प्रिय पर्यटन व्यवसायी ! भारतीय पाहुनालाई क्वारेन्टाइनमा राख्नु

समाधान संवाददाता २०७६ चैत १० गते ७:५९

रामकृष्ण ज्ञवाली

कोरोना, यो भाइरस अहिले विश्वका सबै मानिसलाई चिन्ता र त्रास बनेको छ । न औषधी पत्ता लागेको छ, न त फैलिनबाट रोकिने कुनै छाटकाट छ । विश्वका महाशक्ति सहितका सबै देश मिलेर यसको आक्रमणका विरुद्ध लडिरहदा पनि ‘दिन दुई गुण रात चौ गुणा’ भने जसरी फैलिएको छ ।

अहिले भारतमा जसरी फैलिदै छ, त्यसका आधारमा नेपाल एकदमै उच्च जोखिमा छ । विश्व स्वास्थ्य संगठनले घोषणा गरिसकेको छ, ‘यसको पहिलो इपिसेन्टर चीन थियो, दोश्रो इटली बनेको छ भने तेश्रो भारत बन्न सक्छ ।’ यो भनेको भारतसंग पुरै खुल्ला सिमाना भएको नेपालका लागि ठुलो चिन्ताको विषय हो । फेरि हाम्रो सरकार पूर्वाधारका हिसाबले कमजोर छ । राज्य संयन्त्र कमजोर छन । अमेरिका जस्तो महाशक्तिले त बेलैमा होस नपुर्याउदा कोरोना माथिको नियन्त्रण गुमाईसकेको छ भने हामी बबुरा नेपालीले ।

Advertisement

नेपाल भारतको खुल्ला सिमानाबाट निर्वाध आवत जावतका कारण कतिपय भारतीय सुरक्षित ठाउ खोज्दै नेपाल आईरहेका छन् । भारत बस्ने नेपाली, आफ्नै देश फर्कनु त स्वभाविक मान्न सकिएला तर भारतीय नागरिकहरु आफ्नो देशमा फैलिएको कोरना आतंकबाट बच्न नेपाल प्रवेश गरेका छन् । शनिबार र आइतबार पनि केही भारतीय गाडीहरु पोखरा आएका छन् । उनीहरु पोखरा र आसपासका घर होटलमा बसेको खबर छ । हाम्रो राज्यको संयन्त्रसंग कतिको संख्यामा भारतीयहरु नेपाल पसेका छन् भन्ने कुनै तथ्याङ्क छैन । जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी दानबहादुर कार्कीका अनुसार रुट परमिट लिएर आएका भारतीय गाडी प्रवेशमा रोक लगाउने अधिकार प्रहरीसंग छैन् ।
संक्रमित मुलुकबाट हवाईजहाज मार्फत आउने जो कोहीलाई पनि १४ दिन क्वारेन्टाइनमा राख्ने निर्णय नेपाल सरकारले गरेको छ र क्वारेन्टाइनमा पठाएको पनि छ । तर त्यही संक्रमित मुलुक भारतबाट गाडीमा आउनेहरुका लागि सिमानामा तापक्रम मापन गर्ने बाहेक अन्य केही उपाय अपनाइएको छैन । लण्डनबाट फर्किएकी भारतीय गायिक कनिका कपुरका कारण सिंगो लखनउ लक डाउन गर्ने अवस्था भएको छ । ज्वरो आएको छैन क्यारे भन्दै उनी सेल्फ क्वारेन्टाइनमा नबस्दा र विभिन्न कार्यक्रममा सहभागी हुँदा भारतीय राष्ट्रपति, पूर्व मुख्यमन्त्री, बहालवाला मन्त्री, सांसद सहित लब्धप्रतिष्ठितहरु क्वारेन्टाइनमा बसेका छन् । लण्डनबाट फर्किएको १० दिनपछि मात्र उनमा कोरोना भाइरस भएको पुष्टी भएको थियो । यसले के देखाउछ भने भाइरस फैलिएको ठाउको ट्राभल हिस्ट्रीलाई नदरन्दाज गर्नु कति घातक छ ? जुन अहिले हाम्रोमा भैरहेको छ र गरिरहेका छौं ।

भारतबाट आएका हाम्रा पाहुना हुन । हाम्रै होटल वा घरमा बसेका छन् । हो उनीहरु यहाँ भाइरस फैलाउन आएका होइनन्, भाइरसबाट जोगिन अर्थात आफ्नो ज्यान जोगाउन ‘चलिए, नेपाल सेफ है’ भन्दै आएका हुन । उनीहरुको अपमान गर्नु कत्ति पनि उचित हुँदैन तर उनीहरुलाई निर्बाध घुम्न दिइयो र कथम कथाचित कोही संक्रमित रहेछ भने उसले हाम्रो नैया डुबाउने हो । त्यसैले पछिल्ला दुई तिन दिन यता जो पनि भारत हुँदै नेपाल आएका छन, उनीहरुलाई क्वारेन्टाइन मै राख्नु पर्छ । हाललाई स्थलमार्गबाट आएकाहरुलाई क्वारेन्टाइनमा पठाउने नीति सरकारले लिएको छैन, स्थलमार्गलाई वेवास्ता गरेको छ । यस्तो परिस्थितिमा हामी नागरिक आफै सचेत बन्नु पर्ने अवस्था आएको छ । पर्यटन व्यवसायीहरुलाई अनुरोध छ, तपाईको होटलमा भारत हुँदै आएका कोही पाहुना छन् भने कृपया १४ दिनसम्म आफ्नै होटलमा क्वारेन्टाइनमा राखिदिनु होला । उनीहरु हाल स्वस्थ हुन सक्छन । र पनि बाहिर निस्कन नदिनु होला । भारतीयहरु जिद्धी, अटेरी गर्ने खालका पनि हुन्छन । जबरजस्ती निस्कन खोजे ‘प्रहरीलाई खबर गर्छु’ भन्दै धम्क्याएर भए पनि क्वारेन्टाइनमै राख्नु होला ।

Advertisement

इटलीमा राज्यले मात्र होइन, जनताले पनि गल्ती गरेका हुन । सरकारले सेल्फ क्वारेन्टाइनमा बस्न भनेका १० हजार मानिस घरबाट बाहिर ननिस्केको भए अहिले यो हालत नहुन सक्थ्यो । त्यहाँ सरकारले भनेको जनताले मानेनन् । यहाँ सरकारले भन्न जान्दैन, विषय वस्तुको गाम्भिर्यतालाई बुझ्नै सक्दैन । त्यसैले जनताले विवेक पुर्याउन जरुरी छ ।

पोखराको अवस्था कस्तो छ भने अस्पतालमा टेप्प्रेचर डेक्स्क बनाइएको छ, तर तापक्रम नाप्ने जनशक्ति छैन । डेक्स रित्ता छन् । प्रशासनिक अधिकार भएका डाक्टरहरु ल्याबलाई स्तरोन्नती गर्न र आवश्यक सामाग्रीको जो हो गर्ने तर्फ लाग्नुको साटो तालिम दिन ब्यस्त छन् । सरकारले गरेको तयारी कति लाजमर्दो छ भने अस्पतालमा कार्यरत डाक्टर र ल्याबमा काम गर्ने टेक्निसियनहरु मास्क समेत नपाएर तड्पिएका छन् । ज्वरो आएको विरामी आए डाक्टर र ल्याब टेक्निसियनहरु भागाभाग गर्ने अवस्था छ । कोरोना पोखरा प्रवेश नगर्दै त उनीहरुलाई जनताले मास्क उपहार पठाउनु पर्ने अवस्था छ भने आइसकेपछिको अवस्था के होला ? त्यसैले अहिले सरकारी निकायको मुख हेरेर बस्ने समय हुँदै होइन । आलोचना र प्रशंसामा समय खर्चने बेला पनि छैन । कोरोना प्रभावित जुनसुकै ठाउबाट आएका जो सुकैलाई क्वारेन्टाइनमा बस्न भन्नै पर्छ । उनीहरु क्वारेन्टाइनमा बस्नै पर्छ । गण्डकी प्रदेश सरकारलाई विशेष अनुरोध छ, प्रदेश प्रवेशका नाकामा कडाई गरौं । सकिन्छ सिमाना पूर्ण रुपमा बन्द गरौं सकिदैन, भारतबाट आएकाहरुलाई प्रवेशमा प्रतिबन्ध लगाऔं, नत्र भोली पछुताउनुको बिकल्प रहनेछैन ।

तपाईको प्रतिक्रिया