कोरोना बिरामीकाे अवस्था बुझ्न मुख्यमन्त्री गुरुङ बागलुङमा

समाधान संवाददाता २०७६ चैत २८ गते १८:३८

बागलुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले धौलागिरी अञ्चल अस्पताल बागलुङको आज स्थलगत अवलोकन तथा निरीक्षण गर्नुभएको छ ।

सो अवसरमा उहाँले कोरोना भाइरस सङ्क्रमितको उपचारको अवस्था, प्रदान गर्ने सेवा सुविधा, व्यवस्थापकीय क्षमता र अस्पतालका समस्याका बारेमा जानकारी लिनुभयो । सो अस्पतालमा दुई जना सङ्क्रमितले उपचार गराइरहेको अस्पतालले जनाएको छ ।

Advertisement

मुख्यमन्त्री गुरुङले कोरोना भाइरसविरुद्ध एकजुट भएर सबै लाग्नुपर्ने आवश्यकता औल्याउँदै कोरोना भाइरसबाट सङ्क्रमितको उपचारमा कुनै कमी हुन नदिन अस्पताललाई प्रशासनलाई निर्देशन दिनुभयो । “प्रदेश सरकारले आवश्यक स्रोत र साधनको व्यवस्था गरेको छ” उहाँले भन्नुभयो, “अस्पतालले बिरामीको उपचार र कोरोना रोकथामका लागि प्रभावकारी भूमिका निर्वाह गर्न सक्नुपर्छ ।”

मुख्यमन्त्री गुरुङले उपचारका क्रममा भएका जटिलता तथा आवश्यक उपकरणका विषयमा प्रदेश सरकार जानकार रहेको उल्लेख गर्दै आवश्यक उपकरण तथा दरबन्दी मिलानका लागि गृहकार्य भइरहेको बताउनुभयो ।

Advertisement

प्रदेश सरकारले धौलागिरी अस्पताललाई अत्यन्त महत्व दिएर सहयोग गरिरहेको उल्लेख गर्दै उहाँले सङ्क्रमितको उपचारमा कुनै कसर बाँकी नराख्न चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आग्रह पनि गर्नुभयो ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी राना, मेडिकल सुपरिटेन्डेण्ट डा. शैलेन्द्र बि. पोख्रेल, फिजिसियन डा. प्रदिप श्रेष्ठले सङ्क्रमित बिरामीका बारेमा जानकारी गराउँदै अस्पतालले भोगिरहेको समस्या र चुनौतीका बारेमा मुख्यमन्त्री गुरुङको ध्यानार्कषण गराउनुभयो ।

मुख्यमन्त्री गुरुङले चार शय्याको आइसोलेसन कक्ष विस्तार गर्न अस्पताललाई आग्रह गर्नुभयो । अहिले अस्पतालको आइसोलेसन वार्डमा एक युवती र एक वृद्धा सङ्क्रमितको उपचार भइरहेको छ । हाल दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । गण्डकी प्रदेश सरकारले कोरोना उपचारका लागि सो अस्पताललाई एक भेन्टिलेटर प्रदान गरिसकेको छ भने सघन उपचार कक्ष निर्माणका लागि वजेट विनियोजन गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया