दादुरा रुबेला निर्मुल अभियान

समाधान संवाददाता २०७६ चैत ७ गते १३:५५

बाल मृत्युदर कम गर्न नेपालले प्राप्त गरेको सफलता विश्वकै लागि उदाहरण बनेको छ । विकासका अरु सूचक हेर्ने हो भने स्वास्थ्य त्यो पनि मातृशिशु स्वास्यको अवस्था निकै सबल र सफल मानिएको छ नेपालमा । २०३४ सालमा सुरु भएको खोप अभियान अन्तर्गत हाल नेपालमा ११ प्रकारका खोप निशुल्क रुपमा दिँदै आइएको छ । नियमित खोपको कभरेजको कमीले दादुरा, रुबेलालाई निवारण गर्न नसकेको ठहर गर्दै नेपाल सरकारले देशभरमा खोप लगाउन छुटेका बच्चा खोज्ने अभियान थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले ड्रप आउट भएका २२ प्रतिशत बच्चालाई अभियानमार्फत पहिचान गरी खोपको दायरामा ल्याउने प्रयास थालेको छ । नियमित खोपको कभरेजको कमीको कारण सन् २०१९ सम्ममा दादुरा र रुबेलालाई निवारण गर्ने लक्ष्य प्राप्त हुन सकेन । नेपालले सन् २०१९ सम्ममा रुबेला सिआरएस ९५ प्रतिशतले घटाउने र दादुरा निवारण गरी शून्यमा झार्ने योजना अगाडि सारेको थियो । सन् २०१७ देखि फैलिएको दादुरा सन् २०१९ मा महामारीको रुपमा फैलिएका कारण नियन्त्रण नै गर्न नसकिने अवस्थामा पुगेको हो ।

Advertisement

दादुरा निवारण गर्ने अभियान सफल नभएका कारण नियमित खोप कार्यक्रमलाई सुदृढ गरी सन् २०२३ सम्ममा दादुरा, रुबेलालाई निवारण गर्ने अर्को योजना अगाडि सारिएको छ । अभियानमार्फत दुवै खोपको दुवै मात्रा ३ तहमा ९५ प्रतिशतभन्दा मािथ कभरेज गर्न लक्ष्य छ । सरकारले पहिलो चरणमा प्रदेश नम्बर १, २ र ५ नम्बर प्रदेशका ३४ जिल्लामा फागुन १ देखि ३० गतेसम्म यो अभियान सम्पन्न गरिसकेको छ । दोस्रो चरणमा गण्डकी, कर्णाली, सुदुरपश्चिम र प्रदेश नम्बर ३ का ४३ जिल्लामा चैतको १ देखि ३० गतेसम्म खोप अभियान चलिरहेको छ । कास्कीमा यो कार्यक्रम चैत १० गतेबाट सुरु हुँदैछ । कास्कीका ४० हजार भन्दा बढी बालबालिकालाई यो अभियानमा समेट्ने तयारी छ । तर कास्कीको पोखरामा बसाइँसराइँको चाप अत्यधिक भएका कारण लक्ष्यभन्दा बढी बालबालिकालाई खोप लगाइन्छ । यो कार्यक्रमका लागि मुलुकभर ९ हजार दक्ष स्वास्थ्यकर्मी, ५५ हजार स्थानीय सुपरीवेक्षक र १ लाख स्वयंसेवक परिचालित छन् । कार्यक्रम व्यवस्थापनका ३२ करोड खर्च लाग्ने अनुमान गरिएको छ ।

राष्ट्रिय खोप अभियान जनस्वास्थ्यको सफल मध्येको प्रमुख कार्यक्रम हो । खोप कार्यक्रम सबैभन्दा जनसरोकार र नेपाल सरकारको प्राथमिकतामा पर्दै आएको छ । विकसित मुलुकले २५ प्रकारको खोप निशुल्क प्रदान गर्दै आए पनि नेपालमा भने हालसम्म ११ प्रकारका खोप सरकारले प्रदान गर्दै आएको छ । पखालाविरुद्धमा रोटा भाइरसको खोप दिने तयारी गरेको गरेको छ । खोपमा १ डलर खर्च गरे भविष्यमा ४४ डलर बचत गर्न सकिने विश्व स्वास्थ्य संगठनले भनेको छ । खोपका कारण ५० वर्षको अवधिमा नेपालीको औषत आयु ३५ वर्ष बढेको दाबी सरकारी निकायले गरेका छन् । जनस्वास्थ्यसँग जोडिएको यति महत्वपूर्ण अभियानलाई सफल पार्नु हामी सबैको दायित्व हो । नेपालमा लगाइने खोप परीक्षणका लागि विदेशी मुलुकले पठाएको हल्ला चलाइन्छ । जुन सरासर निराधार हो । विश्व स्वास्थ्य संगठनको मापदण्ड पूरा भएका खोप मात्र प्रयोग गरिन्छ । तसर्थ यस्ता हल्लाका पछि कोही लाग्नु हुँदैन ।

तपाईको प्रतिक्रिया