एयर अरेबियाको उडानबाट आएका माछापुच्छ्रेका ३ जनामा देखिएन काेराेना

समाधान संवाददाता २०७६ चैत २६ गते १४:३८

पाेखरा ।

नेपालमा कोरोना भाइरस फेला परेको तेस्रो व्यक्तिसँगै गत चैत ४ गते दुबईबाट एयर अरेबिया एयरलाइन्सको उडानबाट आएका जिल्लाका तीन युवामा कोरोनाको सङ्क्रमण नभएको पुष्टि भएको छ ।

दुबईको सारजाहा विमानस्थलबाट उडान जी ९५३७ बाट काठमाडौँ ओर्लिएका माछापुच्छ«े गाउँपालिका–२ सार्दिखोलाका अमृत पौडेल र दीपक गुरुङ तथा वडा नं ६ धितालका गोविन्दप्रसाद अधिकारीको स्वाब परीक्षण गर्दा उनीहरुको नतिजा नेगेटिभ आएको हो ।

तीनै जनाको सोमबार पोखरामा गरिएको कोरोना परीक्षणबाट उनीहरुमा कोरोना सङ्क्रमण नदेखिएको प्रदेश स्वास्थ्य निर्देशक डा विनोदविन्दु शर्मालाई उद्धृत गर्दै गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले बताउनुभयो ।

Advertisement

उनीहरुसँगै आएको व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएपछि तीनै जना होम क्वारेन्टाइनमा स्वास्थ्यकर्मीको निगरानीमा रहेका थिए । त्यसैगरी चैत ४ गते बाग्लुङकी सङ्क्रमित एक युवतीलाई पोखराबाट स्कारपियो गाडीमा राखेर बाग्लुङ घरसम्म पु¥याउने चालकको समेत स्वास्थ्य अवस्था सामान्य रहेको गाउँपालिकाले जनाएको छ ।

विदेशबाट आएकाको होम क्वारेन्टाइन पूरा

Advertisement

गाउँपालिकामा चैत महिनामा विदेशबाट आएका ३१ जना सबैले होम क्वारेन्टाइनको अवधि भुक्तान गरिसकेको बताइन्छ । “अन्तिम पटक चैत ८ गते आएका दुई जनासहित सबैको होमक्वारेन्टाइनको अवधि पूरा भएको छ । शङ्कास्पद तीन जनाको परीक्षण गर्दा नतिजा नेगेटिभ आयो, अन्यको स्वास्थ्य सामान्य छ”, अध्यक्ष गुरुङले भन्नुभयो ।

गाउँपालिकाले कोरोनबाट प्रभावित विपन्न र दैनिक ज्यालादारीमा काम गर्ने मजदुर र श्रमिकलाई राहत वितरणको तयारी गरेको छ । नौवटै वडामा लगत सङ्कलन भइरहेको उपाध्यक्ष कृष्णकुमारी दवाडीले बताउनुभयो । गाउँपालिकाले ५०० प्रभावित परिवारलाई राहत वितरणको तयारी गरेको छ ।

तपाईको प्रतिक्रिया