पोखराका अस्पतालमा अमानवीयताको पराकाष्ठा किन, जवाफ चाहियो सरकार

समाधान संवाददाता २०७६ चैत २१ गते १२:०१

रामकृष्ण ज्ञवाली
समाचार टिप्पणि

तस्बिरका अवोध बालिक होमनाथ कँडेललाई विश्वमा के भैरहेको छ, कुनै जानकारी छैन । उनी मात्र ६ बर्षका हुन । बिरामी भएका कारण जिवन र मृत्युको दोसाँधमा रहेका उनी दुर्गम बस्ती बाग्लुङकै तारा खोला गाउमा इन्तु न चिन्तु थिए । गाउका अस्पतालले औषधी त गरे तर त्यहाँ सञ्चो हुन नसक्ने भन्दै ठुलो अस्पताल भएको शहर पोखरामा पठाए । शहरको अस्पतालमा उपचार भएपछि त पक्कै सन्चो हुन्छु भन्ने विश्वास थियो होला उनमा तर अहिले उनको आत्माले भने सोधिरहेको होल– यत्रो ठुलो शहरमा आउदा पनि मलाई किन औषधी खुवाउदैनन् ? किन डाक्टरले जाँच्दैनन् ? किन घर अर्थात अस्पताल भित्र नराखेर बाहिर खुल्ला चौरमा राख्छन ?

कोरोनो भाइरसको त्रासका कारण ज्वरो आएको विरामी पनि हेर्न डराउछन चिकित्सकहरु । यसैको शिकार भएका हुन यी अबोध बालक । गाउमा बसेका उनीमा निमोनिया देखिएकोे छ । तर त्यो निमोनिया नभै कोरोना पनि हुन सक्छ भन्ने आशंकाले चिकित्सकहरु कोरोना भाइरसको परिक्षण नगरेसम्म उनलाई छुनबाट तर्किन्छन । सैले हिजो राती मणिपाल अस्पताल भर्ना हुन पुगेका उनलाई राती नै गण्डकी अस्पताल अर्थात पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरियो । त्यहाँ आउदा इमर्जेन्सीका चिकित्सकले छुन पनि मानेन । बालकका हजुर बुबा चित्र कँडेलका अनुसार अस्पताल भित्र पस्नै दिइएन ।

Advertisement

निमोनिया र ज्वरो थपिएको विरामीलाई जसरी मणिपालबाट निकालियो, त्यसैगरी गण्डकीमा प्रवेश नै दिइएन । यसै त निमोनिया भएको बालक, त्यसमाथि खुल्ला आकाशमुनी बस्नुको पीडा कसले महसुस गर्ने ? यहाँसम्म की छानो भएको ओत समेत पाएनन उनीहरुले । राती करिब १२ बजेपछि प्रहरी समक्ष रोइकराई गरेपछि मात्रै ओतमा बस्न पाएको उनका हजुर बुबाले बताए ।


सरकारी अस्पतालले त्यो आपतकालिन अवस्थाको बालकलाई किन भित्रै प्रवेश गर्न दिएन ? जवाफ चाहियो सरकार । अबोध बालकलाई मृत्युको मुखमा धकेल्नेहरु कारवाहीको भागिदार हुन्छन कि हुन्नन ? उत्तर चाहियो सरकार ।

Advertisement

पुरै लक डाउनको बेला छ । एउटा एम्बुलेन्समा बच्चाका बाबु र हजुर बुबाले उनलाई पोखरा ल्याएका हुन । हिजै देखि तिनै जना भोकै छन् । ‘यसले पाँन दिन देखि पानी बाहेक केही खाएकै छैन, हामी पनि हिजो विहान देखि भोकै छौं ।’ आँखाभरी आँशु लिएर गला अबरुद्ध पार्दै हजुर बाले गुनासो गरे ।

आज १० बजे गण्डकी अस्पताल पुग्दा उनीको परिवार चौरमै अलपत्र थियो । बाबु र हजुर बाबु रोइरहेका थिए । बच्चा केही मेसो पाउने अवस्थामा थिएन । २ वटा कुर्सी जोडेर बनाइएको बिस्तारामा एउटा ब्याङ्केटमा लुटपुटिएका थिए बालक । बा र हजुर बा भने रातभर जाग्राम मै बसे ।

यसको जवाफदेही कोही छैन । कोरोनाको शंका लागेकालाई क्वारेन्टाइन गर्ने र लक्षण देखियो भने आइशोलेशनमा राख्ने निर्णय सरकारले गरेको छ । त्यो बच्चालाई कोरोनाकै शंका गरिएको भने पनि आइशोलेशन वार्डमा राखिनु पर्दथ्यो । त्यही गण्डकी अस्पतालमा १० वटा आइशोलेशन वार्ड बनाइयो भन्दै गर्व छाती फुलाउथे गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक विनोद विन्दु शर्माले । तर आज यो बिजोक छ बालकको । कहाँ छन आशोलेशन ? कहाँ छन सरकारी क्वारेन्टाइन ? किन बनाइन्छ र के का लागि बनाइयो यिनीहरु ?

गाउका बालक । यिनको ट्राभल हिस्ट्री पनि केही छैन । यो समय बालबालिकालाई निमोनिया हुने समय नै हो । समयमा उपचार नपाए बालकको ज्यान लिन्छ निमोनियाले भन्ने पनि चिकित्सकहरुलाई जानकारी नै छ । तर पनि अस्पताल भर्ना हुन आएका बालकलाई मणिपालले मध्यरातमा किन लखेट्यो ? सरकारी अस्पतालले त्यो आपतकालिन अवस्थाको बालकलाई किन भित्रै प्रवेश गर्न दिएन ? जवाफ चाहियो सरकार । अबोध बालकलाई मृत्युको मुखमा धकेल्नेहरु कारवाहीको भागिदार हुन्छन कि हुन्नन ? उत्तर चाहियो सरकार ।

यो एउटा प्रतिनिधि घटना मात्र हो । यस्ता कति होलान देशभरी ? सरकार चाहिने यस्तै बेलामा हो । सरकारले आफ्नो भुमिका देखाउने यस्तै बेलामा हो । चिल्ला कुराले चिउरा भिज्दैन । यदी यस्तै पाराले मेडिल सिस्टम चल्ने हो भने यो देशमा, कोरोनाको महामारीले भन्दा अकालमा ज्यान गुमााउनेहरुको संख्या धेर माथि हुनेछ । बरु अहिलेसम्म कोरनाले नेपालमा एक जनाको पनि ज्यान छैन ।

तपाईको प्रतिक्रिया