भारतबाट आइपुग्यो मेसिन, भोलिबाट दैनिक ७० हजार थप मास्क उत्पादन हुने

समाधान संवाददाता २०७६ चैत ९ गते १५:५७

समाधान संवाददाता, काठमाडाैं

सरकारले दैनिक उपभोग्य वस्तु सहज र नियमित आपूर्तिको व्यवस्था गर्ने निर्णय गरेसँगै मास्क थप उत्पादन हुने भएको छ।

चेम्बर अफ कमर्शले सोमबारबाट (भोलि) दैनिक ७० हजार मास्क उत्पादन गर्ने भएकाे हो।

Advertisement

कोरोना भाइरस (कोभिड १९) को संक्रमण विश्वभर फैलिरहेको बेला करिब १५ दिन अघि मुख्यसचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा बसेको केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिको बैठकले बजारमा उपभोग्य वस्तु सहज रूपमा आपूर्तिको व्यवस्था गर्ने सहित तीन बुँदे निर्णय गरेको थियो।

उक्त निर्णय अनुसार मास्क नियमित रूपमा आपूर्ति गर्नका लागि आयात तथा उत्पादन वृद्धि गर्ने जिम्मेवारी नेपाल चेम्बरअफ कमर्शले लिएको थियो।

Advertisement

त्यसका लागि उद्योगी दिपक मल्होत्राको नेतृत्वमा एक उपसमिति गठन गरिएको छ। उपसमितिले हाल माक्स आयात नगरी उत्पादनमै जोड दिन लागेको छ।

मास्क उत्पादनका लागि आइतबार (आज) बिहानै छिमेकी मुलुक भारतबाट मेसिन तथा आवश्यक कच्चा पदार्थ आएको दिपक मल्होत्राले जानकारी दिए।

उनकाअनुसार अहिले १ सेट मेसिन ल्याइएको छ। उक्त मेसिनको उत्पादन क्षमता हप्तामा ५ लाख पिस रहेको छ। जसबाट दैनिक ७० हजार मास्क उत्पादन हुन्छ। उद्योगको लागत भने प्रतिपिस ४ देखि ५ रूपैयाँ पर्ने देखिएको छ।

मङ्गलबारबाट भने उपभोक्ताले किन्न पाइने मल्होत्राले जानकारी दिए।

मल्होत्राका अनुसार नेपालका ३१ वटा सामसुङका मोबाइल पसलबाट उपभोक्ताले किन्न पाउने छन्। १ जना व्यक्तिले एक पटकमा २० वटा मास्क किन्न पाउँने छन्। त्यो व्यक्तिले १ हप्तासम्म पुन किन्न पाउँने छैन। मास्कको पैसा भने सेलबाट भुक्तानी गर्नुपर्ने छ।

‘अनावश्यक रूपमा एउटै मानिसले धेरै मास्क नकिनोस् भने हामीले परिमाणमा कोटा लगाइदिएका छौँ,’ मल्होत्राले भने, भुक्तानी सेलपेबाट हुन्छ, कुनकुन पसलमा पाइन्छ भन्ने कुरा सेल पे मै राखिदिन्छौं।

उपभोक्तालाई भने मास्क प्रतिपिस ५ रूपैयाँ पर्ने उनले जानकारी दिए।

उनका अनुसार अन्य स्वास्थ्य संस्थाबाट पनि मास्कको माग आएको छ। उनीहरूले भने निशुल्क मास्क वितरण गर्नेछन्। सामाजिक संस्थाका लागि भने लागत मूल्यमा नै मास्क दिने मल्होत्राले बताए।

यसबाहेक पनि चेम्बर अफ कमर्शले करिब १० दिन अघिदेखि निम्बसलाई दैनिक १५ हजार पिस मास्क उत्पादन गर्न लगाएको छ। उक्त मास्क भने औषधि व्यवसायीलाई लागत मूल्यमै बेच्ने गरेको उनले जानकारी दिए।

तपाईको प्रतिक्रिया