सटर भित्रको गौंथली–खै कहाँ छ आज

समाधान संवाददाता २०७६ चैत २७ गते ६:४५

विष्णु गाैतम

पत्रकार गौतमको लकडाउन डायरी

उपर दलिनमा गौंथली बस्दा
तलतिर त्यसको मैला खस्दा
म उठें सहसा रिसले जागि
त्यो गुँड भत्काउनका लागि ।

Advertisement

कविशिरोमणि लेखनाथ पौड्यालले लेखेको ‘गौथली बोल्यो चिरिबिरी च्यार्र’ शीर्षकको कवितामा जसरी रिस उठेको छ त्यो भन्दा बढी आज मलाई त्यो जोडी गौंथलीप्रति माया र उसको आवाज, उसले गर्ने फोहरको नोस्टाल्जिया बढेको छ, अमेरिका, स्पेन र इटालीमा कोरनाको संक्रमण बढेझैं ।


घरको बाहिर पट्टिको सटरमा बसेको १ जोडी गौथलीको आज अनायासै याद आयो । सटर नखोलिएको आज १७ दिन भयो तर त्यो जोडी गौथली कहाँ गयो होला अनि के गरे होला ? मनमा यहि कुराले कोरना संक्रमणभन्दा ठूलो ढ्यांग्रो ठोकेको छ । हतार हतार मनमा यो कुरा खेल्न नपाउँदै ढोका खोल्दै मोबाइलको उत्यालोको सहायताले सिएफएलको स्बिच अन गरे तर अहँ… आज बत्तीको उज्यालोसँगै चिरबिर आवाजले कोठा गुञ्जाउने त्यो जोडीको साइँसुइँ छैन । हत्तपत्त बाघ आँखा झैं त्यहि जोडीको गँुड हेरे अनि गुँड तल बिहान उठ्दा सेतो बिस्टाले भरिने टेबुलको पत्रिका हेरें, तर आज बिष्टा थिएन ।

Advertisement

सरकारी घोषणासँगै आफ्नो बसाइँ छोडेर सयरमा निस्केको गौथली जोडीझैं चाइनाबाट सुरु भएको कोरना अहिले पश्चिमा मुलुकहरुमा महामारीको रुपमा सयर गरेको छ । त्यो पनि बिना भिसा बिना टिकट व्रह्माण्ड घुम्ने अभियानमा छ । छिमेकी मुलुक भए पनि नेपालमा भने चाइनावाट प्रवेश गरेको छैन । तर युरोप र दक्षिणी मुलुक भारत र खाडी मुलुकबाट नेपाल भित्रिएको छ ।

संसार घुमेर पूरै विश्वको जनसंख्यालाई नै त्राही–त्राही पारेको कोरनाले प्रत्येक मान्छेको नारी छामेर डुल्दा पनि मेरो कोठाबाट निस्केको गौंथली फर्केको छैन । उसको आवाजले बिहान भएको संकेत गथ्र्यो भने बेलुकी सटरभित्र भुर्रर उडेर आएपछि कमाउन निस्केका परिवारका सदस्यहरु पनि घर आउँछन् भन्ने आशमा बस्ने मेरी छोरीलाई पनि आज भोलि त्यो याद बिर्सिसकिन् होली । किनभने विगत १७ दिनमा १७ सेकेन्ड पनि उनि मबाट टाढा छैनन् । आज भोलि उनलाई म नजिक हुँदाको मोह हराउन थालेको छ त्यसैले आज भोलि उनको डिमान्ड मोबाइलनै भएको छ । यो मेरो मात्रै अनुुभव पक्कै पनि होइन ।

चैत महिना, मेरो जन्म महिनासँगै अझ भनौं मेरो जन्म दिन देखिनै लकडाउन शव्दले त्रसित बनाएको थियो । त्यो दिन मैले सोचेको थिए –‘बा…..बा…. लकडाउन ! अब नेपालमा पनि कोरनाले मार्ने भयो । २ हप्ताको बीचमा नेपालमा जम्मा ९ जनामा मात्रै कारनाको संक्रमण देखिएको छ । जसमा १ जना पूर्णरुपमा निको भएर घर फर्केका छन् भने अरु विशेष सुरक्षित स्थान, क्वारेन्टाइनमा छन् । यो अर्थले हामी निकै भाग्यमानी नै मान्नुपर्छ ।


आज भोलि फेरिएको दैनिकीले टोलकाहरु पनि कानेखुसी गर्न थालेका छन् पत्रकारलाई त हिँड्न दिन्छन् भनेका छन् तर फलानो त दिनभरि घरमै बसेको छ त ?

नेपालमा कोरनाको संक्रमण नबढ्नुुलाई मेरी आमाले भन्ने कुरालाई सम्झिएको छुु । उहाँ भन्नुहुन्थ्यो– ‘बाबु कतै निस्कदा सूर्य र शिवबाबालाई सम्झेर हिँड ।’
७ समुन्द्र पारिका मान्छेलाई ठाउँको ठाउँ लडाएको कोरनाले छिमेकमै रहेका हामीमा साइँसुुइँ छैन, के हामीलाई तिनै पशुपतिनाथ र विन्ध्यवासिनीले नै बचाएर हो त ? हामीमा पनि पश्चिमा मुलकहरुमा जस्तो भयो भने हामीले के गरौला ? कल्पना गर्दा पनि आँङ नै सिरिङ्ग हुन्छ । अनि भन्न मन लाग्छ भगवान हामीले केही त्यस्तो गल्ती गरेका छैनौं नेपालमा कसैको ज्यान नजाओस् ।

पेसाले सञ्चारकर्मी अनि मलाई यो बेला सञ्चारकर्ममा रमाएकी विश्वभर बेफिक्री घुमेको कोरनाको त्रासमा सरकारी अनुरोध मान्दै चौघेरोमा रमाऊँ ? लकडाउनको पहिलो दिन मनमा आयो ‘बाँच्दै रहे नाच्दै गरौला’ अनि सरकारको आज्ञाकारी नागरिक बन्दै पत्रकारिताको कलम र क्यामेरा दराजको कुनामा थन्काएको आज ठ्याक्कै १७ दिन भयो ।

फेसबुकको बजारमा म कमजोर पत्रकार भएको पनि ठ्याक्कै १७ दिन भयो । यी २ हप्तामा न कुनै समाचार न त सुनसान सडकको सेल्फी पोस्ट । अप्ठेरो अवस्थामा बजारमा नदेखिने सञ्चारकर्मी वास्तविक पत्रकार नहुने पुरानो चलन पोखरामा पनि अत्याधिक छ । त्यसैले सरकारले तेस्रो पटक समय थपेर लकडाउनलाई निरन्तरता दिएपछि पत्रकारिताको बजारमा ज्युँदो रहेको प्रमाण पेस मात्रै गरेको हो ।

अन्य बेलामा बिहानै गौंथलीको पहिलो चिरबिरीसँगै घरबाट निस्कने म बेलुकी पूरै टोल सुतेपछि मात्रै फर्कन्थें । तर आज भोलि फेरिएको दैनिकीले टोलकाहरु पनि कानेखुसी गर्न थालेका छन् पत्रकारलाई त हिँड्न दिन्छन् भनेका छन् तर फलानो त दिनभरि घरमै बसेको छ त ? कसैले सुनाए पनि मैले दिने सहज जवाफ छ बाँचे पछि संसार भोगिन्छ । समाचार त लख्दै गरौंला नि ।

खै तपाईंहरुको घरमा त के छ तर मेरो घरमा त पुराना डोको तेर्साएर बाहिर निस्कन र बाहिरका मान्छे प्रवेश गर्न निषेध छ । आखिर औषधी नभएको रोगबाट बच्नका लागि हामी नागरिकले अपनाउने सबैभन्दा उत्तम विधि यहि त हो नि हैन र ? दैनिक कम्तीमा पनि १० पटक साबुन पानीले हात धुने । अँ साँच्ची सम्झना आयो हात पनि कसरी धुने ? मेरी ५ वर्षकी छोरीको आइडियालाई पछ्याउने हो भने ठिकै होला । उनी भन्छिन्, ‘साबुन लगाउने अनि सयौं थुँगा फूलका हामी…. गाएर सकेपछि पखाल्ने, गीत पनि कण्ठ हात पनि राम्रोसँग धोइने ।’ छोरीको आइडिया देखेर भन्न मन लाग्छ जति पछिल्लो जेनेरेसन त्यति स्मार्ट जेनेरेसन त्यसै भनिएको होइन ।

संसार हल्लाउन सफल त्यो कोरानाको त्रासदीको क्षतिलाई तेस्रो विश्वयुद्धको संज्ञा दिए पनि मलाई भने आफ्नै ज्यान र मेरो सटर कोठामा विगत १४ दिनदेखि हराएको त्यहि गाैंथलीको जोडी नै सबभन्दा प्यारो लागेको छ । मैले बुुझेको पत्रकारिता पनि यहि हो प्रत्येक मान्छे आफ्नो, आफन्त र आफूले चिनेको व्यक्ति र स्थानको बारेमा जानकारी लिन खोज्छ ।

सञ्चारमाध्यमवाट पनि यस्तै कुराहरुको अपेक्षा गर्छ । आज भोलि मैले अपेक्षा गर्ने समाचारहरु पनि यस्तै छन् । कुनै बहादुर अनलाइन नै सही मेरो घरबाट १७ दिन अगाडि हराएको गाैंथलीको समाचार लेखिदियोस्– ‘विष्णुको घरबाट लापत्ता गौंथली जोडी फलानो स्थानमा बिन्दास छ ।’

तपाईको प्रतिक्रिया