पोखराबाट १० जनाको परिक्षण, ८ मा नेगेटिभ २ को नतिजा आउन बाँकी

समाधान संवाददाता २०७६ चैत १० गते ८:१०

समाधान टिम

२२ महिनाको बच्चालाई ३ दिनदेखि रुघाखोकी र ज्वरोले च्यापेपछि आइतबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पु¥याइयो । ती बच्चा अभिभावकसहित ११ दिनअघि युकेबाट पोखरा आएका थिए ।

संसारभर फैलिइरहेको कोरोनाको सन्त्रासबीच परिवारले बच्चालाई अस्पताल पु¥याउँदा केही बेर दौडधूप चल्यो । अस्पताल प्रांगणमा फिबर क्लिनिक खोलिएको छ । क्लिनिकमा ज्वरो नाप्ने टर्च गन नै थिएन । क्लिनिकमा बिरामीको ज्वरो नाप्ने प्रवन्धसमेत नभएपछि जुनियर चिकित्सकले बालरोग विशेषज्ञ डा. रामचन्द्र बास्तोलालाई खबर गरे ।

Advertisement

कोरोना बंकास्पद बच्चा उपचारका लागि आएपछि बिरामी जाँच गरिरहेका डा. बास्तोलाले बहिरंग विभाग (ओपिडी)मै डाके । डा. बास्तोलाले टाढैबाट परिवारसँग सोधखोज गरेपछि बच्चालाई अस्पतालको आइसोलेसन वार्डमा लगेर राखे ।

फिबर क्लिनिकमै जाँच हुनुपर्ने बिरामीलाई ओपिडी हुँदै आइसोलेसन वार्ड पु¥याए पनि डा. बास्तोलाले जाँच गर्न सकेनन् । कारण थियो, अस्पतालमा चिकित्सकले लगाउने अत्यावश्यक व्यक्तिगत सुरक्षा उपकरण नहुनु । ‘हामी डाक्टरले पाएको मास्कमात्र हो । पर्सनल प्रोटेक्टिभ इक्विभमेन्ट (पिपिई) थिएन,’ डा. बास्तोलाले भने, ‘इक्युपमेन्ट नहुँदा डाक्टरलाई नै जोखिम हुन्छ । डर त हामीलाई पनि लाग्छ । पछि बल्ल फोन गरेर किट मगाइयो ।’

Advertisement

२ सेट इक्युपमेन्ट आएपछि प्रयोगशाला प्रमुख लक्ष्मण बास्तोला आफैंले बच्चाको नमुना रगत लिए । रगत परीक्षणका लागि आइतबारै काठमाडौं पठाउने भनिए पनि सोमबार बिहानमात्रै जहाजबाट पठाइने भएको छ । रगत लिएपछि बच्चालाई औषधी दिएर होम क्वारेन्टाइनमा बस्न लगाइएको छ ।

सरकारले पूर्व तयारी गरिरहेको बताए पनि अस्पतालमा चिकित्सकले लगाउने अत्यावश्यक व्यक्तिगत सुरक्षा उपकरण नहुँदा शंकास्पद बिरामी आएपछि भागदौड नै चलेको छ । गण्डकी प्रदेश सरकारले आइसोलेसन वार्ड तयार पारे पनि अस्पतालमा उपकरण नपुग्दा डाक्टर नै सन्त्रासमा परेका हुन् । ‘प्रतिष्ठानले पनि इक्युपमेन्ट खरिद गर्ने भनेको थियो । पहिले नै अस्पतालमा इक्युपमेन्ट नआउने र भएका पनि प्रदेश स्वास्थ्य निर्देशनालयबाट ढिला गरी उपकरण आउँदा डाक्टरमै डर सिर्जना भयो,’ डा. बास्तोलाले भने, ‘केही दिनअघि शंकास्पद बिरामीले अस्पतालमा चक्कर लगाउनुपरेको दुखबारे पढेको थिएँ । त्यसैले पनि बिरामीले दुख पाउनु हुँदैन भनेर सुरुमै आइसोलेसनमा राखेर अरु जोहो गर्न गर्न लाग्यौं ।’

प्रभावकारी तयारी नभए पनि प्रतिष्ठानका निर्देशक डा अर्जुन आचार्य कमजोरी स्वीकार्न तयार छैनन् । ‘हामीलाई तयारीका लागि चाहिने आवश्यक उपकरण थर्मोमिटर लगायत प्रदेश स्वास्थ्य निर्देशनालयसँग माग गरेका छौं,’ उनले भने, ‘हामीसँग पर्याप्त नभएको हो र उताबाट माग गर्दा दिन सक्नुभएको छैन ।’ कोरोनाका बिरामीलाई उपचार गर्नुपर्ने पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको मात्र जिम्मेवार नरहेको उनी बताउँछन् । ‘प्रदेश सरकारले नै नयाँ हस्पिटल बनाउँदै छ भन्ने सुनेको छु । अब सबै त्यहाँ जाने हो । प्रत्येक हस्पिटलमा आइसोलेसन बनाउनु भनेको घातक हो । ब्याकअपका लागि मात्र यहाँ बनाइएको हो,’ उनले भने, ‘यति धेरै आवतजावत हुन्छ । समस्या आउन सक्छ । उपचारका लागि डेडिकेटेड अस्पतालमा लैजानु पर्छ ।’

२ सय सेट पिपिई रहेको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्मा बताउँछन् । चिकित्सकले नै प्रयोग गर्ने उपकरण नहुँदा जोखिम बढेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले बताए । ‘कहाँबाट आउने हो, प्रतिष्ठानले पनि उपकरण ल्याउने कोसिस गरिरहेका छौं । डाक्टर नै संक्रमित भए भने अप्ठेरो पर्छ उपचारमा,’ डा. आचार्यले भने, ‘राज्यले पनि सोचिरहेको होला । हामीले पनि स्वास्थ्य निर्देशनालय, प्रदेशको सामाजिक विकास मन्त्रालयमा पत्राचार पनि गरेका छौं ।’

पोखराबाट अहिलेसम्म १० जना कोरोनाका शंकास्पद व्यक्तिबाट रगत नमुना संकलन गरेर परीक्षणका लागि पठाएको छ । तीमध्ये ८ जनामा नेगेटिभ अर्थात कोरोनाको संक्रमण देखिएन । २ जनाको नतिजा आउन बाँकी छ ।

तपाईको प्रतिक्रिया