मंगलबारदेखि गण्डकी प्रदेशका नाका बन्द, अत्यावश्यक बाहेक माल बाहक साधनले मात्र प्रवेश पाउने

समाधान सम्वाददाता
गण्डकी प्रदेश सरकारले आफ्नो प्रदेशमा यात्रु बाहक सवारी साधन प्रवेशमा रोक लगाएको छ । मंगलबार देखि मालबाहक सवारी बाहेक अन्य सवारी साधनले गण्डकी प्रदेश भित्र प्रवेश पाउने छैनन् । तर अत्यावश्यक भएको प्रमाणित गरेमा भने प्रवेश गर्न दिइनेछ ।
कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण र व्यवस्थापन गर्न गठित उच्चस्तरीय निर्देशक समितिको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो। अब देखि गण्डकी प्रदेशका नाकामा सुरक्षा व्यवस्था कडा गरिनेछ ।
गण्डकी प्रदेश आउने स्थलगत नाकाहरु नवलपुरको त्रिवेणी, तनहुँको मुग्लिन, स्याङ्जाको राम्दी र बाग्लुङको बुर्तिबाङ मुख्य हुन । यी नाका मंगलबार विहानबाट बन्द गरिनेछ ।
सोमबार सम्पन्न बैठकको निर्णय सुनाउदै प्रदेश सरकारका पा्रवक्ता रामशरण बस्नेतले कोरानाका भाइरस प्रदेशमा प्रवेश गर्न नदिने प्रयास स्वरुप यो कदम चालिएको बताए । बैठकले प्रदेशभित्र रहेका अत्यावश्यक बाहेकका पसल एवं व्यवसाय समेत बन्द गर्न आह्वान गरेको छ। तरकारी तथा फलफूल, खाद्यान्न, दुग्ध, ग्यास, पेट्रोलियम पदार्थ लगायत अत्यावश्यक सेवाका पसल भने नियमित संचालन हुनेछन्।
बैठकमा प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नाकाहरुमा कडाइका साथ अनुगमन गर्न र नेपाल सरकार तथा प्रदेश सरकारका निर्णयहरु कडाइका साथ लागू गर्न आग्रह गरेका थिए।
तपाईको प्रतिक्रिया