काेराेना संक्रमित अंशुलाई मुख्यमन्त्रीले भने : रोग निख्रेपछि बल्ल घर जानुपर्छ

समाधान संवाददाता २०७६ चैत २७ गते १२:२५

अंशुले भनिन् : डाक्टर काेठामा आउँदैनन, फाेनबाटै जानकारी लिन्छन्

पोखरा

धौलागिरी अस्पतालमा उपचाररत १९ वर्षीय अंशु सापकोटासँग गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार बिहान कुराकानी गरेका छन् ।
कोरोना संक्रमण देखिएपछ १९ वर्षे सापकोटा धौलागिरी अस्पतालमा उपचाररत छन् ।

बिहीबार बिहान मुख्यमन्त्री गुरुङले फोन गरेर स्वास्थ्य अवस्थाका बारे जानकारी लिँदै ढुक्क भएर बस्न आग्रह गरेका हुन् ।

Advertisement


मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेका अनुसार अंशुले आफ्नो स्वास्थ्य अवस्था सुधार हुँदै गएको र चिकित्सकले फोनमार्फत जानकारी लिइरहेको बताएकी छन् ।

डाक्टर दिनमा कतिपटक आउँछन् भन्ने प्रश्नमा अंशुले अहिलेसम्म डाक्टर आफू बसकाे काेठामा नआएकाे र फाेनमा मात्र कुरा भएकाे बताएकी हुन् ।

Advertisement

मुख्यमन्त्रीले दाेहाेर्‍याएरै साेधेका थिए, अंशुले पनि अहिलेसम्म डाक्टरले आफूलाई नभेटेकाे बताइन्।


मुख्यमन्त्री गुरुङले सापकोटासँगको कुराकानीमा मन दह्रो गरेर बसे छिटै निको हुने बताएका छन् । उनले भनेका छन्, रोग निख्रेपछि मात्र घर जानुपर्छ, १४ दिन भनेर मात्र हुँदैन, पूरै निको भएपछि घर गए ढुक्क हुन्छ ।


मुख्यमन्त्री गुरुङले नियमित रुपमा तातोपानी पिउन पनि उनलाई सुझाव दिएका छन् । बेल्जियमबाट कतार हुँदै काठमाडौं बाग्लुङ पुगेकी अंशुमा कोरोना संक्रमण देखिएको थियो । उनीसँगै आएकी बागलुङकै अर्की महिलामा पनि कोरोना संक्रमण देखिएको छ । दुवै जना अहिले धौलागिरी अस्पतालको आइसोलेसन वार्डमा छन् ।

तपाईको प्रतिक्रिया