पोखरामा कोरोनाको उपचार–पहिला सरकारी अस्पताल, बल्ल बाहिर

समाधान संवाददाता २०७६ चैत १४ गते १३:०५

रामकृष्ण ज्ञवाली

विश्व यति बेला कोरोना भाइरसको महामारीबाट पीडित छ । संसारका मै हुँ भन्ने देशहरु पनि कोरोनासँग हार खान थालिसेका छन् । आफूलाई महाशक्ति भन्ने अमेरिका त यसका अगाडि निरीह बनेको छ ।

युरोपेली देश स्पेनको स्वास्थ्य प्रणाली असफल बन्ने अवस्थामा पुगेको छ । त्यहाँ सबै अस्पतालमा क्षमता भन्दा तीन गुणा बढी बिरामी भर्ना भएका छन् । अमेरिकाका अस्पतालमा स्वास्थ्यकर्मीहरु एउटा मास्कका लागि लाइन बस्नुपर्ने अवस्था सिर्जना भएको छ । इटलीमा २३ भन्दा बढी डाक्टरकै मृत्यु भएको छ । बेलायतका राजकुमार, क्यानडाका प्रधानमन्त्री जस्ता भिभिआइपीहरु यो रोगको संक्रमणमा परेका छन् । मतलब यो साँच्चीकै आधुनिक विश्वलाई फेल गराउन सक्ने गरी संसारभर फैलिरहेको छ ।

Advertisement

धन्न अहिलेसम्म हामी भाग्यमानी बनेका छौं । छिमेकी मुलुक चीनबाट सुरु भएर पछिल्लो समय अर्को छिमेकी मुलुक भारतमा फैलिरहँदा नेपालमा कोरोनाबाट अहिलेसम्म जम्मा ३ जना संक्रमित भएका छन, तीमध्ये पनि एक जना सञ्चो भएर घर फर्केको महिना पुगिसकेको छ भने अस्पतालमा उपचाररत २ जना पनि खतरा मुक्त छन् ।

तर पनि यो भाइरस हाम्रो देशमा फैलिन सुरु भयो भने विकराल अवस्था आउन सक्छ । विकसित र सम्पन्नशाली देशको मेडिकल सिस्टम त फेल हुने अवस्थामा पुगेको स्थितिमा हाम्रो प्रणालीले थेग्न सक्ने कुरै छैन । त्यसैले सरकारले बेलैमा बुद्धि पुर्‍याएर पुरै देश लकडाउन गर्ने जुन निर्णय लिएको छ, यो वास्तवमै प्रशंसा योग्य छ । तर पनि हामी भोलि परिआउने परिस्थितिका लागि तयार रहनै पर्छ र तयारी गर्नै पर्छ ।

Advertisement

भाइरस नियन्त्रणको मामलामा गण्डकी प्रदेश सरकारले केन्द्रले भन्दा पनि पहिले प्रदेश बाहिरबाट हुने आवत जावतमा प्रतिबन्ध लगाएर संघीय सरकारलाई समेत सन्देश दिन सफल भएको हो । गण्डकी प्रदेश सरकारले प्रतिबन्ध लगाएपछि केन्द्रले पुरै देश लकडाउन गर्ने निर्णय गरेको थियो । यसैकारण प्रदेशमा अहिलेसम्म भाइरसले प्रवेश पाएको छैन । तर छिमेकी मुलुक भारतमा जसरी कोरोनाका बिरामी बढेका छन् त्यसलाई हेर्ने हो भने यो भाइरस जुनसुकै बेलामा पनि यहाँ आउन सक्छ । त्यसका लागि हामी तयार हुनैपर्छ र सकेसम्म प्रदेशका जनतालाई बचाउने तयारी गर्नै पर्छ ।

यसका लागि सबैभन्दा ठूलो कुरा अस्पतालहरु तयारी अवस्थामा राख्नुपर्नेछ । अहिलेसम्म प्रदेश सरकारले बिरामी राख्ने अस्पतालको खोजी गर्दै हिँडेको छ । केही समयअघि लेखनाथको लायन्स सामुदायिक अस्पताललाई कोरोना पीडितको उपचार गर्ने अस्पतालका रुपमा विकास गर्ने निर्णय प्रदेश सरकारले गरेको थियो । जुन निर्णय अपरिपक्क र खेलाँची निर्णय हो । कोरोनाले फोक्सोमै आक्रमण गर्ने भएकाले बिरामीलाई जुनसुकै बेला पनि आइसियुमा राख्नुपर्ने हुन्छ । लेखनाथको लायन्स सामुदायिक अस्पतालमा एउटा पनि आइसियु छैन ।

यहाँसम्म पनि सो अस्पताल भवन समेत अस्पतालमैत्री छैन । न सरसफाइमा राम्रो छ, न त शौचालय पर्याप्त छ । सार्वजनिक स्थलमा जस्तो एउटा शौचालय बिरामी र स्वास्थ्यकर्मी सबैले प्रयोग गर्नुपर्ने अवस्था छ । त्योभन्दा पनि ठूलो कुरो त्यहाँ जनशक्ति नै छैन । बिरामी लगियो भने उपचार कसले गर्ने भन्ने नै छैन । न पर्याप्त डाक्टर छन्, न त नर्स नै । यस्तो झारा टार्ने व्यवस्थाले भोलि ठूलो संकट आउन सक्छ ।

फेरि त्यसको विकल्पमा अन्य अस्पतालको खोजी गरिँदैछ । कहिले मितेरी मातृशिशु अस्पतालको कुरा गरिन्छ त कहिले निर्माणाधीन सैनिक अस्पतालको । तर गण्डकी प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कुरै गरिँदैन । यसो हुँदा अन्य सुविधा सम्पन्न अस्पतालहरु पनि तर्किरहेका छन् । त्यसैले गण्डकी प्रदेश सरकारले आँट्नु पर्छ र घोषणा गर्नुपर्छ–गण्डकीमा कोरोना भाइरसको उपचार गर्ने पहिलो अस्पताल सरकारी अस्पताल हुनेछ र त्यो पनि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान नै ।

यो निर्णय धेरै मानेमा प्रभावकारी हुनेछ । एक त सरकारी हो, पहिलो उपयोग सरकारी अस्पतालकै हुनुपर्छ । आवश्यक परे त्यो अस्पतालका अन्य सबै बिरामीलाई बाहिरी अस्पतालमा पठाएर पनि सबै बेडलाई प्रयोग गर्न सकिन्छ । त्यहाँ कार्यरत चिकित्सक, नर्स, ल्याब टेक्निसियन सहितका कर्मचारी सरकारी कर्मचारी हुन् । जनताको सेवा गर्ने पहिलो दायित्य उनीहरुकै हो । कोरोना भाइरस संक्रमित बिरामी त्यो एउटा भाइरसको मात्र बिरामी हुँदैनन् । उनीहरु पहिलेदेखि अन्य दीर्घरोगी पनि हुन सक्छन् । सुत्केरी हुने बेलाकी महिला पनि भाइरस संक्रमित हुन सक्छिन् । यस्तो अवस्थामा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सबै खालका विशेषज्ञ चिकित्सक छन् । बिरामीको उपचारमा ती सबै विशेषज्ञ प्रयोग गर्न सकिन्छ र मानिसको ज्यान जोगाउन सकिन्छ । सबैभन्दा महत्वपूर्ण कुरा यो अस्पतालमा व्यवस्थित आइसियु कक्ष छ । आवश्यक पर्‍यो भने आइसियु कक्ष तत्काल थप्न पनि सकिन्छ । पर्याप्त मात्रामा नर्सहरु छन् । त्यहाँ कार्यरत नर्सले नपुगे नजिकै रहेको नर्सिङ कलेजका विद्यार्थी परिचालन गर्न सकिन्छ ।

अर्को महत्वपूर्ण कुरा आधुनिक ल्याब यहीं छ । भोलि महामारीले ठूलो रुप लियो भने परिक्षणका लागि नमुना काठमाण्डौं पठाइरहनु सम्भव हुँदैन । अहिले एचआइभी परअंक्षण गर्ने ल्याबलाई आवश्यक केमिकल र किटको व्यवस्था गरियो भने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानकै ल्याबमा कोराना भाइरस परीक्षण गर्न सकिन्छ । अझै अर्को ख्याल गर्नुपर्ने कुरा नेपालको नियम कानुनले सरकारी सहयोग वा अनुदान बाहिरका निजी वा सामुदायिक अस्पताललाई दिन निकै कठिन छ । सरकारी अस्पताललाई उपलब्ध गराउन सजिलो छ ।

यस मानेमा पोखराका लागि कोरोनाको उपचार गर्ने पहिलो निर्विकल्प विकल्प भनेकै पहिलाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अर्थात अहिलेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान नै हो । त्यसपछि बल्ल बाहिर व्यवस्था गर्नुपर्छ, दोश्रो प्राथमिकता मणिपाल शिक्षण अस्पताललाई दिनु पर्छ, तेश्रोमा गण्डकी मेडिकल कलेज । यी दुवै शिक्षण अस्पतालमा पर्याप्त जनशक्ति छ । यी तीन ठाउँले पनि थेग्न सकेन भने माात्र अन्य अस्पताल, नर्सिङ होम र स्वास्थ्य चौकी खोजी गर्नुपर्छ । जिल्ला जिल्लाको हकमा पनि सरकारी अस्पताललाई नै पहिलो प्राथमिकतामा राख्नु पर्छ ।

मेरी हजुर आमा भन्नु हुन्थ्यो– मनको हरि चिन, बाहिर खोज्दै नहिन ।

तपाईको प्रतिक्रिया