गण्डकी प्रदेशमा चरम लापरवाही, कोरोना संक्रमित बाग्लुङकी युवतीका परिवारअझै घरमै, जहाज र माइक्रोका यात्रु खोज्न वेवास्ता

समाधान संवाददाता २०७६ चैत १६ गते १३:२४

रामकृष्ण ज्ञवाली, समाधान

माथिको तस्विर बाग्लुङमा कोरोना भाइरस संक्रमण भएकी १९ बर्षीया युवतीको बोर्डिङ पासको हो । उनी यही बोर्डिङ पास लिएर गत चैत्र ४ गते कठमाण्डौंबाट यति एअर लाइनको १२.४५ को उडानबाट पोखरा आएकी हुन । उनको सिट नम्बर १२ डी हो भने संगैको १२ सि मा उनैकी हजुर आमाले यात्रा गरेकी थिइन । पारिवारिक श्रोतका अनुसार सोही जहाजमा उनका बाबा सहितका अन्य यात्रुले यात्रा गरेका थिए ।

पोखरा विमानस्थमा झरेपछि उनको परिवार माइक्रोबस चढेर बाग्लुङ गयो । गएको ३ दिन पछि ज्वरो आएको कारण उपचारार्थ धवलागिरी अञ्चल अस्पताल पनि पुगिन । तर अस्पतालले सामान्य भन्दै घर फर्काइदियो । शनिबार उनी कोरोना भाइरस संक्रमित भएको पुष्टी भयो ।

Advertisement

विदेशको ट्राभल हिस्ट्री भएको मानिसलाई पहिले देखि नै आइसोलेशनमा राख्नु पर्नेमा त्यसो गरिएन । त्यसैले शनिबारसम्म त लापरवाही गरियो गरियो । त्यसपछि पनि चरम लापरवाही गरिदैछ ।

चरम लापरवाहीको उदाहरण हो, ती कोरोना संक्रमित युवतीलाई रातको ११ बजे मात्र अस्पताल लगिनु । शनिबार दिउसो ४ बजे ती युवती कोरोना संक्रमित भएको पुष्टी भएको थियो । उनलाई तत्काल आइसोलेशनमा राख्नु पर्दथ्यो । तर कहाँ राख्ने भन्ने निर्णय गर्नमा ढिलाई गरिदा उनी राती ११ बजेसम्म आफ्नै घरमा बसिन । जिल्ला प्रहरी कार्यालय बाग्लुङका एसपी नवराज भट्टले राती १२ बजेतिर फेसबुकमा स्टाटस लेखेका थिए–६ घण्टाको लडाई पछि बल्ल नानीलाई धौलागिरी अञ्चल अस्पतालमा भर्ना गरियो ।

Advertisement

राती अबेरसम्म ती विरामीलाई कहाँ राख्ने भन्ने निर्णय हुनै सकेन । घरी पोखराबाट एम्बुलेन्स पठाइदैछ भनियो । घरी सिधै काठमाण्डौं लैजाने भनियो भने घरी पोखरामा उपचार गर्ने भनियो । चिकित्सकहरु सकेसम्म आफुले काम गर्ने अस्पतालमा विरामी भर्ना नगराउन प्रयासरत थिए । धवलागिरी अस्पतालमा विरामी भर्ना हुन नदिने प्रयास पनि भयो । श्रोतले बताए अनुसार कुनै पनि निकायबाट प्रष्ट निर्देशन नआएपछि बाग्लुङका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले अञ्चल अस्पतालका जिम्मेबार व्यक्तीहरुलाई अस्पताल भर्ना गर्न नमाने थुन्ने सम्मको धम्की दिएर ती युवतीलाई भर्ना गर्नु परेको थियो ।

उनी अस्पतालमा भर्ना भए पनि ती बिरामीसंगै यात्रा गरेका हजुर आमा र बाबा सहित परिवारका ६ जना अझै पनि आफ्नै घरमा छन् । ‘सबै जना आफ्नै घरमा हुनुहुन्छ, बाहिर ननिस्कन भनेका छौं ।’ बाग्लुङका एसपी भट्टले समाधानसंग भने । परिवारको एक जनालाई संक्रमणको पुष्टी भएपछि बाँकी सदस्य सबैलाई तित्कालै छुट्टा छुट्टै आइसोलेशनमा राख्नु पर्ने हो । कसैले वास्तै गर्दैन । संक्रमित बसेको घर पुरै स्यानिटाईज गर्नु पर्छ । त्यसो पनि गरिएको छैन ।

चैत्र ५ गतेपछि उनका परिवारको गाउका को को संग सम्पर्क भयो, ती सबैलाई क्वारेन्टाइनमा राख्नु पर्नेमा पनि कसैको ध्यान गएको छैन । ४ गते १२.४५ को यति एअरबाट को को पोखरा आएका हुन, उनीहरुलाई पनि क्वारेन्टाइनमा राख्नु पर्दथ्यो भने बाग्लुङसम्म जान प्रयोग भएको माइक्रो बसका यात्रु पनि पत्ता लगाएर क्वारेन्टाइन वा आइसोलेशनमा राख्ने तर्फ राज्यका कुनै निकायले ध्यान दिएका छैनन् ।

इटलीमा यस्तै लापरवाही गर्दा स्थिति भयाबह बनेको समाचारहरु सञ्चार माध्यममा आइरहेको भएपनि सरकारी निकायहरु बेखर जस्तै बनेका छन् ।

तपाईको प्रतिक्रिया