कास्कीकाे अन्नपूर्णमा १८ जनाले गरे क्वारेन्टाइन अवधि पूरा

समाधान संवाददाता २०७६ चैत २३ गते १७:०१

पाेखरा

कास्कीको अन्नपूर्ण गाउँपालिकामा हालै विदेशबाट आएकामध्ये १८ व्यक्तिले क्वारेन्टाइन अवधि भुक्तानी गरेका छन् । विश्व्यापी फैलिएको कोरोना भाइरसको संक्रमण भित्रन नदिनका लागि गाउँपालिकाले सार्वजनिक सूचना नै प्रवाह गरी स्थानीय राजनीतिक दल, जनप्रतिनिधि एवम् नागरिक समाजको समन्वय एवम् सहयोगमा ३० व्यक्ति आशंकित भनी पहिचान गरेको थियो ।

पहिचान गरिएकामध्ये १६ जनाले शुक्रबार र दुई जनाले शनिबार क्वारेन्टाइन अवधि भुक्तानी गरेको गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले जानकारी दिनुभयो । गाउँपालिकाले क्वारेन्टाइन अवधि १६ दिन निर्धारण गरेको छ ।

पहिचान भएका व्यक्तिलाई स्वास्थ्यकर्मीको विशेष निगरानीमा आआफ्ना घरमा क्वारेन्टाइनमा राखिएको जानकारी दिँदै उहाँले अब १२ व्यक्तिले उक्त अवधि भुक्तानी गर्न बाँकी रहेको बताउनुभयो ।

Advertisement

मादीबाट सात सय परिवारलाई राहत

कोरोना भाइरसको संक्रमणबाट जोगिन जारी लकडाउनका कारण प्रभावित विपन्न सात सय परिवारलाई कास्कीको मादी गाउँपालिकाले राहत सामग्री दिने तयारी गरेको छ । गाउँपालिकाले पालिकाभित्रका विपन्न परिवारको सूची तयार गरी राहत वितरण गर्न लागेको गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङले जानकारी दिनुभयो ।

Advertisement

उहाँका अनुसार राहतस्वरुप २५ किलोग्राम चामल, तेल, नुन, दाललगायत रु दुई हजार बराबरको राहत वितरण गर्न लागिएको हो । राहतका लागि गाउँपालिकामा रहेको सुपर मादी हाइड्रोपावर प्रालिले सात सय बोरा चामल सहयोग गरेको छ । संक्रमण रोकथाम एवम् नियन्त्रणका लागि कार्यपालिका बैठकबाट गाउँपालिकाका प्रमुख नाकामा कडाइ गर्दै आकस्मिकबाहेकको आवागममा रोक लगाउने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो ।

गाउँपालिकाले १० शय्याको क्वारेन्टाइन निर्माण गरेको छ । उक्त क्वारेन्टाइनमा केही समयअघि विदेशबाट आएका दुई जना राखिएको र उनीहरू १४ दिन अवधि पूरा गरी घर फर्केको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार घरघरमा सचेतनाका लागि स्वास्थ्यकर्मी पनि खटाइएको छ । गाउँपालिकाका १२ वटा वडामा करीब २५ हजार जनसंख्या छ ।

मादीमा १५ स्वास्थ्यचौकीमा ३२ व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) वितरण गरिएको छ । स्वास्थ्य संस्थामा कार्यरत करारका कर्मचारीलाई गाउँपालिकाले रु १० लाखको बीमा गरेको र खटिएका स्वास्थ्यकर्मीलाई दैनिक खाजा र खानाका लागि रु पाँच सय भत्ता उपलब्ध गराएको सापकोटाले जानकारी दिनुभयो ।

त्यसैगरी कोरोना संक्रमणको अवस्था दृष्टिगत गर्र्दै गण्डकी प्रदेश सरकारले दैनिक ज्यालादारी गरी आफ्नो जीविका चलाउने न्यून आयस्रोत भएका तथा मजदूरी गरी खानेलाई लक्ष्य गरी लकडाउन अवधिका लागि आवश्यक राहत कार्यक्रमको घोषणा गरेको छ ।

यसका लागि सम्बन्धित वडा समितिको कार्यालयले आवश्यक जनतालाई वितरण गर्ने गरी जनसंख्याका आधारमा पोखरा महानगरपालिकालाई रु एक करोड, हरेक नगरपालिककालाई रु १०÷१० लाख र हरेक गाउँपालिकालाई रु पाँच÷पाँच लाख उपलब्ध गराइएको छ । सम्बन्धित स्थानीय तहलाई नपुग थप रकम आफैंँ व्यवस्थापन गर्नसमेत प्रदेश सरकारले अनुरोध गरेको छ ।

उल्लंघन गर्ने शून्य

लकडाउनको तेह्राँै दिन बितिसक्दा तनहुँमा उल्लंघन गरी सवारी साधन चलाउनेको संख्या शून्य अवस्थामा पुगेको छ । केही दिनअघिसम्म छिटफुट मात्रमा उल्लंघन गरी सवारी साधन चलाउने गरे पनि अहिले शून्य अवस्थामा पुगेको जिल्ला ट्राफिक कार्यालय तनहुँले जनाएको छ ।

सडकमा सवारी पासबाहेकका अन्य सवारी साधन चलेका छैनन् भने मानिसको चहलपहलमा समेत न्यूनीकरण भएको छ । प्रहरीको कडाइका साथ जाँचका गर्नाका साथै मानिस सचेत हुँदै गएकाले लकडाउन उल्लंघन गर्ने न्यून भएको जिल्ला ट्राफिक कार्यालय तनहुँका असई राजु श्रेष्ठले बताउनुभयो ।

देवघाटमा एक व्यक्ति क्वारेन्टाइनमा देवघाट गाउँपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा बैदेशिक रोजगारबाट फर्किएका एक व्यक्ति मात्र क्वारेन्टाइनमा बस्दै आउनुभएको छ केही दिनअघि व्यासनगरपालिका–५ स्थित पराशर आधारभूत विद्यालयमा स्थापित क्वारेन्टाइनमा दुबइबाट घर आएका एक पुरुष र महिला क्वारेन्टाइनमा बस्नुभएको थियो ।

उहाँहरुलाई क्वारेन्टाइनमा समयावधिसम्म राखेर स्वास्थ्य परीक्षण गर्दा सामान्य देखिएपछि घर पठाइएको वडाध्यक्ष मोहनकुमार श्रेष्ठले बताउनुभयो । जिल्लाका विभिन्न स्थानमा १७४ शय्याको क्वारेन्टाइन र पाँच स्थानमा ४६ शय्या क्षमताको आइसोलेशन कक्ष स्थापना गरिएको छ । त्यसैगरी पिपिई ८६ थान र थर्मल गन ११ थानलगायत आवश्यक सामग्री आउने क्रम जारी रहेको छ । हेल्थ डेस्क ४४ स्थानमा छ । तनहुँका चार नगरपालिका र छ गाउँपालिकामा गरी शुक्रबारसम्म ६ ९७ जना विभिन्न देशबाट घर फर्किएका छन् ।

क्वारेन्टाइनमा बसेकाहरुको पनि स्वास्थ्यावस्था सामान्य रहेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिनुभयो । ५५ मजदूरलाई निःशुल्क खाना व्यासनगरपालिका–३ स्थित तरकारी लाइनका व्यवसायीको सक्रियतामा तनहँु उद्योग वाणिज्य संघ दमौली बजार एकाइको व्यवस्थापनमा दमौलीमा निःशुल्क खाना खुवाउने व्यवस्था मिलाइएको छ । दमौली बजार क्षेत्रमा मजदूरी गरी खाने परिवारलाई लकडाउन अवधिभर बिहान एक छाक खाना खुवाउने गरी शनिबारदेखि निःशुल्क खानाको व्यवस्था मिलाइएको हो ।

उक्त अभियानको पहिलो दिन ५५ जना मजदूरले खाना खाएको तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाइका सभापति राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

भोकै बस्न दिँदैनौ

नगरप्रमुख व्यासनगरपालिकाकाप्रमुख बैकुण्ठ न्यौपानेले नगरपालिका क्षेत्रमा रहेका बासिन्दा भोकै बस्नु नपर्ने बताउनुभएको छ । उनीहरुलाई दैनिक जीवनमा आवश्यक पर्ने दाल, चामल, तेल र साबुनलगायत सामग्री वितरण गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

नगरपालिकाद्धारा राहत तथा औषधोपचारका लागि रु ७५ लाख राहत रकम विनियोजन गरिएको नगरपालिका प्रवक्ता मोहनकुमार श्रेष्ठले बताउनुभयो ।

घरपझोङ्गले खरीद ग¥यो स्वास्थ्य सामग्री ठिनी

हिमालपारिको जिल्ला मुस्ताङ्गको घरपझोङ्ग गाउँपालिकाले कोरोना संक्रमणविरुद्ध लड्न औषधिसहित स्वास्थ्य उपकरण खरीद गरेको छ ।

कोरोना भाइरसको संक्रमणबाट जोगिन औषधि र स्वास्थ्य उपकरण खरीद गरिएको गाउँपालिकाका अध्यक्ष आशबहादुर थकालीले जनाकारी दिनुभयो । गाउँपालिकाका स्वास्थ्य संयोजक कर्ण थकालीले खरीद गरिका सामग्री वडा वडामा पुगिसकेको जानकारी दिनुभयो ।

कोरोनाको रोकथाम, नियन्त्रण, राहत तथा उपचारका लागि गाउँपालिकाले रु पाँच लाखको राहत तथा नियन्त्रण कोष खडा गरेको प्रशासकीय अधिकृत नेत्र पौडेलले बताउनुभयो । गाउँपालिकाले जनहित मावि जोमसोममा २० शय्या, नमूना आधारभूत विद्यालय जोमसोममा सात शय्या तथा जनकल्याण आधारभूत विद्यालय स्याङ्ग, मुक्ति नमूना आधारभूत विद्यालय ठिनी र छैरो आधारभूत विद्यालय छैरोमा तीनतीन शय्याको क्वारेन्टाइन निर्माण गरेको छ । रासस

तपाईको प्रतिक्रिया