उज्यालो खोस्ने त्यो बिजुली
विजय परियार
परिवर्तन हुनु जरुरी छ । परिवर्तन विकासको आधार पनि हो । तर सबै परिवर्तनले विकास नै गर्छ भन्ने नहुन पनि सक्छ । मेरो अहिलेसम्मको अनुभवमा यस्तै लाग्छ । करिब १० वर्ष हुन थालिसकेछ स्वदेश भित्रको परदेशी भएको पनि । देश आन्तरिक द्वन्द्वमा रुमलिरहेको, पिरोलिरहेको थियो, मैले गाउँ छोड्दा ।
गाउँका धेरै जना भेला भएर ब्ल्याक एन्ड ह्वाइट टिभीमा हेरको हिन्दी फिल्मको फाइटको दृश्यभन्दा कम थिएन मैले प्रत्यक्ष देखेको त्यो दृश्य । आर्मीहरुले मेलै पढ्ने स्कुल घेरा हालेर हाम्रै गाउँका एकजना दाजुसहित दुईजनालाई भटटट्ट बन्दुकको गोली हानेर मारेको दृश्य कम्ता भावविव्हल थिएन । फिल्ममा जस्तो त्यहाँ नत कुनै हिरो थियो न त कुनै हिरोइनका लागि त्यो फाइट भएको थियो । एउटा बालकको मनले के ठम्म्याउन सकोस् कि त्यो के थियो भनेर ।
को हो माओवादी को हो के के ? सबै भन्थे हामी परिर्वतनका लागि लड्दै छौैं । तर त्यो बालकले नबुझेको कुरा सबै नेपाली भएपछि आपसमा लडेर पनि परिवर्तन आउँछ र ! भाइचाराले देश बन्ने हो भाइमाराले देश बन्छ र ! देशको त्यो प्रतिकुल अवस्थाले कतिलाई मार्यो, कतिलाई बेपत्ता बनायो, कतिको घरबार बिगार्यो, कतिको जीवन तहसनहस बनायो, कतिको आजसम्म अत्तोपत्तो छैन । देशको त्यो प्रतिकुल अवस्थाले यो बालकलाई आज स्वदेश भित्रको परदेशी बनायो । कति त परदेशी नै भइसके । कति उतै परदेशमै विलय भइसके ।
आज यतिका समय भयो खै परिवर्तनकारीले त्यतिबेला भनेको जस्तो परिवर्तन आज बुझ्ने हुँदासम्म पनि महसुस गर्न सकेको छैन । मैले देखको परिवर्तन भनेको आज हाम्रो गाउँमा बिजुली गएको छ । चारैतिर बाटो पुगेको छ । तर बिजुलीसँगै कुनै नयाँ प्रविधि गएन । बरु त्यो बिजुलीले हाम्रो गाउँको उज्यालो खोसेर लग्यो । त्यो बाटो हाम्रो गाउँको विकास गर्न होइन रहेछ ।
हाम्रा गाउँलेलाई सहरमा लिन गएको रहेछ । अँध्यारोमा पाँचजना बस्नुभन्दा उज्यालोमा एक्लै बस्न गाह्रो छ आजकल गाउँघरमा । एउटा सानो टुकीले दिएजस्तो मनको उज्यालो आज सय वाटको चिमले पनि दिन सकेको छैन । धन्न कोरोनाले गर्दा कति परिवारमा हर्ष पनि बढ्यो होला । सपरिवारसँगे बस्न पाएका छन् जो । चाहे त्यो क्षणिक नै किन नहोस् ।
बिजुलीबाट देशले अर्बाैं कमाउँदा पनि हाम्रा गाउँलेहरु बिजुली कम बाल्न पाए हुन्थ्यो भन्छन् । कारण यसको बिलको रकम अब त घट्लाभन्दा झन बढ्दै गएको छ । हिजो गाउँमा सानो केही हँुदा पनि मान्छेको कमी हुने थिएन ।
तर आज लास उठाउने पनि मान्छे भेटिँदैनन् । बाबा परदेश, छोराछोरी पढ्न सहर, बुहारी पनि सहर छोराछोरी पढाउन । गाउँमा परिवर्तन आयो । मेरा आफन्त र म पनि सहर बजारमै रम्न थाल्यौ । गाउँमा मान्छे घट्न थाले । मान्छेसँगै खेतीपाती पनि गर्न छाडियो । पल्तिर साइँला, काइँला दाइँहरु पनि त्यसै परदेश छिरेका होइनन् ।
गाउँलेको कामगरी छाक टार्ने उनको काम नै छैन आज गाउँमा । हाम्रो गाउँको नयाँ सडकले गाउँका योद्धाहरुलाई विदेशिने बाटो देखायो तर कुनै पनि बाहनामा बुढाबुढीलाई सहर लग्न सकेन कति त जानै चाहेनन् । गाउँको धुलोमाटोलाई पचाएर बसेका उनीहरु सहरको सरसफाइ के पचाउन सक्थे विचरा ।
गाउँको धुलोमाटो पचाउनेहरुलाई कुनै रोग लागेन सहरको सरसफाईमा बस्नेहरु सामान्न टाउकोे दुख्दा पनि सिटामोल नखाई हुँदैन । गाउँमा हजुरबुवाहरु असि वर्षको उमेरमा पनि खेती किसानी गरीराखेका छन् म युवा भएर पनि आज अलिकति हिँडे पनि दमको रोगले पेले जस्तो हुन्छ । परिवर्तनको कमाल उनी अझै दरा अनि तगडा छन् तर म…….
…
मेरा हजुरबुवा हजुरआमाहरु ससानो कामको लागि कहिल्यै बजार छिरेनन् किनकि कति खाँचोहरु अैँचोपैँचोबाटै पूरा हुन्थे । सानातिना रोगको उपचार गाउँकै ओखतीले ठिक हुन्थ्यो । हाम्रो गाउँको परिवर्तनले हिजो कोदो मकै फल्ने बारीमा आज धुलो उडिरहेको छ । मेरो हजुरबुबा भन्नु हुन्थ्यो घरभित्र सुसेल्नु हुँदैन घरको सह जान्छ । हो रहेछ आज गाउँभित्र गाडीको टिँ टिँ छि¥यो गाउँको सह मोह दुवै लगेर गयो । मलाई याद छ म, मेरो गाउँ छिर्ने जंगल म एक्लै कहिल्यै पार गर्न सक्दिनथे ।
जबसम्म यो भ्रष्टाचार भन्ने जन्तुलाई जगैदेखि उखेलेर फाल्न सकिदैन तब सम्म हाम्रो गाउँको बाटो यस्तै हो भन्थे दाइहरु हो रहेछ आज पनि उस्तै छ मेरो गाउँको बाटो । दाइहरु भन्थे यो भ्रष्टाचार भन्ने जन्तु जन्माउने पनि हामी नै हो रे । अघिपछि जनता अनि चुनावको बेला कार्यकर्ता बन्ने हाम्रो बानीले यो जन्तु जन्मन्छ रे ।
कोरोना भन्ने भाइरसको एन्टिभाइरस त बन्दै होला तर भ्रष्टाचार भन्ने भाइरसको एन्टि भाईरस त बनिसकेको छ रे । त्यो एन्टिभाइरसको नाम चाहिँ इमान्दारी होरे । वर्षेनि करोडौंको घाटा गर्ने, पत्रिकाको लोडसेडिङको समाचार टक्क काटेर घरको भित्तामा टाँसेर दैनिकी बनाउने हाम्रो दैनिकीमा पनि यही इमान्दारी नामको एन्टिभाइरसले सहजता ल्याएको होरे । अबको परिवर्तन यहि इमान्दारिताका लागि ।
…
परिवर्तन हुनु जरुरी छ । परिवर्तन विकासको आधार पनि हो । तर सबै परिवर्तनले विकास नै गर्छ भन्ने नहुन पनि सक्छ तर परिवर्तनले सकभर विनास गर्नु हुँदैन । प्रकृतिसँगको खेलवाड त पटक्कै गर्नु हुँदैन । विश्वका धेरै देश हरुले कल्पना नै गर्न नसकेका विकासहरु गरे । तर आफू र आफ्नो देशका लागि मात्र गरे । नत यो प्रकृतिका लागि गरे नत अन्य जीवजन्तुका लागि गरे । नत्र किन पृथ्वी यति साह्रो तात्दो हो । जलवायु परिवर्तनको यस्तो प्रतिकुल असर त्यसै आएको पक्क होइन होला ।
विश्वकति विकसित छ भन्ने कुरा त आज कोरोनाले पनि देखाइदियो । यतिका समय हुँदा पनि विश्वको नम्बर वान भन्ने देशहरुले पनि कोरोनालाई रोक्न सकिराखेका छैन । कोरोनाले संसारमा आफ्नो साम्राज्य लगभग फैलाउन सकिथाल्यो तर एक सेकेन्डमा विश्व ध्वस्त बनाउन सक्ने हतियार बनाएका महारथिहरुले पनि कोरोनासँग लड्ने अनि विजय प्राप्त गर्ने हतियार बनाउन सकेनान् । हामी भन्छौं नि हामी मानव प्रकृतिका सबैभन्दा चेनतशिल प्राणि हौ । हो साँच्चै रहेछौ । नत्र आफू नै सखाप हुने परिवर्तन कसले पो गर्छ र । यिनै परिवर्तनले आज सबै जलचर थलचर अनि सिंगो प्रकृति नै जोखिममा छ ।
…
धन्न हामी वीर गोर्खालीका सन्तानहरु माथि कोरोनाले आफ्नो कब्जा जमाउन सकिरहेको छैन । हो हामी उकाली ओराली हिँडेर, आटो पिठो खाएर, भन्ज्याङ अनि देउरालीसँगै लडिबुढी गरी हुर्केका सन्तान हौं । हामी प्रकृतिको स्वच्छ हावामा सास फेरिरहेका योद्धा हौं । जसको इम्युनिटी पावर धेरै छ रे । त्यसैले हामीलाई कोरोनाले छुन नसकेको भन्छन् धेरै । ठिकै होला यो पनि तर कोरोनाले पनि त आफूलाई अझ मजबुत बनाउँदै छ ।
त्यसैले कोरोनालाई जित्ने एउटै कडी भनेको सुरक्षित रहने घरभित्रै रहने, सफासुग्घर रहने हो । पहिला यो कोरोनालाई हराऔं अनि सबै जम्काभेट भएर विजय उत्सव मनाउँला । अबको लडाइँ पनि परिवर्तनकै लागि हो । आफू र आफ्नो प्रकृति बचाउन लागि हो । यस्ता भ्रष्टचार अनि कोरोना जस्ता जन्तुलाई सुली चढाउनका लागि हो । अबको लडाइँ पनि परिवर्तन कै लागि हो । प्रकृतिको सुन्दर उपहार नेपाल मात्र होइन सुन्दर प्रकृति नै बचाउनका लागि हो ।
तपाईको प्रतिक्रिया