र्‍यापिड टेस्टको पर्खाइमा बागलुङबासी

समाधान संवाददाता २०७६ चैत २६ गते ६:३०
फाइल तस्बिर

अनुप पौडेल, पोखरा

नेपालमा कोरोना भाइरस दोस्रो चरणमा प्रवेश गरेपछि सरकारले सुदूरपश्चिमको कैलाली र कञ्चनपुरसँगै गण्डकी प्रदेशको बागलुङ जिल्लामा र्‍यापिड टेस्ट गर्ने निर्णय ग¥यो । कैलाली र कञ्चनपुरमा स्वास्थ्यकर्मीको टोलि पुगेर टेस्ट सुरु गरिसकेका छन् । तर, बागलुङमा टोलि आइपुगेको छैन ।

नेपालमा कोरोनाका ९ जना संक्रमित भेटिँदा गण्डकी प्रदेशमा अहिलेसम्म २ जनालाई कोरोना देखिएको छ । यहाँ कोरोना देखिनेमा बागलुङकी १९ वर्षीया युवती र ६५ वर्षीया वृद्धा छन् । एउटै जहाजमा बेल्जियमबाट दोहा हुँदै चैत ४ गते नेपाल आएका दुवैको अहिले धौलागिरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

Advertisement

¥यापिड टेस्ट गर्ने स्वास्थ्यकर्मीको टोलि बुधबारसम्म आइपुग्ने जानकारी आफूले पाएको जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौंले बताए । उनकाअनुसार टेस्ट क–कसको गर्ने हो भन्ने यकिन भइसकेको छैन । ‘बाहिरबाट आएका सबैको गर्ने हो वा १४ दिन भित्रको मात्र गर्ने हो भन्ने क्लियर छैन । टोलिले गाइडलाईन पनि लिएर आउँछ अनि मात्र क–कसको परीक्षण गर्ने भन्ने थाहा हुन्छ,’ प्रमुख गुरौंले भने ।

ती दुवै संक्रमितको सम्पर्कमा आउनेको दैनिकजसो चेकजाँच भइरहेको र सबैको अवस्था सामान्य रहेको उनले जानकारी दिए । उनकाअनुसार संक्रमितको सम्पर्कमा आएको १४ दिन कटिसकेका कसैमा पनि कोरोनाको लक्षण छैन । संक्रमितको परिवारमा कोरोनाको कुनै लक्षण नदेखिनुलाई लोकल ट्रान्समिसनको खतरा नरहेको भन्ने बुझिन्छ ।

Advertisement

दुवै संक्रमितका छिमेकी र विदेशबाट आएकाहरु ¥यापिड टेस्टको पर्खाइमा छन् । ‘मन्त्रिपरिषद् बैठकले टेस्ट गर्ने निर्णय गरेपछि यहाँका मानिस त्यसको पर्खाइमा छन् । कहिले आउँछ र कसरी परीक्षण हुन्छ भन्ने उत्सुकता छ,’ प्रमुख गुरौंले सुनाए ।

चैत महिनामा विदेशबाट आएका ८ सय १५ जना आफूहरुको सम्पर्कमा रहेको बागलुङका प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजुले जानकारी दिए । जिल्लामा अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन रोक लगाएर लकडाउनलाई कडा पारिएको प्रजिअ सैंजुले बताए ।

विदेशबाट आएकामध्ये २६ जना क्वारेन्टाइनमा बसेका छन् भने बाँकी सबै सेल्फ होम क्वारेन्टाइनमा छन् । जिल्लामा १ सय ५० बेड क्षमताको क्वारेन्टाइन र ९ बेड क्षमताको आइसोलेसन बनाइएको छ ।

बागलुङ जिल्लाबाट अहिलेसम्म १८ जनाको नमुना संकलन भएकोमा दुई जनामा मात्र संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका स्वास्थ्य शिक्षा प्रशिक्षक नबराज शर्माले जानकारी दिए । उनकाअनुसार गण्डकी प्रदेशबार अहिलेसम्म १ सय ८० जनाको नमुना संकलन भएको छ । त्यसमा १ सय ३० जनाको नेगेटिभ आएको छ भने ४८ जनाको रिपोर्ट आउन बाँकी छ ।

तपाईको प्रतिक्रिया