पोखरामा लकडाउन उल्लंघन गर्नेहरु रंगशालामा थुनिए

लकडाउन उल्लंघन गर्दै जथाभावी बाटोबाटोमा हिँडेको आरोपमा कास्की प्रहरीले दर्जनौं व्यक्तिलाई पोखराको रंगशालाभित्र थुनेको छ । विभिन्न बाटोमा भेटिएकाहरुलाई प्रहरीले रंगशालाको भलिबल कोर्टमा थुनेको हो ।
प्रत्येक व्यक्ति नछोइने गरी उनीहरुलाई चउरमा राखिएको छ । भलिबल कोर्टमा चारैतिरबाट बार छ । बार नाघेर जान नसक्ने गरी उनीहरुलाई थुनिएको हो । कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले अहिले उनीहरु सबैलाई लकडाउन गर्नुपर्नाको र बाहिर निस्कन नहुने कारण माइकबाट बताइरहेका छन् ।
केही घन्टाअघिदेखि थुनिएका झन्डे १ सय जना ती व्यक्तिहरुलाई सम्झाइबुझाइ गरी केहीबेरमा छाडिने भएको छ ।
भलिबल कोर्टमा मानिसहरु थुनिँदा कान्जीहाउसमा चौपाया थुनिएको जस्तो देखिएको थियो ।
कोरोना भाइरस नफैलियोस् भनेर सरकारले लकडाउन घोषणा गरेको छ । यस्तोबेला सबैलाई घरैमा बस्न सरकारको आग्रह छ । त्यही आग्रह अटेर गरेकालाई रंगशालामा थुनिएको हो ।
तपाईको प्रतिक्रिया