लकडाउन डायरी : पछुताइरहेको पत्रकार

समाधान संवाददाता २०७६ चैत २० गते १५:५५

केशवरशण लामिछाने


एक मनले भन्यो, ‘गोली नै लागेर मरिएला कि भन्ने डर हुँदा त समाचार लेखेको मान्छे घरभित्र थुनिएर हुन्छ ? बाहिर निस्की ! समाचार लेख !’  अर्काे मनले भन्यो, ‘त्यति बेला त कि गोली लाग्छ, फ्याट्टै मरिन्छ कि समाचार लेखिन्छ भन्ने थियो, अहिले त्योभन्दा डर छ ।’


पोखरा

आफ्ना सहकर्मीहरूलाई सधैँ भन्छु— 
समाचार घरमा फल्दैन । 
अफिसमा बसेर समाचार पाइँदैन । 
समाचार भेट्न त घरबाहिर/अफिसबाहिर निस्कनुपर्छ । 
मान्छे भेटे पो समाचार भेटिन्छ । 

आज समाचार के आउँछ भन्ने प्रश्न गर्दा कहिले–कहिले सहकर्मी जवाफ फर्काउँछन्, ‘आज त मान्छे भेटिएन, त्यही भएर समाचार भेटिएन ।’  

पत्रकारिता तालिम दिने भइटोपल्दा होस् या विद्यार्थीलाई कलेजमा पत्रकारिता पढाउँदा, दोहोर्‍याइरहन्छु, ‘सिम्पल कुरा के हो भने मान्छे नभेटी समाचार भेटिन्न ।’ हुन पनि समाचारका स्रोत भनेकै ‘थ्री पी’ हुन् । अर्थात्, पिपल, प्लेस र पेपर । यी तीनबाहेकबाट समाचार पाउन मुस्किल छ । प्लेस अर्थात ठाउँमा पुग्न पनि घरबाहिर निस्कनैपर्‍यो । रह्यो, पेपरको कुरा । पेपर अर्थात् कागजातमा, अभिलेखमा पनि समाचार भेटिन्छ । तर, त्यहाँ भेटिएका कुरा ठाउँको अवलोकन र मान्छेहरूसँगको कुराकानीबाट थप पुष्ट्याइँ गर्नैपर्‍यो । 

अहिले भने मेरो त्यही भनाइ आफैँलाई घाँडो भएको हो कि भन्ने महसुस भइरहेको छ । 

सहकर्मीहरूलाई भन्न बाध्य छुः 
घरबाहिर निस्कँदै ननिस्कनू ! 
अफिस नआउनू/नजानू ! 
मान्छेहरू त झन् भेट्दै नभेट्नू ! 

कोरोना भाइरसको महामारीको आतंक जो छ । मान्छे त भेट्नै नहुने उर्दी विश्व स्वास्थ्य संगठनले गरेको छ । व्यक्तिगत दूरी कायम गर्नु र घरबाहिर ननिस्कनु नै ज्यानमारा कोरोना भाइरसबाट बच्ने उपाय रहेछ । यसमाथि नेपाल सरकारले ११ चैतदेखि घोषणा गरेको घरभित्रै बस्ने आदेश अर्थात् लकडाउनले आफैँ पनि घरबाहिर निस्किएको छैन । 

भष्मासुर कोरोना 

सात वर्षे छोरालाई पनि थाहा भइसकेको छ, उसको बाबु पत्रकार हो । बैंकर ममीलाई शनिबार र अरू सार्वजनिक बिदामा ऊ घरमै देख्छ । ममी बैंक र आफू पाठशाला जानुनपर्ने दिन बाबु अफिस हिँडेको देख्दा उसको प्रश्न हुन्थ्यो, ‘तपाईंलाई बिदा हुँदैन ?’ बाबुको जवाफ उसलाई कण्ठस्थ छ, ‘पत्रकारलाई दशैँ र तिहारमा मात्रै बिदा हुन्छ ।’ अझ उसको बाबु पत्रिकामा काम गर्ने भएर दशैँ र तिहारमा बिदा हुने हो । रेडियो वा टेलिभिजनमा भएको भए त्यो पनि हुन्नथ्यो भन्ने उसलाई थाहा हुन्थ्यो । अचेल पत्रिकाकै अनलाइनहरू दशैँ–तिहारमा पनि चलिरहन्छन् । भर्खर–भर्खरको अभ्यास भएको हुँदा पत्रिकाको अनलाइनले खासै कर लगाउँदैन र पो अहिलेसम्मका दशैँ–तिहारमा बिदाको मौका मिलेको छ । तर, अवस्था यस्तो आउँदै छ, पत्रिकाभन्दा अनलाइनमा रिपोर्टिङ गर्नुपर्छ । छिनछिनमा र त्यो पनि कुनै चाडपर्व र दिनरात नभनी । कोरोना भाइरसकै कारण नेपालमा लकडाउन लागू भएको दिनदेखि नै पत्रिकाहरूको वितरण दुरुस्त छैन । अनलाइनहरू चुस्त भइरहेका छन् । 

पत्रकारिता त आफैँमा जोखिमपूर्ण पेशा हो । त्यही जोखिमको मज्जा उठाउन हामी पत्रकार बनेका हौँ । विपद्का बेला पनि मानिसहरूलाई जसरी उद्धार चाहिन्छ, उपचार चाहिन्छ, खाद्यान्न चाहिन्छ, सुरक्षा चाहिन्छ, त्यस्तै सूचना पनि चाहिन्छ । लकडाउनका बेला पनि चलिरहने अत्यावश्यक सेवामा सरकारले सञ्चार भनेकै छ । अत्यावश्यक सेवाको दर्जामा सञ्चारलाई राजपत्रमा यसअघि नै लेखिसकिएको छ । तत्तत् पेशाकर्मीले आआफ्ना जिम्मेवारी निर्वाह गरिरहँदा पत्रकारले सूचना दिनुपर्ने जिम्मेवारी छँदै छ । स्वास्थ्यकर्मी घरबाहिर निस्किएरै उपचारमा खटिनु छ । सुरक्षाकर्मी अफिस बाहिर निस्किएरै उद्धार र सुरक्षामा खटिनु छ । पत्रकारले पनि सूचना दिन छाड्नु छैन । विपद्मा पनि आफूभन्दा अरूका लागि खटिनुपर्ने दायित्व भएका सीमित पेशामध्येकै हो, पत्रकारिता । विपद्मा सूचना र समाचार दिने र घरभित्रै बसेर आफू र परिवार स्वस्थ राख्ने दुई कर्तव्यको सन्तुलन पत्रकारको चुनौती हो । 

जसै लकडाउन घोषणा भयो, घरबाहिर ननिस्की, मान्छे नभेटी समाचार भेटिन्न भन्ने आफ्नै मान्यताविपरीत घरमै बसेँ । समाचार लेखिनँ । द्वन्द्वकालमा गण्डकी प्रदेशका धेरै गाउँ डुलेर रिपोर्टिङ गरेको थिएँ । म्याग्दीको बेनीमा सेनाले बन्दुकको नाल देखाउँदै ब्यारेकमा लगेर खोलामा हाल्दिन्छु, मार्दिन्छु भन्दा पनि फर्किएर आएर समाचार लेखेकै थिएँ । द्वन्द्वको जाँतोमा पिल्सिएका भुइँमान्छेका समाचार लेख्दा राज्य र विद्रोही दुवै पक्षको ‘थ्रेट’ हुँदा पनि डर मानिनँ । २०६२/६३ सालको जनआन्दोलनमा कफ्र्यू आदेशकै बीचमा सडकमा निस्किएर रिपोर्टिङ गर्ने नगण्य पत्रकार हुन्थे, पोखरामा । त्यो बेला गोली चलिरहेका ठाउँमै गएर रिपोर्टिङ गर्न पनि डर लागेन । सेनाले हेलिकोप्टरबाट पृथ्वीनारायण क्याम्पस हातामा गोली चलायो । विद्यार्थी गीता केसीलाई सख्त घाइते बनायो भन्ने समाचार अरू कुनै पत्रकारले लेखेनन् । मेरा अग्रज रामकृष्ण ज्ञवाली र मैले मात्रै लेख्यौँ । मेरो ‘समय’ साप्ताहिकमा छापियो पनि । ज्ञवाली दाइको ‘राजधानी’ दैनिकमा छापियो । 

लकडाउनका बेला स्मृतिको रिल घुम्यो । एक मनले भन्यो, ‘गोली नै लागेर मरिएला कि भन्ने डर हुँदा त समाचार लेखेको मान्छे घरभित्र थुनिएर हुन्छ ? विद्रोही र सेना जसले पनि बेपत्ता पार्दिन सक्ने डर हुँदा पनि गाउँगाउँ पुगेर रिपोर्टिङ गरेको पत्रकार घरमै बसेर हुन्छ ? बाहिर निस्की ! समाचार लेख !’  अर्काे मनले भन्यो, ‘त्यति बेला त कि गोली लाग्छ, फ्याट्टै मरिन्छ कि समाचार लेखिन्छ भन्ने थियो, अहिले त्योभन्दा डर छ ।’ एकातिर आफूलाई कोरोना लाग्ला भन्ने डर, अर्काेतिर परिवारलाई सर्ला भन्ने डर । आफ्ना कारणले परिवारलाई सास्ती किन दिने भन्ने विचार मनमा आइरह्यो । 

कोरोना भाइरस भष्मासुर रहेछ । छोयो कि बितायो । काठ, धातु, कपडा जहाँ पनि हुन सक्ने । हावामा उड्दै पनि छ कि भन्ने डर हुने । अदृश्य भष्मासुर भाइरस कोरोनाले पत्रकारलाई पनि ठूलो आतंक पैदा गरिदिएको छ । दृश्य शत्रुसँग पो लड्न मजा हुन्थ्यो । इख भएको शत्रुसँग पनि युद्धको स्वाद हुन्थ्यो । तर, यो अदृश्य भष्मासुरसँग जोखिम उठाउनु साहस नभई दुस्साहस हुने हो कि भन्ने डर ।  

चिकित्साकर्मी नै भागाभाग

लकडाउनको पहिलो दिन ११ चैतमा पहिलो मनको कुरा सुनेर घरबाहिर निस्किइनँ । १२ गते दोस्रो दिन पनि निस्किइनँ । १३ गते तेस्रो दिन पनि निस्किइनँ । घरबाटै फोन गरेर प्रदेश सरकारले गरेका निर्णयको समाचार बनाइयो । पोखराबाट पर्यटकलाई एयरलाइन्सले उद्धार गरी काठमाडौं लगेको समाचार बनाइयो । अत्यन्तै औपचारिक सूचनाबाहेक ती केही होइनन् । खासमा समाचार बन्न पुग्ने वजन भएको समाचार लेख्न सकिनँ । आफूले पत्रकारिता गरेँ भन्ने नै भएन । यी औपचारिक समाचारअघि एउटा चाहिँ लेखेको थिएँ, ‘सरकारी अस्पतालमा कोरोना रोकथामको तयारी शून्य ।’ अनिवार्य ज्वरो जाँचेर प्रवेश गराउने सूचना टाँगेको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा जो कोही निर्धक्क पस्ने दृश्य थियो । बिरामी कोही आइहाले उपचार गर्ने डाक्टरका लागि सुरक्षा पोशाक थिएन । छैन । बेलायतबाट आएका अभिभावकले ज्वरो आएको बच्चा लैजाँदा बालरोग विशेषज्ञ नै सम्पर्कमा आएनन् । चिकित्साकर्मी नै भागाभागको दृश्य साँच्चीकै समाचार बन्नलायक थियो । बनाएँ । अझ अस्पतालका निर्देशकले हाकाहाकी भनिरहेका थिए, यस्तो अवस्थामा हामीले सक्दैनौँ । यो समाचार ‘अन्नपूर्ण पोस्ट्’को अनलाइनमा आयो ।  

फिल्ममा पनि रुचि छ । किताबमा पनि रुचि छ । फेसबुकमा सेयर देख्छु लकडाउनका लागि फिल्म सिफारिस । लकडाउनका बेला पढ्नलायक किताबको सूची । इन्बक्सतिर पनि त्यस्तै सूचीको लर्काे लाग्यो । तर, एउटा पनि फिल्म हेर्न मन नलाग्ने, किताब छुनै मन नलाग्ने । 

केवल कौतूहल, अनि कौतूहलै कौतूहल । कोरोनाले कहाँ के गर्‍यो ? लकडाउनमा गण्डकी प्रदेशमा कता के भयो ? मान्छेहरूलाई कस्तो दुःख भइरा’ होला ? अस्पतालहरूको व्यवस्थापन कस्तो भइरहेको छ ? नवजवान पत्रकार साथीहरूले कोरोना रोकथामको फितलो तयारीबारे समाचार लेखे । मन दुई कारणले कटक्क भयो, एक तयारी फितलो भएको पढेर, दुई त्यस्तो समाचार आफूले लेख्न नपाएर । पत्रकारलाई यस्ता घटनाले यसरी नै दुई कारणले दुःखी बनाउँछ । नहुनुपर्ने भयो भनेर मानवीयता पग्लन्छ । अर्काे त्यस्तो घटनाको रिपोर्टिङ गरेर जिम्मेवारी पूरा गर्न पाइएन, आफू चुकियो या पछि परियो भनेर दुःख लाग्छ । पछुतो लाग्छ । त्यस्तो समाचार पढ्दा र छुट्दा दुवै कारणले दुःखी भएँ म । 

सूचना मर्छ कि भन्ने पिर

एकातिर अन्नपूर्ण पोस्ट् दैनिकले घरबाटै रिपोर्टिङ गर्नू भनेको छ । अर्कातिर देशको अरू ठाउँका अन्नपूर्णकर्मीले मानिसका दुःखका समाचार दिइरहेका छन्, स्कुप मारिरहेका छन् । सरकारी फितलो तयारीको दृश्य उतारिरहेका छन् । कतै गाउँगाउँमा क्वारेन्टिन बनाएर व्यवस्थित तयारी भएको समाचार दिइरहेका छन् । यी दुईचार दिनमै पनि समाजमा आएका परिवर्तनको खास्सा रिपोर्टिङ आइरहेका छन्—कतै टोलमा प्रवेश गर्नुअघि हात धुनुपर्ने समाचार, कतै टोलमा अपरिचितलाई प्रवेश निषेध, कतै गाउँ प्रवेशद्वारमा तगारो । कतै अस्पतालहरूले बिरामी लिनै नमानेको समाचार । 

यस्तैमा पोखरामा पर्यटक अलपत्र परेको थाहा पाएर चौथो दिन अर्थात् चैत १४ गते चाहिँ बाहिर निस्कन मन लाग्यो । निस्किएँ । एयरपोर्ट पुगेँ । ५८ पर्यटकको उद्धार भयो । पत्रकारितामा हाइपोथेसिस फेल पनि हुन सक्ने चान्स हुन्छ । भयो । दुःखी पर्यटकको बिलौना लेख्न परेन । खुशी भएँ । अर्काे दिन १५ गते पनि पर्यटक उद्धार भए । १५ गतेसम्म आइपुग्दा पोखरामा सौभाग्यले कोरोनाका कुनै बिरामी भेटिएनन् । प्रदेश सरकारले बनाएका क्वारेन्टिनमा १६ जना छन् । रूपा गाउँपालिकाले बनाएको क्वारेन्टिनमा १७ जना छन् । अन्नपूर्णमा चार जना छन् । बागलुङमा कोरोना संक्रमित युवती भेटिएको समाचार यो आलेख लेख्दालेख्दै ब्रेक भएको छ । 

यो बेला समाचार ब्रेक गरेर पनि सुख छैन, मानिसहरू आतंकित होलान् भन्ने पिर । नगरे पनि सुख छैन, सूचना मर्छ कि भन्ने पिर । आखिर जहाँ सूचना मर्छ, त्यहाँ हल्लाको राज चल्छ । भ्रम र झुटको झन् ठूलो आतंक मच्चिन्छ । त्यही आतंक चिर्न स्वस्थ सूचना पत्रकारको छनोट हुन्छ, जुन उसको जिम्मेवारी हो । यो जिम्मेवारी अझै कसरी निर्वाह गर्ने ? चुनौती छ । घरमै बसेर समाचार नलेखेर चुकचुकाउने कि बाहिर निस्किएर समाचार लेख्ने/रोगी बन्ने जोखिम उठाउने भन्ने दोधारकै बीच सन्तुलन मिलाउँदै नहिँडे न पत्रकार भइन्छ, न त मान्छे नै ।

 अन्नपूर्ण सम्पूर्णबाट

तपाईको प्रतिक्रिया