गोरखामा कोरोना कहर
मोहसिन अलि मियाँ
गोरखा
विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) को सन्त्रास नेपालमा समेत बढ्दै गएको छ । हालसम्म नेपालमा यसको संक्रमण नदेखिए पनि सुरक्षाका लागि विभिन्न उपाय अपनाइएको छ । ३ तहका सरकारले कोरोनाको संक्रमण भित्रिन नदिन पूर्वतयारी र कार्ययोजना अघि बढाएका छन् । सरकारले नै सार्वजानिक रुपमा भेला हुने खालका सबै स्थलमा बन्देज लगाइसकेको छ । गोरखामा पनि सावधानी अपनाउँदै स्थानीय सरकार, प्रशासन, स्वास्थ्य संस्था तथा निजी क्षेत्रबाट विभिन्न उपाय अवलम्बन गरिएको छ ।
कैदीबन्दी भेट्न बन्देज
गोरखा कारागारमा रहेका कैदीबन्दी भेटघाटमा प्रतिबन्ध लगाइएको छ । कोरोना भाइरसको जोखिम बढेको भन्दै अर्को सूचना प्रकाशित नभएसम्म कैदीबन्दीका आफन्त लगायत जो सुकैलाई भेटघाट गर्न बन्देज लगाइएको कारागारका निमित्त प्रमुख रविलाल सुवेदीले जानकारी दिए ।
कोरोनाबाट कैदीबन्दीलाई जोगाउन घर वा बाहिरी स्थानबाट खाना, खाजा लगायतका खानेकुरासमेत कारागारमा लैजान र खान पूर्ण रोक लगाइएको सुवेदीले बताए । कारागार प्रशासनले कैदीबन्दीलाई नियमित रुपमा साबुन पानीले हात धुन र मास्क लगाउनसमेत निर्देशन दिएको छ ।
मनकामनामा पूजा रोकियो
मनकामना मन्दिरमा शनिबारदेखि पूजाआजा गर्न नपाइने भएको छ । कोभिड १९ को संक्रमण फैलन नदिन प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा सर्वसाधारणका लागि पूजा गर्न रोक लगाइएको मन्दिरका मुख्य पुजारी इन्सान थापामगरले बताए । तर मन्दिरमा विशेष पूजा भने रोकिने छैन । सरकारले २५ भन्दा बढीलाई एकै ठाउँमा भेला हुन रोक लगाएपछि मनकामना मन्दिरमा केही समयका लागि पूजाआजा गर्न रोक लगाइएको पूजारी थापाले जानकारी दिए । मनकामना मन्दिरमा दैनिक करिब ५ सय भन्दा बढी भक्तजनले दर्शन गर्ने गरेका थिए ।
केबलकार नयाँ वर्षमा खुल्ने
कोरोना भाइरसको त्रासले मनकामना केबलकारसमेत बन्द भएको छ । चैत ८ गतेदेखि ३० गतेसम्म केबलकार पूर्ण रुपमा बन्द गराइएको मनकामना दर्शन प्रालिले बताएको छ । केबलकारमा भिडभाड बढी हुने र भाइरसको समेत उच्च जोखिम हुने भएकाले बन्द गराइएको प्रालिका नायब महाप्रबन्धक डिएन कायस्थले बताए । केबलकार अगामी नयाँ वर्षका दिनमात्रै खुल्ने बताइएको छ ।
गोरखा संग्रहालय बन्द
कोरोना भाइरसकै त्रासमा गोरखा संग्रहालय बन्द गराइएको छ । सरकारले भिडभाड हुने स्थल र भेला हुन प्रतिबन्ध लगाएसँगै आगामी २०७७ वैशाख १९ गतेसम्मका लागि पूर्ण रुपमा बन्द गराइएको गोरखा संग्रहालयका प्रमुख नवराज अधिकारीले बताए ।
२ अस्पतालमा आइसोलेसन कक्ष
कोरोना संक्रमणको आशंका लागेकालाई उपचार गर्न गोरखा र आँपपीपल अस्पतालले पूर्वतयारी थालेका छन् । शंकास्पद बिरामी भेटिएमा छुट्टै कक्षमा राखेर उपचार गर्न गोरखाका २ अस्पतालले आइसोलेसन वार्ड तयार गरेका हुन् । गोरखा अस्पतालमा २ वटा कोठाका ४ बेड आइसोलेसन बनाइएको सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए । उपचारका लागि गोरखा अस्पतालले इमर्जेन्सी मेडिकल टिमसमेत बनाएको ढकालको भनाइ छ ।
पालुङटार नगरपालिका ३ आँपपीपलस्थित आँपपीपल सामुदायिक अस्पतालमा आइसोलेसन कक्ष स्थापना गरिएको छ । पालुङटार नगरपालिकाको सहयोगमा अस्पतालमा ४ वटा बेड र आवश्यक औषधी उपकरणसहितको आइसोलेसन वार्ड स्थापना गरिएको नगरपालिकाका स्वास्थ्य शाखाका दीपेन्द्र गिरीले जानकारी दिए ।
स्थानीय तहका छुट्टै ‘हेल्थ डेस्क’ र आइसोलेसन कक्ष
कोरोना भाइरसको जोखिम कम गर्न गोरखाका स्थानीय तहले समेत हेल्थ डेस्क स्थापना गरी सञ्चालनमा ल्याएका छन् । गोरखा नगरपालिकाले जिल्लाको प्रवेशद्वार वडा नम्बर १३ स्थित मझुवा देउरालीमा डेस्क स्थापना गरी जिल्ला भित्रिने र बाहिरिने यात्रुको स्वास्थ्य अवस्था जाँच गर्दै आएको जनाएको छ । आरुघाट गाउँपालिकाले ३ ठाउँमा स्वास्थ्य चेकजाँच कक्ष स्थापना गर्ने निर्णय गरेको छ । धादिङबाट गोरखा भित्रिने बूढीगण्डकी पुल, भीमसेन थापा गाउँपालिकाबाट आरुघाट प्रवेश गर्ने स्तुलखोला पुल र घ्याम्पेसालबाट आरुघाट प्रवेश गर्ने सीमामा हेल्थ डेस्क राख्ने तयारी आरुघाटको छ ।
सिरानचोक गाउँपालिकाले ४ ठाउँमा आइसोलेसन कक्षको तयारी गरेको छ । हर्मीको नमूना भवन, नयाँ साँगुको कृषि सहकारीको भवन, जौबारी प्राथमिक स्वास्थ्य केन्द्र र थालाजुङको स्वास्थ्य चौकी भवनमा आइसोलेसन कक्ष तयार गरिएको गाउँपालिकाका अध्यक्ष राजु गुरुङले जानकारी दिए । ८ वडाको स्वास्थ्य चौकीमा गरी ८ ठाउँमा हेल्थ डेस्क तयार गरेको उनले बताए ।
अत्यावश्यक काम नभए घर बाहिर नजानूः प्रशासन
कोरोनाको सम्भावित जोखिम न्यूनीकरणका लागि भन्दै जिल्ला प्रशासन कार्यालय गोरखाले जरुरी कामबाहेक घरबाहिर हिँडडुल नगर्न आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै भाइरसको सम्भावित जोखिम न्यूनीकरण गर्न जिल्लाबासी तथा विदेशी नागरिकलाई आवतजावत नगर्न आग्रह गरेको हो । जिल्लास्थित विद्यालय, क्याम्पस, इन्स्टिच्युट, पार्टी प्यालेस, मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्चजस्ता शैक्षिक, धार्मिक, सांस्कृतिक, सार्वजनिक स्थलमा २५ जनाभन्दा धेरै जमघट हुन रोक लगाएको प्रशासकीय अधिकृत हर्क रोकाले बताए ।
सकेसम्म घरमै बसेर काम गर्नुः पत्रकार महासंघ
नेपाल पत्रकार महासंघ गोरखाले समाचार संकलन र सम्प्रेषण गर्दा सुरक्षित भएरमात्र गर्न जिल्लास्थित पत्रकारलाई आग्रह गरेको छ । समाचार संकलनका लागि भिडभाड हुने स्थानमा नजान र सरकारी अधिकारी वा निकायको सूचनामा आधारित भएर समाचार सम्प्रेण गर्न सञ्चार गृहलाई महासंघले आग्रह गरेको हो । सरकारी निकायले गरेका गतिविधि र क्रियाकलापबारे नियमित सूचना आदान प्रदान गर्न गराउन महासंघले आग्रह गरेको अध्यक्ष किशोरजंग थापाले बताए ।
महासंघको शनिबार बसेको बैठकले कोरोना भाइरसको मौका छोपेर कालोबजारी, यातायात साधनमा मनोमानी शुल्क लिने, दैनिक उपभोग्य सामग्री महँगोमा बिक्री गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने जस्ता काम नगर्न नगराउन संबद्ध पक्षमा आग्रह गर्दै र सरोकारवाला निकायलाई नियमित अनुगमनमा जोड दिन आग्रह गरेको अध्यक्ष थापाले बताए ।
गुरुकुलमा हनुमान चालिसा पाठ
कोरोनाबाट बच्न तथा बचाउन भन्दै गोरखाको गोरक्षनाथ वैदिक गुरुकुलमा नित्य हनुमान चालिसा पाठ सुरु गरिएको छ । कोरोना भाइरस वायुबाट फैलने भएकाले वायुपुत्र हनुमानलाई प्रशन्न पार्न दैनिक बिहान र साँझ हनुमान चालिसा पाठ सुरु गरिएको प्राचार्य ईश्वरीप्रसाद उपाध्यायले जानकारी दिए ।
गुरुकूलकै १ जनालाई कर्ता बनाएर संकल्प लिई पाठ गर्ने गरिएको उनले बताए । कोरोनाको त्रासमुक्त गराउन दुर्गासप्तशती चण्डी पनि पाठ गर्न थालिएको उनले बताए । दुर्गासप्तशती चण्डी नवरात्रसम्म पाठ गर्ने र हनुमान चालीसा पाठचाहिँ कोरोना निवारण नभएसम्म गरिरहने गुरुकूलका अध्यक्ष पुरुषोत्तम अर्यालले जानकारी दिए ।
तपाईको प्रतिक्रिया