मदरल्यान्डका शिक्षक र विद्यार्थी घरघरमै, पढाइ अनलाइनमा

समाधान संवाददाता २०७६ चैत २६ गते १६:०२

पोखरा

लकडाउनले गर्दा सबै विद्यालयका विद्यार्थी घरघरमै छन् र शिक्षक पनि । यस्तो बेला पनि शिक्षक र विद्यार्थीबीच पठनपाठनको चाँजो मिलाउने जुक्ति केही विद्यालयले भने निकालेका छन् । कोरोना भाइरस फैलन डरले घरमै थुनिनुपरेका बेलाको समयलाई पठनपाठनमा लगाउन अनलाइनको प्रयोग गर्ने विद्यालयमध्ये पोखरामा मदरल्यान्ड मावि पनि छ । यस्तै विकल्प सैनिक आवासीय माविले पनि रचेको छ ।

मदरल्यान्ड माविका निर्देशक त्रिभुवन शर्माले गएका १२ दिनदेखि अनलाइनबाटै पढाइराखिएको जानकारी दिए । उनका अनुसार कक्षा १०, ११ र १२ का विद्यार्थीलाई अनलाइनबाट पढाइएको छ । उनले शिक्षकहरुले आआफ्नै घरबाट जुम सफ्टवेयर प्रयोग गरेर विद्यार्थीलाई पढाइरहेको जानकारी दिए । उनी आफैंले पनि गणित विषय पढाइरहेका छन् । ‘कक्षाअनुसार विभिन्न शिक्षकलाई जिम्मेवारी दिएका छौं, उहाँहरुले नै संयोजन गर्नुभएको छ,’ उनले भने ।

लकडाउनका बेला पनि विद्यार्थीको पढाइ नरोकियोस् भनेर अनलाइन कक्षा चलाएको शर्माले सुनाए । ‘हाम्रो स्कुलबाहेकका विद्यार्थी पनि हाम्रो सफ्टवेयरमा जोडिएर पढिरहेका छन्,’ उनले भने, ‘पोखराका मात्रै नभई टाढाटाढाका विद्यार्थी पनि जोडिन आइपुगेका छन् ।’

Advertisement

गुगल, मेसेन्जर लगायतबाट पनि विद्यार्थीलाई पठनपाठन गराइएको उनले बताए । ‘होमवर्क दिने, होमवर्क चेक गर्ने सबै काम भइरहेको छ,’ उनले भने, ‘विद्यार्थीसँग अन्तक्र्रियात्मक तवरबाटै पढाइएको छ ।’ कक्षा १०, ११ र १२ का विद्यार्थीको परीक्षा आउन बाँकी छ ।

१० कक्षाका विद्यार्थी एसइईको तयारीमा छन् भने अरु २ वटा कक्षाका विद्यार्थीको वार्षिक परीक्षा भएको छैन । ‘अब विस्तारै कक्षा ९ का लागि पनि यसरी नै पढाउनेबारे सोचिरहेका छौं,’ उनले भने, ‘लकडाउन लम्बियो भने अरु धेरै कक्षा यसरी नै चलाउनुपर्छ होला ।’

यसअघि पनि विदेशका विभिन्न शैक्षिक संस्थासँगको सहकार्यमा प्रोजेक्टरमार्फत अनलाइन पढाइ गराउँदै आएको अनुभवसमेत शर्माले सुनाए । मदरल्यान्डकै शिक्षक वामन घिमिरेले विद्यार्थीको भविष्य ख्याल गर्दै आफ्नो जिम्मेवारीलाई फरक तरिकाले निर्वाह गरिएको आफ्नो फेसबुकमा उल्लेख गरेका छन् ।

Advertisement

घिमिरेले नै अनलाइनमार्फत पठनपाठन गराउने कार्य संयोजन गरिरहेको जानकारी निर्देशक शर्माले दिए । कक्षा ११ को विज्ञान विषय रामप्रसाद ओझावले पढाइरहेका छन् । शर्माले आफ्ना बाबुनानीले अनलाइन कक्षामा भाग लिए नलिएको ख्याल गरिदिन अभिभावकसँग अनुरोध पनि गरेका छन् ।

अमेरिकामा लकडाउन घोषणा नभए पनि विद्यालय बन्द रहेका बेला अनलाइन कक्षा सुरु गरिएको त्यहाँका सञ्चार माध्यमले जनाएका छन् । कोरोना भाइरसको इपिसेन्टरै बनेको न्युयोर्क राज्यमा अनलाइन कक्षाका लागि सरकारले कतिपय विद्यार्थीलाई ट्याब्लेटसमेत उपलब्ध गराएको छ ।

तपाईको प्रतिक्रिया