कोरोना जाँच्ने प्रयोगशालाका प्राविधिक भन्छन् – आफै सुरक्षित छैनौं कसरी काम गर्ने ?

समाधान संवाददाता २०७६ चैत १८ गते २०:४२

अनुप पौडेल,समाधान

कोरोना भाइरसको परीक्षण सोमबारदेखि पोखराबाटै हुने भनिएको थियो । तर कोरोना परीक्षणका लागि आवश्यक पीसीआर मेशिन र विज्ञ टोलि सोमबार पोखरा आउन सकेन । मंगलबार बिहानै हेलिकप्टरमार्फत मेसिनसँगै विज्ञ टोलि पोखरा आइपुग्यो । मेशिन आयो तर फेरि त्यसलाई कहाँ जडान गर्ने भन्ने विवाद सुरु भयो ।

स्वास्थ्य निर्देशनालय गण्डकीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा मेशिन जडान गर्ने बताइरहँदा अस्पतालले भने अस्पतालको प्रयोगशालामा सो मेशिन जडान गर्न इन्कार गर्दै आएको थियो । अस्पतालले इन्कार गरेपछि त्यसको विकल्पको खोजी सुरु भयो ।

Advertisement

विकल्पको रुपमा प्रदेश मातहतको क्षेत्रीय क्षयरोग केन्द्रलाई राखियो । बिहान मेशिन आइपुगे पछि काठमाडौंबाट आएको विज्ञ टोलिलाई प्रतिष्ठान र क्षयरोग केन्द्रमा रहेको ठाउँ देखाइएको थियो । सो टोलिले प्रतिष्ठानकै प्रयोगशालामा मेशिन राख्न सुझाव दिएपछि मात्र मेशिन राख्ने सहमति जुट्यो ।

अहिले मेशिन जडानको काम भइरहँदा फेरि नयाँ विवाद सिर्जना भएको छ । कोरोना परीक्षण गर्ने ल्याबका कर्मचारीलाई अहिलेसम्म पीपीई कसरी लगाउने र आफू कसरी सुरक्षित भएर काम गर्ने भन्ने थाहा छैन ।

Advertisement

‘मेशिन आइसक्यो तर अहिलेसम्म पीपीई कसरी लगाउने, आफू कसरी सुरक्षित हुने भन्ने मिडियाबाट मात्र सुनियो,’ प्रतिष्ठानको प्रयोगशालामा कार्यरत पशुपति महतो भन्छन्, ‘यत्रो प्रतिष्ठानले अहिलेसम्म हामीलाई कुनै तालिम दिएको छैन । कसरी काम गर्ने ?’

प्रदेश स्वास्थ्य निर्देशनालय र प्रदेश प्रयोगशालाले दिएको तालिम लिएका कर्मचारी फिल्डमा नबसी घरै बसिरहेको उनको गुनासो छ । ‘अस्ति हामीलाई पीपीई लगाउने तालिम दिन्छौं भनेर बोलाइयो । १ घण्टा कुर्दा पनि तालिम दिन कोही आएनन्,’ उनले गुनासो गरे ।

परीक्षणका लागि तालिम र पर्याप्त पूर्वाधार भए आफूहरु काम गर्न तयार रहेको उनले बताए । ‘हामी प्रयोगशालका कर्मचारी हौं त्यसैले परीक्षण गर्दैनौं भन्न मिल्दैन । यो परीक्षण गर्नका लागि राम्रो तालिम चाहिन्छ किनभने आजसम्म कहिल्यै यस्तो परीक्षण गरेकै छैनौं ।’

प्रयोगशालामा कार्यरत ल्याब टेक्निसियन अफिसर अजित आचार्य दैनिक १ सय बढी बिरामी उपचारका लागि आउँदै गर्दा अस्पतालमा कोरोना परीक्षण सुरक्षित नहुने बताउँछन् । उनी भन्छन्, ‘अहिले दैनिक डेढ सयसम्म बिरामी आइरहेका छन् । उनीहरुको पनि परीक्षण गर्नैपर्छ । त्यसमाथि कोरोनाको परीक्षण गर्नुपर्दा खतरा बढी हुन्छ । त्यसको सिकार हामी हुनुपरेको छ ।’

अस्पतालको प्रयोगशालामा कार्यरत ल्याब असिस्टेन्ट सन्दिप पोखरेलको पनि उस्तै गुनासो छ । ‘अहिलेसम्म एउटा गतिलो मास्क पाएका छैनौं । काम गर्दा एन–९५ मास्क भए सजिलो हुन्थ्यो तर झारा टार्ने काम मात्र भएको छ,’ उनले भने । पहिले कर्मचारीको सुरक्षाका विषयमा ध्यान दिएर मात्र परीक्षण थाल्न उनको सुझाव छ । अस्पतालको ल्याबमा अहिले १ जना मात्र तालिम प्राप्त कर्मचारी रहेको ल्याब टेक्निसियन शंकर भण्डारीले बताए ।

उनले भने, ‘पीपीई आजसम्म प्रयोग गरिएको छैन । त्यो लगाउन पनि छुट्टै तालिम चाहिन्छ । तर हामीसँग अहिले १ जना मात्र तालिम प्राप्त कर्मचारी छन् ।’ अस्पतालको ल्याबमा सबै गरेर २० जना प्राविधिक छन् । तीमध्ये अधिकांशले कारोना भाइरसको परीक्षण कसरी गर्ने भनेर तालिम लिएका छनैन् ।

पर्याप्त जनशक्ति छन् : उपकुलपति थापा

परीक्षण गर्ने कर्मचारीले कुनै तालिम नपाएको गुनासो गरिरहँदा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा बुद्धिबहादुर थापा पीसीआर मेशिन चलाउनलाई आफूहरुसँग पर्याप्त जनशक्ति रहेको बताउँछन् । उनकाअनुसार अस्पतालको प्रयोगशालामा पहिले नै एउटा पीसीआर मेशिन छ ।

‘हामीसँग पुरानो पीसीआर मेसिन छ । हामीसँग त्यो मेशिन चलाउने जनशक्ति पहिल्यै हुनुहुन्छ । अब कोरोना परीक्षण गर्न काठमाडौंबाट आएको विज्ञ टोलिले उहाँहरुलाई तालिम दिन्छ,’ उनले भने । पुरानो पीसीआर मेशिन तत्काल काम गर्न सक्ने अवस्थामा नरहेको र विज्ञ टोलिले त्यसलाई मर्मत गरिरहेको उनले जानकारी दिए । मंगलबार बिहान पोखरा ल्याइएको मेशिन प्रयोगमा आएसँगै कोरोना भए÷नभएको रिपोर्ट १ घन्टामा आउने उनले बताए ।

कोरोना परीक्षण गर्ने मेशिन जडानको काम भइरहेको र जडान गर्ने काम सकिएपछि परीक्षण सुरु गरिने पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए । उनले भने, ‘यहाँको तापक्रमलगायत विभिन्न प्रक्रिया हेरेर उहाँहरुले मेशिन जडान गर्नुहुन्छ । विज्ञले परीक्षणका लागि तयार भएको जानकारी दिएपछि परीक्षण थाल्छौं ।’

तपाईको प्रतिक्रिया