कास्कीको रुपा गाउँ पालिकामा २९ जना क्वारेन्टाइनमा

समाधान संवाददाता २०७६ चैत १२ गते १५:५९

समाधान संवाददाता

कास्कीको रुपा गाउँ पालिकामा विदेशबाट आएका २९ जनालाई क्वारेन्टाइनमा राखिएको छ । गाउँ पालिकाको कार्यालयले आफ्नै लगानीमा तयार पारेको क्वारेन्टाइन उनीहरुलाई राखिएको हो । स्थानीय विद्यालय र होटललाई क्वारेन्टाईन स्थल बनाएको छ ।

रुपा गाउँ पालिकाका अध्यक्ष नवराज ओझाका अनुसार पछिल्लो समयमा विदेशबाट आएका जो सुकैलाई क्वारेन्टाईनमा राखिएको हो । आफ्नो गाउँमा कोरोना भाइरसको महामारी फैलन नदिन कडाईका साथ क्वारेन्टाइनमा राख्ने ब्यवस्था गरेको अध्यक्ष ओझाले बताए ।

Advertisement

अध्यक्ष ओझाले क्वारेन्टाइनमा राखिएका २९ जना मध्ये ६ जना महिला छन । उनीहरु भारत, कतार, दुवही, साउदी अरब, ओमन, मलेशिया लगायतका देशबाट हालसालै नेपाल फर्किएका हुन ।

गाउँ पालिकाले विश्वशान्ति माविमा २४ बेडको क्वारेन्टाईन केन्द्र बनाएको छ भने रुपाकोटको धु्रव तारा गेष्टलाई पनि क्वारेन्टाइन स्थलका रुपमा विकसित गरेको छ । त्यस्तै हंसपुरमा थप २० बेड तयार गर्दैछ ।

Advertisement

“अहिलेलाई ६० जनासम्म क्वारेन्टाइनमा राख्न सक्छौं ।’ अध्यक्ष नवराज ओझाले समाधान अनलाईनसंग भने ।

गाउँ पालिकाले क्वारेन्टाइनमा राख्न थालेको थाहा पाएपछि विदेशबाट आएकाहरु आफै सम्पर्कमा आईरहेको पनि उनले बताए । ‘सम्पर्कमा आउना साथ उनीहरुलाई लिन एम्बुलेन्स वा गाउ पालिकाको गाडी पठाउछौं ।’ ओझाले भने–‘स्वास्थ्यकर्मी पनि २४ सै घण्टा खटिरहनु भएको छ ।’

सुखद खबर भन्दै अध्यक्ष ओझाले क्वारेन्टाइनमा राखिएका मध्ये कसैलाई पनि अहिलेसम्म कोरोना भाइरसको लक्षण नदेखिएको बताए ।

अन्नपूर्णमा ४ जना हाेम क्वारेन्टाइनमा
कास्की कै अन्नपूर्ण गाउँ पालिका विदेशबाट आएका ४ जना होम क्वारेन्टाइनमा बसेका छन् । गाउँ पालिकाका अध्यक्ष युवराज कुँवरका अनुसार क्वारेन्टाइनमा बसेका चारै जनाका कोरोनाको कुनै लक्षण देखिएको छैन । ‘तैपनी १४ दिनसम्म कसैको सम्पर्कमा नआईकन एक्लै बस्न सुझाव दिएका छौं, उहाँहरुले त्यसै गर्नु भएको छ ।’ कुँवरले भने ।

अध्यक्ष कुँवरले विदेशबाट आउनेहरुलाई विशेष निगरानी गरिएको बताउदै अब आउने सबैलाई क्वारेन्टाइन मै राख्ने समेत जानकारी दिए ।

माछापुच्छ्रेले २० बेड बनाउदै
कास्की कै माछापुच्छ्रे गाउँ पालिकाले २० जनासम्मलाई क्वारेन्टाइनमा राख्ने गरी व्यवस्था गर्न लागेको छ । गाउ पालिकाका अध्यक्ष कर्णबहादुर गुरुङका अनु्सार विहीबारसम्म २० बेड तयार हुनेछन् । माछापुच्छ«े गाउँ पालिकामा १० दिन अघि विदेशबाट आएका ८ जना भए पनि उनीहरु मध्ये कोही पनि विरामी परेका छैनन् । ती सबैलाई अरु ४ जना मानिसको सम्पर्कमा नआई सुरक्षित भएर बस्न भनिएको अध्यक्ष गुरुङले बताए ।

तपाईको प्रतिक्रिया