लकडाउनका बेला पाेखरामा झिसमिसेमै बजार अनुगमन, तरकारी र फलफूल पर्याप्त, थोकमा मूल्य पुरानै, खुद्रा बिक्रेताले ३ गुनासम्म बढाए

समाधान संवाददाता २०७६ चैत १२ गते १५:२५

भरत कोइराला
पोखरा

लकडाउनका बेला दैनिक उपभोग्य सामानको अवस्था र बजार भाउ बुझ्न गण्डकी प्रदेशका मन्त्रीसहितको टोलीले बुधबार अनुगमन गरेको छ । पर्यटन, उद्योग, वन तथा वातारण मन्त्री विकास लम्सालसहित कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालसहितको टोलीले पृथ्वीचोकस्थित कृषि उपज बजार र दूध बिक्री केन्द्रमा अनुगमन गरेको हो ।

Advertisement

मन्त्री लम्सालले उपभोग्य सामग्री ओसारपसारमा कुनै बन्देज नलगाइएको भन्दै मूल्य वृद्धि नगरी बजारमा उपलब्ध गराउन आग्रह गरेका थिए । उपभोक्तालाई सही मूल्यमा सामान उपलब्ध गराएर संकटका बेला सरकार र नागरिकलाई सहयोग गर्न उनले व्यवसायीसँग आग्रह गरे ।

कास्कीका प्रजिअ ढकालका अनुसान कृषि उपज बजारमा तरकारी र फलफूलको स्टक र थोक मूल्यका बारेमा जानकारी लिइएको बताए । थोक बजारमा तरकारी र फलफूल पर्याप्त रहेको थोक मूल्य वृद्धि नभएको पाइएको उनले जानकारी गराए । बिहान ४ देखि ६ बजेसम्म थोक बजार खुल्ला रहे पनि सामान ल्याउन र बाहिर पठाउन निकै झन्झट रहेको व्यवसायीले गुनासो गरेका थिए ।

Advertisement

बाहिरबाट सामान ल्याउने क्रममा नाका नाकामा प्रहरीले दुख दिने गरेको, समय कम भएकाले खुद्रा बिक्रेतालाई बिक्री गर्न समय नपुगेको गुनासो व्यवसायीको थियो । बिहान १ घन्टा थपेर ७ बजेसम्म खोल्ने वातावरण मिलाउन व्यवसायीले आग्रह गरेका छन् ।

सामान पर्याप्त भए पनि खुद्रा बिक्री हुँदा फलफूल र तरकारी बिग्रेर जाने हो कि भन्ने चिन्तामा व्यवसायी रहेको अनुगमनमा सहभागी उपभोक्ता मञ्च गण्डकी अध्यक्ष कपिलनाथ कोइरालाले जानकारी दिए । उनले भने, ‘थोक बजारमा मूल्यको समस्या छैन, खुद्रा बिक्रेताले ३ गुनासम्म बढाएको गुनासो आएको छ, बेलुका बजार खुलेपछि अनुगमन गर्छौ ।

बाहिरी मुलुकबाट ल्याएक केरा बजार पठाउन नपाउँदा थोकबजारमै कुहिन लागेको छ । टोलीले दूध बिक्रेताहरुसँग पनि मूल्यको बारेमा जानकारी लिएको छ । उद्योगहरुले पर्याप्त छ भने पनि बजारमा ग्यासको निकै अभाव देखिएकाले समय मिलाएर ग्यास पनि अनुगमन गरिने अध्यक्ष कोइरालाले जानकारी दिए ।

अनुगमनमा मन्त्री लम्साल, प्रजिअ ढकाल, सहायक प्रजिअ गुरुदत्त ढकाल, कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्की, उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय निर्देशक गोकुल शर्मा पौडेल, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पोखराका प्रमुख प्रशान्त पोखरेल सहभागी थिए ।

तपाईको प्रतिक्रिया