पश्चिमाञ्चल अस्पतालमा लापरवाही, कोरोना भाइरसको लक्षण भएका विरामीलाई पनि घरै पठाइयो

समाधान संवाददाता
गण्डकी प्रदेशको सबै भन्दा ठुलो अस्पताल पश्चिमााञ्चल क्षेत्रीय अस्पताल (हालको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान) मा यसअघि लापरवाहीका घटना त घटिरहेकै हुन्थे । तर अहिले राज्यका सबै निकायको ध्यान यही अस्पताल तर्फ गैरहेको बेलामा पनि लापरवाही गर्ने क्रम जारी छ । सोमबार यस्तै एउटा गम्भीर लापरवाही गरिएको खबर प्राप्त भएको छ ।
गण्डकी प्रदेश सरकारले यही अस्पताललाई कोरोनाको उपचार गर्ने पहिलो अस्पतालका रुपमा विकास गर्ने निर्णय गरेको छ । यही अस्पतालमा कोरोना संक्रमित आशंकाका विरामीको स्वाब संकलन गरिन्छ । सरकारले विदेशबाट आएका सबै मानिसलाई क्वारेन्टाइनमाा राख्न र कोरोनको सामान्य लक्षण देखिएका विरामीलाई स्वाबको रिपोर्ट नआएसम्म आइसोलेशनमा राखेर उपचार गर्न निर्देशन दिदैं आएको छ ।
सोमबार रुघाखोकी लागेका, ज्वरो आएको र छातीमा संक्रमण भएका एक विरामी उपचारार्थ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गए । उनको ज्वरो १०३ थियो भने छातीमा निमोनिया थियो । रुघा खोकी पनि लागेको थियो । सोमबारै उनको स्वाब संकलन गरेर पठाइएको छ । शसस्त्र प्रहरीमा तालिमरत उनको ट्राभल हिस्ट्री नभएको भन्दै घर पठाएको अस्पताल श्रोतले जानकारी दियो । उनलाई ब्यारेक भित्रै आइसोलेशनमा राख्छौं भन्दै लगिएको हो ।
ती विरामीको रगतमा डब्लुबिसी १८ हजार पुगेको थियो । सामान्यतया डब्लुबिसी १२ हजार भन्दा तलै हुनुपर्छ । चिकित्सकहरुका अनुसार यति उच्च डब्लुबिसी भएको विरामीलाई भर्ना गरेरै इन्जेक्शनबाट एन्टिबायोटिक चढाउनु पर्छ । तर स्वाब संकलन गरेर प्रहरीको ब्यारेक मै पठाइएको छ । ‘कम से कम परिक्षणको रिपोर्ट नआउन्जेल सरकारी आइसोलेशन मै राख्नु पर्दथ्यो ।’ ती चिकित्सकले समाधानन्युजसंग भने–ट्राभल हिस्ट्री नभएपनि ८० प्रतिशत लक्षण कोरोना भाइरस संक्रमितसंग मिल्दो जुल्दो छ ।’
सोमबार ती प्रहरी सहित चार जनाको स्वाब संकलन गरिएको छ । ती मध्ये तीन जना पोखराकै हुन । उनीहरु सबैलाई आ आफ्नै घर पठाइएको छ भने परिवार सहित भारतबाट आएका तनहुँका बासिन्दा अस्पताल परिसर मै अलपत्र थिए ।
ल्याबमा हाहाकार
सोमबार दिउसो समाधान कर्मी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुग्दा एक जना ल्याब टेक्निशियन बढो बेचैन थिए । उनी आफु भन्दा उपल्ला तहका कर्मचारीलाई सोध्दै थिए– अब कहाँ बस्ने ? कोठामा श्रीमती बच्चा बच्ची छन । यिनीहरुले मार्ने भए ।
उनी तिनै ल्याब टेक्निशियन हुन जसले तिनै प्रहरीको रगतको स्याम्पल लिएका थिए । स्याम्पल लिँदा उनी सामान्य पोशाकमा थिए । उनको रगतको रिपोर्ट हेरेपछि ल्याबमा कार्यरत कर्मचारी त्रसित बनेका छन् ।
यदी उहाँ कोरोना भाइरस संक्रमित रहेछ भने त मलाई मात्र होइन घर परिवारलाई पनि सर्छ भन्दै उनले छुट्टै बस्ने व्यवस्था गर्न माग गरिरहेका थिए । तर गण्डकी प्रदेशमा स्वास्थ्यकर्मीहरुका लागि क्वारेन्टाइन वा आइशोलेशन वार्ड बनाइएको छैन ।
तपाईको प्रतिक्रिया