बलात्कारको आरोप लगाउँदा जेल परिन्, कोरोनाले गर्दा छुटिन्

समाधान संवाददाता २०७६ चैत २८ गते १८:३७

अनुप पौडेल, पोखरा

पोहोर साल ३ मंसिरमा कास्की जिल्ला अदालतमा एउटा मुद्दा प¥यो । मुद्दा जबरजस्ती करणी र चोरीको थियो । स्याङ्जा घर भई पोखरा बस्दै आएकी एक युवतीले प्रहरीमा दिएको जाहेरीको आधारमा सरकारी वकिलको कार्यालयले रुपन्देही घर भएका युवकलाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको थियो ।

७ महिनापछि गत ४ असारमा जिल्ला अदालत कास्कीले उक्त मुद्दामा फैसला सुनायो । न्यायाधीश काजीबहादुर राईले अभियोग दाबी नपुगेको भन्दै फैसला सुनाए । झुठो आरोप लगाएको भन्दै अदालतले उनलाई १ महिना कैद सजाय सुनायो । १ महिने सजाय भुक्तान गर्न उनी यही ५ चैतमा जिल्ला कारागार कास्की चलान भइन् ।

Advertisement

उनी कारागार चलान हुँदा नेपालमा १ जनामा मात्र कोरोना देखिएको थियो । तर त्यसले विश्वभर महामारीको रुप लिन थालेपछि नेपालीमा पनि त्रासको वातावरण बन्न थाल्यो ।

कारागार चलान भएको पर्सिपल्ट सर्वोच्च अदालतको पूर्ण बैठकले प्रति दिनको ३ सय रुपैयाँ तिरेर कैद सजाय किन्न सक्ने व्यवस्था लागू गर्ने निर्णय ग¥यो ।क्षमताभन्दा बढी बन्दी कारागारमा रहँदा कोरोना संक्रमण फैलिए भयावह स्थिति आउन सक्ने भनेर गरिएको त्यो निर्णयले ती युवतीलाई चिठ्ठा परेजस्तै भयो ।

Advertisement

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५५ अनुसार उनले कैद माफी पाउँ भन्दै जिल्ला अदालत कास्कीमा निवेदन दिइन् । अदालतले कैद माफी दिन उपयुक्त देखेपछि अन्ततः उनी कैद भुक्तान गर्न पुगेको पाँचौ दिन कारागारबाट बिदा भइन् । उनी लकडाउनको अघिल्लो दिन ७ हजार ५ सय तिरेर छुटेकी हुन् ।

सर्वोच्चले गरेको सो निर्णयका कारण कास्की कारागारबाट १२ बन्दीले मुक्ति पाएका छन् । जेलर गणेश गौतमका अनुसार विभिन्न मुद्धामा जेल जीवन बिताइरहेका १० पुरुष र २ महिलाले कैद किनेका हुन् । कैद किन्नेमा लागूऔषध गाँजा मुद्दाका ५, चोरीका २, जबरजस्ती करणी, डाँका चोरी, बहुविवाह र सरकारी छाप दस्तखात दुरुपयोगका क्रमशः १/१ जना रहेको उनले जानकारी दिए ।

‘त्यसरी छुट्नुपर्ने १६ जना भएपनि ३ जनालाई अदालतले नछोड्न आदेश दियो । बाँकी १ जना छुट्ने प्रक्रियामा हुनुहुन्छ,’ उनले भने । कारागारमा अहिले १ वर्षे कैद भुक्तान गरिरहेका झन्डै ६० जना छन् । तर, पटके कसुरदार भएकाले उनीहरुले कैद किन्न पाएनन् । कारागारमा ८ सय ६९ कसुरदारले कैद भुक्तान गररहेका छन् । त्यसमा ८०१ पुरुष, ६६ महिला र २ बालबालिका छन् ।

तपाईको प्रतिक्रिया