तर धैर्य कहिलेसम्म ?

समाधान संवाददाता २०७६ चैत २६ गते १९:५८

विष्णु गुरुङ ‘एकता’

Advertisement

कोरोना भाइरसको संक्रमण तीब्र गतिमा विश्वभर फैलिरहेको छ। यसबाट विश्वका २०९ मुलुक प्रभावित भइसकेका छन् । नेपालमा पनि यसको प्रभाव बढेसंगै नेपाल सरकारले लकडाउन र अन्य कोरोना भाइरस नियन्त्रण र रोकथामका कार्यक्रमहरु अगाडि बढाइरहेको छ ।

यसै सन्दर्भमा सरकारको नियमलाई पालना गर्नु नागरिकको कर्तब्य हो तर अवस्था झन्–झन् प्रतिकूल हुदै जाँदा लाग्छ लकडाउनको लागि सरकार को तयारी प्रर्याप्त थियो त ?

दैनिक ज्यालादारीमा काम गर्ने व्यक्ति र परिवार, सुरक्षाको लागि गाउँ जान बाध्य हुने सहरका अस्थायी बासिन्दा माथिको प्रभाव छोटो समयको सूचनामा गरिएको सरकारको निर्णयले आँकलन गरेन कि भन्ने लाग्छ । त्यसको बाबजुत यस संकटकालीन अवस्थामा सरकारको घोषणालाई जनाताले नस्वीकार्ने कुरै भएन ।

आफ्नो सरकारको नियमलाई पालना गर्नु त्यहाँको नागरिकको कर्तब्य हो। त्यत्ति मात्र नभएर देश र समाजलाई आफ्नो मद्दत चाहिएको समयमा हरेक नागरिकले आ–आफ्नो तर्फबाट सक्ने उपायहरु अबलम्बन गर्नु जरुरि हुन्छ्र ।

Advertisement

कोरोना त्रासको अवस्थामा मेरो आफ्नै अनुभव र अनुभूतिको केहि कुरा राख्छु्र । म पर्यटन व्यवसायसँग संलग्न भएको कारणले निक्कै लामो अफसिजन पछि सिजनको लागि होटेललाई फेरी तयार गर्दै थिएँ । तर, अहिलेको सिजन तथा नेपाली नयाँ बर्षमा होटेल संघ गण्डकी प्रदेशको आयोजनामा हुने महोत्सवमा निक्कै रमाईलो साथै केहि आम्दानी गर्ने सपना केवल सपना नै रह्यो।

आखिर ज्यान भन्दा ठूलो कुरा केहि छैन फेरी यो संक्रमण अरु दुर्घटनाभन्दा फरक छ । यस अवस्थामा अहिलेको सानो लापर्बाही भोली ठूलो नोक्सान बेहोर्नुपर्छ । यो हामी सबैलाई बोध भएकै कुरा हो।

त्यसैले, जब नेपाल सरकारले लकडाउनको घोषणा गर्यो तब हामीले आफ्नो लागि र आपतकालिन स्थितिमा सहयोग गर्नुपर्ने र सक्ने अवस्था आयो भने भन्ने सोचेर केहि बोरा चामल, दाल, तेल, आलुप्याज र चाउचाउको सोज गरेर लकडाउनको लागि तयार भयौं । होटेलको कर्मचारीहरु घर नजिक हुनेहरु घरमा गए, घर टाढा हुनेहरु हामीसंगै बसे।

अगाडीको परिस्थितिलाई स्वीकारेर त्यसको आनन्द लिनु नै बुद्धिमानी हो जस्तो लाग्यो। सधै झैँ विहान उठे सुनसान शान्त वातावरणमा सूर्यदयको आनन्द लिँदै पुस्तक पढ्दै थिएँ, मनमा दृष्टि विहिन समूहको र एकल महिलाहरुको ख्याल आयो। फेवामार्ग टोल विकास संस्थाको अध्यक्षको हैसियतले वडाध्यक्षलाई फोन गरेर लकडाउन बारे नगरपालिका वा वडाबाट के कस्तो योजना छ विपन्न परिवारहरुको लागि भनेर सोधें।

अध्यक्षबाट त्यस्तो केहि पनि योजना नभएको जानकारी पाएँ। सम्बन्धित निकायबाट यस्तो जवाफ पाएपछि हामीले ती विपन्न परिवारहरुलाई एक नागरिकको हैसियतले सकेको सहयोग गर्यौं।

यस्तो परिस्थितमा भोलि गराैंला, मैले गरेर के हुन्छ र ? भन्नुभन्दा पनि के गर्न सकिन्छ त्यो महत्वपूर्ण हुन्छजस्तो लागेर ईष्टमित्र साथीहरुलाई फोन गरेर वा फेसबुकबाट लकडाउनलाई सफल पार्न के गर्नुपर्छ भन्ने सचेतनाका कुराहरु फैलाउन मदत गरे किनकि यस प्राण घातक भाइरसलाई अहिले नै राम्ररी चिन्न गल्ती गर्यो भने भोलि यसको शिकार हामी सबै हुन्छाैं।

दोस्रोपटक फेरी लकडाउन बढाउने समाचारसँगै वडाध्यक्षले विपन्न परिवारहरुको नामावली पठाईदिनु बैनि भनेर फोन गर्नुभयो । अति खुशी लाग्यो र मसँग भएका एकल महिला परिवार साथै अन्य विपन्न परिवारहरुको नामवली वडा सदस्य ज्यूलाई पठाएँ । लकडाउनको निक्कै दिन भैसकेको हुनाले मजदुर गरेर दैनिक जीवन गुजारा गरिरहेका परिवारलाई सहयोगको धेरै खाँचो र आशावादी हुनु स्वाभाविकै हो ।

केहि खबर नआए पछि मैले वडा सदस्य ज्यूलाई फोन गरें । जवाफमा नामवली नगरपालिकामा पठाएको र त्यहाँबाट के खबर आउँछ जानकारी गराैंला भनेपछि ठिकै हो जस्तो लाग्यो। दिन बित्दै गयो तर केहि खबर नआए पछि फेरी फोन गरें। जवाफमा पठाएका नामहरु सोचेभन्दा धेरै भएको र जसमा वास्तविक विपन्न परिवार भन्दा सम्पन्न परिवार बढी भएको आशंका भएको कुरा सुनेपछि म दंग परें ।

स्थानीय तहले आफ्नो तर्फबाट गर्दै गर्ला अहिलेको परिस्थितिमा हामीले सकेको गर्नुपर्छ भन्ने लाग्यो र केहि विश्वासिलो आफन्त र साथीहरुलाइ सम्पर्क गरें। मेरी बैनी कबिता गुरुङले लन्डनबाट केहि आर्थिक सहयोग गरिन् । जसको आधारमा हामीले लकडाउनको कारण दैनिक छाक टार्न गाह्रो भएका केहि परिवारलाई अत्यावश्यक खाद्य सामग्री वितरण गर्यौं।

हामी जति विकसित देश घुमे पनि फेरी फर्केर त्यहि आफूँ बसेको ठाउँ नै फर्किन्छौं । त्यसैले भनिएको होला आफ्नो समाजलाई विकास गर्न तिमीले मात्र सक्छौ भनेर । समुदायसंग सम्बन्धित सरसफाईदेखि सचेतनाका विभिन्न बिषयहरुमा छलफलका लागि वडा कार्यालयमा हामी गइरहनु पर्छ।

आफ्नो टोल सरसफाई राख्ने, टोल व्यवस्थित गर्ने साथै टोलमा सुखदुख साट्न टोल विकास संस्थाको स्थापना भएको हो। तर अहिले यस्तो संकटको घडीमा आफूले दिएको नामवलीमा सरकारको तर्फबाट कुनै खबर नआएको र उल्टै अध्यक्षहरुमा आशंका गरेको कुराले मलाई अचम्मित बनायो ।

कस्तो व्यवस्थाले समाज र देश चल्दा यस अवस्थाको लागि भनेर छुट्याएको करडौं बजेट बाटैमा हराउँछ। नेताहरुले दिएको आश्वासन बडो भरोसा लाग्दो सुन्छु तर संसारभरको मानव एक भएर मानवताको लडाई लड्नु परिरहेको, जीवन र मृत्यको बिचमा बाँच्न परिरहेको यस्तो अवस्थामा पनि ईमान्दारिता लिलाम गरिरहेकोजस्तो लाग्छ ।

विहान उठेर यसो झ्यालबाट बाहिर हेर्छु दिनरात गाडीको मारले थिचिरहेको सडक विश्राम गरिरहेको र सडकको बीचमा कुकुर भुक्दै हिंडेको अनि कागहरु कराईरहेको देख्छु । कोठाको झ्यालबाट सलल देखिने फेवाताल र रानीबनको मनमोहक दृश्य देख्दा मन आनन्दित हुन्छ । उत्तरतिर हेर्छु हिमाल शान्तसँग चाँदी झैँ टल्किरहेको देख्छु । फेरि आँखा घुमाउँछु । विश्व शान्ति स्तूपले धैर्यको सन्देश दिइरहे झैँ लाग्छ । तर धैर्य कहिलेसम्म ?



तपाईको प्रतिक्रिया