कोरोनाका कारण बेलायतमा पर्वतका चेतप्रसाद गुरुङसहित ५ काे मृत्यु

समाधान संवाददाता २०७६ चैत २७ गते ११:२३

बेलायत

बेलायतको लण्डनमा बस्दै आएका एक भूपू गोरखा सैनिकको कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ । पर्वत स्थायी घर भएका ५९ वर्षीय चेतप्रसाद गुरुङको गएराति लण्डनको नर्थविक पार्क अस्पतालमा निधन भएको हो ।

तमुधीं युकेको लण्डन शाखाका वरिष्ठ उपाध्यक्ष गुरुङ समाजसेवामा सक्रिय थिए । करिब २ सातादेखि ज्वरो आएपछि चिकित्सकको सल्लाहअनुसार गुरुङ घरैमा आइसोलेसनमा बस्दै आएका थियो ।

श्वासप्रश्वासमा समस्या भएपछि उनलाई आकस्मिक कक्षमा राखी पछि वार्डमा सारिएको थियो । भर्ना गरेको २ दिनपछिबाट उनको स्वास्थ निकै खराब भएपछि भेन्टिलेटरमा राखिएको थियो । लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता एवं उपनियोग प्रमुख शरदराज आरणले मृतक गुरुङको परिवार र सम्बनिधत संस्थालाई निधनबारे जानकारी गराएका थिए ।

Advertisement

यसैगरी बेलायतको नटिङहममा बस्दै आएका अर्का पूर्व गोर्खाको पनि बुधबार नै निधन भएको हो। ५८ वर्षीय  शिव श्रेष्ठको स्थानीय अस्पतालमा ज्यान गएको हो। केही दिनदेखि घरमै आइसोलेसनमा बस्दै आएका श्रेष्ठलाई श्वासप्रश्वासमा गाह्रो  भएपछि बुधबार बिहान अस्पताल भर्ना गरिएको थियो।

त्यसैगरी नर्थविक अस्पतालमा बुधबार अर्का एक नेपालीको पनि निधन भएको छ। परिवार भेट्न बेलायत आएका अन्दाजी ७६ वर्षका वृद्धको कोरोनाकै कारणबाट मृत्यु भएको उनी निकट पारिवारिक श्रोतले बताएको छ।

Advertisement

विगत ४ दिनदेखि  उपचाररत उनको बुधबार उनी उपचाररत अस्पतालले फोन गरेर बचाउन नसकिएको जानकारी गरेको बताइएको छ। उनको त्यहाँ चार दिनदेखि उपचार भइरहेको थियो। परिवारको अनुरोधमा उनको  परिचय खुलाइएको छैन।

यसअघि पनि बेलायतको लन्डनमा बस्दै आएका एक पूर्व ब्रिटिश गाेर्खा सैनिक रहेका नेपालीको कोरोना भाइरसका कारण मृत्यु भइसकेकाे छ । लन्डनको साउथ ह्यारोमा बस्दै आएका ६६ वर्षीय पूर्व गोर्खा सैनिक लीलाबहादुर राईको चैतकाे अन्तिममा मृत्यु भएको हो । उनी संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका–१० का स्थायी बासिन्दा हुन् ।

४० वर्षीय प्रशान्त अर्यालको २ साताअघि काेराेनाकै कारण निधन भएको थियो।

तपाईको प्रतिक्रिया