संकटमा महिलाको रचनात्मक सिर्जना
समाधान संवाददाता
पोखरा
अहिले बजारमा सजिलै मास्क पाइँदैन । कोरोना भाइरस संक्रमणको सन्त्रासले बजारमा यसको कालोबजारी पनि भइरहेको छ । संकटका बेला केही रचनात्मक काम गर्न पाए हुन्थ्यो भन्ने पोखरा ५ का महिलालाई लाग्यो ।
हाम्रो रचनात्मक गार्मेन्ट उद्योगका महिलाले सल्लाह गरे, ‘कोरोना संक्रमणबाट जोगिन स्तरीय मास्क बनाऔं ।’ बजारमा मास्क अभाव भएपछि रचनात्मक गर्भेन्टले कटनको मास्कको रचना गर्यो । मास्क त बन्यो तर अब यसको स्तर कस्तो छ, कति सुरक्षित छ त मनमा प्रश्न उब्जियो । मास्कको गुणस्तर र प्रयोगबारे बुझ्न वडा सदस्य अञ्जु केसीको नेतृत्वमा उद्योगको टोली पोखरा स्वास्थ विज्ञान प्रतिष्ठान पोखराका निर्देशक डा. अर्जुन आचार्यकहाँ पुग्यो ।
कटनको कपडालाई भित्री, बाहिरी गरी डबल सिलाइएका विभिन्न रङका मास्क हेरेपछि डा. आचार्यले ती मास्क प्रयोग गर्न उपयुक्त रहेको बताए । डा. आचार्यले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निम्ति ६ सय मास्क खरिद नै गरे । ‘मास्क हेरें । अस्पतालमा त्यही प्रयोग गर्नका निम्ति ६ सयप्रति खरिद नै गरें । डबल सिलाइएको र कटनको राम्रो कपडा भएकाले पनि यो मास्क उपयुक्त लाग्यो,’ डा. आचार्यले भने, ‘बजारमा अभाव भएका बेला दिदीबहिनीले तयार पारेको यो मास्क उपयुक्त विकल्प हुन सक्छ ।’
रचनात्मक गार्मेन्ट पोखरा वडा नम्बर ५ को अगुवाइमा खुलेको उद्योग हो । उद्योगमा सञ्चालक महिला ३३ जना छन् । ३ जनाले नियमित काम गर्छन् । गार्मेन्ट उद्योगकी अध्यक्ष राधिका अधिकारी छिन् । उद्योगको अभिभाकत्व वडाले नै गरेको छ भने संयोजन वडा सदस्य केसीले गरेकी छिन् । ‘महिलालाई स्वरोजगार र उद्यमशील बनाउन वडाकै नेतृत्वमा गार्मेन्ट खोलेका हौं । उद्यमशील बन्न चाहने महिलाले यहाँबाट उद्यम सिक्न, स्वरोजगार बन्न र आत्मनिर्भर बन्न सक्छन्,’ वडाध्यक्ष धनबहादुर नेपालीले भने, ‘उद्यमशील बन्ने यो अभियानमा थुप्रै महिला जोडिएका छन् । अहिले तिनै महिलाले मास्क बनाइरहेका छन् ।’
अहिले महिलाले कोही गार्मेन्टमै आएर, त केहीले घरमै मास्क बनाइरहेको केसीले जानकारी दिइन् । ‘महिलाको कमाइ पनि हुने र यो संकटका बेला सेवा पनि हुने भएर मास्क बनाउन लागिपरेका हौं,’ केसीले भनिन्, ‘गार्मेन्टबाट अहिले दिनहुँ ७ सयदेखि १ हजार मास्क बजारमा गइरहेको छ ।’ संसारभर फैलिइरहेको कोरोना संक्रमणबाट बच्न बजारमा विकल्प दिने काम महिलाको सीपले गरेको छ ।
मास्कको मूल्य १४ देखि २५ रूपैयाँसम्म तोकिएको छ । अहिले पनि मास्कको दिनहुँ माग बढिरहेको छ । ‘अहिले गार्मेन्टका महिला दिदीबहिनीले घरेलु र स्थानीय स्तरमै उत्पादित मास्क दिइरहेका छन् । यो गतिलो विकल्प पनि बनेको छ,’ केसीले भनिन् । बजारमा मास्क अभाव हुन नदिन र कोरोना संक्रमणबाट सुरक्षित रहन पोखरा ५ महिला उद्यमीको यो जुक्ति अहिले फलदायी बनेको छ । गार्मेन्टमा वडा कार्यालय र पोखरा महानगरले ६ लाख लगानी गरेका छन् । उद्यमी महिलाले पनि यसमा लगानी बढाउँदै लगेका छन् ।
तपाईको प्रतिक्रिया