लेखनाथमा स्थापना भयो कोरोना विशेष अस्पताल
ईश्वर देवकोटा, समाधान
गण्डकी प्रदेश सरकारले सम्भावित कोरोना संक्रमित बिरामीलाई उपचारको लागि भन्दै पोखरा ३० मोहरियास्थित लेखनाथ सामुदायिक लायन्स अस्पताललाई थप व्यवस्थापनसहित सञ्चालन गर्ने भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपालमा पनि कोरोना भाइरस (कोभिड–१९) संक्रमणको उच्च जोखिममा रहेको चेतावनी दिएसँगै सरकारले जारी गरेको ‘हाइ अलर्ट’ अनुसार प्रदेशले पूर्व तयारी थालेको हो ।
तत्काललाई कोरोना संक्रमित बिरामीलाई उपचारका लागि आइसोलेसनका रुपमा उक्त अस्पतालाई उपयोग गर्ने शुक्रबार बसेको मन्त्रिपरिषद बैठकबाट निर्णय भएको सामाजिक विकास मन्त्री नरदेवी पुनले जानकारी दिइन् । ‘अस्पताल सञ्चालक समितिसँगको समन्वयपछि अहिलेलाई आइसोलेसनका रुपमा सञ्चालन गर्ने भएका छौं,’ मन्त्री पुनले भनिन्, ‘अहिले नै ६० शड्ढयासम्म सञ्चालन गर्न सकिने देखिएको छ ।’ प्रदेशमा छुट्टै सरुवा रोगसम्बन्धी अस्पताल निर्माण गर्ने छलफल चलिरहेकाले उक्त अस्पताललाई नै प्रक्रियागत रुपमा विकास गर्न सकिने मन्त्री पुनले जानकारी दिइन् । ‘तत्कालका लागि कोरोना लक्षित अस्पतालका रुपमा सञ्चालनमा ल्याउने र बाँकी सबै प्रक्रिया पूरा गरेपछि मात्र थप सञ्चालनको टुंगो लाग्छ,’ उनले भनिन् ।
अस्पतालमा हाल ५१ शड्ढया उपलब्ध छ । १ डाक्टर, ४ मेडिकल अफिसरसहित ४० जनाको जनशक्ति अस्पतालमा छ । आइसोलेसनको रुपमा सञ्चालन गर्दा आवश्यक सबै तयारी पूरा गर्ने प्रतिबद्धता प्रदेश सरकारबाट प्राप्त भएपछि आपत्को अवस्थामा सहयोग गरेको सञ्चालक समितिका अध्यक्ष रमानाथ पौडेलले जानकारी दिए । ‘यहाँको जनशक्ति आवश्यक पर्ने हकमा तालिम र सुरक्षा प्रबन्ध गरेर मात्र परिचालन गर्न भनेका छौं,’ उनले भने, ‘समग्र समुदायलाई पनि संक्रमणबाट सुरक्षित राख्न अस्पताल र समुदायको तर्फबाट सरकारसामु हाम्रा कुरा राखेका थियौं ।’ अस्पताललाई नै प्रदेशको स्वामित्वमा लैजाने पक्षमा भने प्रस्ताव नआएकाले छलफल नभएको उनले बताए ।
अस्पताल आकस्मिक सेवासहित सञ्चालनमा छ । ४ आइसियु, १ भेन्टिलेटर बेड उपलब्ध रहेको अध्यक्ष पौडेलले जानकारी दिए । ०६० सालदेखि ०६२ सम्म महायज्ञ चलाएर समुदायका दाताले जोहो गरेको अर्थबाट अस्पताल सञ्चालनमा आएको थियो ।
तपाईको प्रतिक्रिया