पोखराबाट कोरोना परीक्षण सुरु, ४ जनाको स्वाब जाँचियो

समाधान संवाददाता २०७६ चैत १९ गते १७:२६

अनुप पाैडेल, पोखरा

गण्डकी प्रदेशको राजधानी पोखराबाट कोरोना भाइरसको परीक्षण सुरु भएको छ । मंगलबार बिहान ल्याइएको पीसीआर मेशिन जडान भएसँगै परीक्षण सुरु गरिएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

कोरोना जाँच्ने पीसीआर मेशिन पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशालामा जडान गरिएको छ । अहिलेसम्म ४ जनाको स्वाब परीक्षण गरिएको निर्देशनालयका आपतकालीन कार्य सञ्चालन केन्द्रका सम्पर्क व्यक्ति नवराज शर्माले जानकारी दिए । अहिलेसम्म कास्कीका ३ र बागलुङ्का १ जनाको स्वाब परीक्षण गरिएको उनले बताए ।

Advertisement

परीक्षण गरिएकामध्ये सबैको रिपोर्ट नेगेटिभ आएको छ । नयाँ पीसीआर मेशिनले १ घण्टामा १ जनाको कोरोना परीक्षण गर्न सक्छ । अहिलेसम्म गण्डकी प्रदेशबाट ४७ जनाको नमूना संकलन गरिएकोमा २२ जनाको स्वाब परीक्षण गरिएको छ । त्यसमा २१ जनाको नेगेटिभ र १ जनाको पोजेटिभ रिपोर्ट आएको छ ।

यूरोपबाट फर्किएकी बागलुङ्की १९ बर्षीया युवतीमा गत १० चैतमा कोरोना पुष्टि भएको थियो । सङ्क्रमित युवतीको स्वास्थ्य अवस्था सामान्य रहेको सम्पर्क व्यक्ति शर्माले जानकारी दिए । अन्य २५ जनाको स्वाब परीक्षण हुन बाँकी रहेको छ ।

Advertisement

गण्डकी प्रदेशका ४ जिल्लाबाट अहिलेसम्म कसैको पनि नमूना संकलन गरिएको छैन । नमूना संकलन नभएका जिल्ला लमजुङ्, नवलपुर, मनाङ र मुस्ताङ हुन् ।

तपाईको प्रतिक्रिया