लो समय धेरैजसो कार्यक्रम स्थगित हुन थालेको थियो । र पनि ३ दिनअघिसम्म गण्डकी प्रदेश सरकारको ग्रान्डमा ठूलै कार्यक्रम थियो ।
त्यसयता ग्रान्डमा न कुनै कार्यक्रम छन् न पाहुना । होटलका महाप्रवन्धक रोशन खवासले भने, ‘अप्रिलयता होटलमा पाहुना छैननन् । अहिले त शून्य नै भइसक्यो । कर्मचारीलाई बिदामा पठाएर होटल कुर्ने काममात्र भइरहेको छ ।’
पोखरा ग्राण्डमा १ सय ७० जना कामदार छन् । यसमध्ये झण्डै १ सय २० जनालाई बिदामा पठाएर होटल खोल्ने काममात्र भइरहेको महाप्रवन्धक खवासले जानकारी दिए । होटलको अवस्था चौपट छ । शून्य भएपछि कामदार पाल्नसमेत धौ हुने अवस्था आयो । फेरि अब यो संकट कतातिर जान्छ भन्ने पनि एकिन नभएपछि कामदारलाई बिदामा पठाएका हौं,’ महाप्रवन्धक खवासले भने, ‘अबको स्थिति हेरेर बन्द गर्ने कि खुला राख्ने भन्ने एकिन हुन्छ ।’
सञ्चित बिदामा ठूला होटलका कामदार, सानाका मारमा
पोखराका पाँचतारे होटलदेखि स्तरीय पर्यटन होटल र साना होटलसम्म सबै शून्य प्राय भइरहेको होटल व्यवसायीले बताएका छन् । ५ तारिखसम्म राम्रै पर्यटकको अकुपेन्सी रहेपछि अहिले शून्य रहेको पोखराको होटल बाराहीका म्यानेजर राजकुमार केसीले बताए ।
पर्यटक शून्य हुँदै गएपछि ठूला तथा स्तरीय पर्यटन होटलले त्यही सञ्चित बिदामा कामदारलाई घर पठाएका छन् । पोखरा ग्रान्डका अधिकांश कर्मचारीको नियमित पाउने बिदा नै सञ्चित थियो । १ सय ७० जना कामदार छन् । त्यसमध्ये १ सय १० भन्दा बढी कर्मचारी सञ्चित बिदामा छन् ।
‘कामदारको सञ्चित बिदा नै भएकाले अधिकांश त्यही बिदामा घर गएका छन् । बाराहीमा १ सय जना कर्मचारी छन् । त्यसमध्ये अहिले ३० जना गएका छन्,’ केसीले भने, ‘८ तारिखसम्म ठिकै थियो । त्यसपछि मन्दी लाग्न सुरु भयो । अब गाह्रो हुन थाल्यो ।’
ग्रान्ड, बाराहीजस्तै अतिथि रिसोर्ट, फिस्टेल लज लगायतबाट पनि सञ्चित बिदा लिएर घर गएका छन् भने साना होटलका कामदार भने मारमा छन् । ठूलो सेवा सुविधा पनि नहुने र बिदामा गएपछि फेरि के हुने हो भन्ने साना होटलका कर्मचारीमा रहेको पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनले जानकारी दिए ।
अहिले सिंगो पोखराकै होटल तथा रेस्टुरेन्टमा ५ प्रतिशतको हाराहारीमा मात्र अकुपेन्सी रहेको अध्यक्ष तुलाचनको भनाइ छ । त्यसमा पनि अधिकांश नेपाल आएका पर्यटक स्वदेश फर्कन नपाएका कारण र फाट्टफुट्टमात्र काम विशेषले आउने नेपालीमात्र भएको उनको भनाइ छ । होटल तथा पर्यटनको क्षेत्रमा सन्नाटा छाएको र अहिले धानिनमात्रै सक्नु ठूलो कुरा भएको तुलाचनको भनाइ छ ।
तपाईको प्रतिक्रिया