अस्पताल प्रशासनले भन्यो – ‘इमर्जेन्सी नपरी हस्पिटल नआउनोस्’

समाधान संवाददाता २०७६ चैत ८ गते १३:३०

अनुप पौडेल, समाधान

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) ले अत्यावश्यक बाहेक अन्य कारणले अस्पताल प्रवेश नगर्न आग्रह गरेको छ । विश्वभर फैलिरहेको कोरोना (कोभिड–१९) भाइरसबाट हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै अस्पतालले यस्तो आग्रह गरेको हो ।

प्रतिष्ठानका उपकुलपति प्राडा बुद्धिबहादुर थापाको उपस्थितिमा शुक्रबार बसेको विभागीय प्रमुख तथा इन्चार्जको बैठकले चिकित्सकसँगै सबै कर्मचारीलाई बिदा नदिने निर्णय गरेको प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए । ‘कोरोना संक्रमणको रोकथाम, नियन्त्रण र उपचारका लागि अस्पतालका कोही पनि चिकित्सक र कर्मचारीलाई बिदा नदिने निर्णय भएको छ,’ उनले भने, ‘प्रतिष्ठानले हालै निर्माण गरेको २ भेन्टिलेटरसहितको १० बेडको आइसोलेसन कक्ष तयारी अवस्थामा छ ।’

Advertisement

बिरामीको अत्यधिक चाप हुने अस्पतालमा रुघाखोकी र ज्वरो आएर सेवा लिन पुग्नेहरुको छुट्टै जाँच गर्ने तयारी भइरहेको निर्देशक डा. आचार्यले जानकारी दिए । ‘रुघाखोकी र ज्वरो आएर अस्पतालमा सेवा लिन आउनेको हकमा छुट्टै ‘फिभर क्लिनिक’ सञ्चालन गर्ने तयारी छ । त्यसका लागि स्रोत साधन जुटाउँदै छौं,’ उनले भने ।

ओपिडी सेवा सञ्चालनका विषयमा भने अस्पतालले स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार हुने जनाएको छ । निर्देशक डा. आचार्यले भने, ‘ओपिडी सेवा विस्तारै कम गर्दै जाने भन्ने कुरा छ । स्वास्थ्य मन्त्रालयले जे निर्देशन दिन्छ, त्यही हुन्छ ।’ बैठकले भाइरस नियन्त्रण तथा व्यवस्थापनका लागि निर्देशक डा. आचार्यको संयोजकत्वमा कोभिड १९ व्यवस्थापन समिति पनि गठन गरिएको छ । समितिमा अस्पतालका विभागीय प्रमुख सदस्य छन् ।

Advertisement

यो समितिको बैठक हरेक दिन दिउँसो २ बजे बस्ने तय भएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल प्रदेशकै सबैभन्दा बढी भिड अस्पताल हो । अहिले पनि कोरोनाको त्रासले अस्पताल पुग्ने बिरामीको संख्यामा प्रभाव परेको छैन । ‘दैनिक १५ सय हाराहारीमा बिरामी आउँछन् । कोभिडले कुनै प्रभाव भने पारेको छैन,’ निर्देशक डा. आचार्यले भने । सरकारले २५ जनाभन्दा बढी मानिस भेला नहुन भनिरहेका बेला अस्पतालमा भने यो निर्देशन लागु नहुने देखिएको छ ।

‘सरकारले २५ जनाभन्दा बढी भेला नहुन भनेको छ तर यो कार्यान्वयन गर्न कठिन देखिन्छ । यसमा नागरिक आफैं सचेत हुनु आवश्यक छ । अनावश्यक कामले अस्पताल नआउने हो भने विस्तारै व्यवस्थापन गर्न सकिन्छ,’ उनले भने । भाइरसका कारण देशका सबैजसो अस्पतालले सतर्कता अपनाउन थालेका छन् । अस्पतालहरुले अत्यावश्यकबाहेक अन्य कारणले अस्पतालमा नआउन नागरिकलाई आग्रह गरेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंका ५० शड्ढयामाथिका अस्पताललाई अत्यावश्यक बाहेकका परीक्षण र शल्यक्रिया नगर्न शुक्रबार निर्देशन दिएको छ । मन्त्रालयले कोरोनाका शंकास्पद बिरामीलाई अन्य अस्पतालमा पठाउन नपाउन र प्राथमिकता दिएर उपचार गर्न पनि निर्देश गरेको छ ।

तपाईको प्रतिक्रिया