सुनसान लेकसाइड, निशब्द फेवा

समाधान संवाददाता २०७६ चैत २९ गते ७:५३

अनिशा श्रेष्ठ


महेन्द्रपुलबाट लेकसाइड पुग्न पोहोर आजकै दिन कम्तीमा ५ ठाउँमा ट्राफिक चेकिङ पर्थ्याे । ठाउँठाउँमा स्कुटरमा ब्रेक लगाइरहनुपर्ने । अनि ५० औं पटक हर्न लगाउनु पर्थ्याे । फुटपाथ छाडेर सडकमै हिँड्ने अनि लेन मिचेर गाडी चलाउनेहरुसँग रातो मुख लगाउनु पर्थ्याे । किन भने नयाँ वर्षको आसपासमा लेकसाइडमा उस्तै भीडभाड हुन्थ्यो ।

पोहोरको त्यो रमझम र भीडभाड सम्झँदा अहिले सपनाजस्तो लाग्छ । रातभर जाग्ने लेकसाइड अहिले दिनमै सुस्ताएको छ । चुपचाप लम्पसार परिरहेको छ । त्यसो त पोखराको लेकसाइडमात्र होइन नेपाल र विश्वका सबै बजार अहिले सुनसान र चकमन्न छन् । मानव हितका लागि लकडाउन नै उत्तम विकल्प हो कोरोना परास्त पार्नका लागि ।

तर पनि मन न हो लेकसाइडको यो खालको शून्यता देख्दा कताकता अमिलोपन बढेको महसुस हुन्छ । राजनीतिक दलहरुले गर्ने बन्द होस वा लोकतान्त्रिक परिवर्तनका लागि भएका आन्दोलनका बेला पनि लेकसाइड सुनसान नै हुन्थ्यो । तर त्यतिबेलाका बन्द अहिलेको जस्तो प्रतिक्रियाविहीन र आशाविहीन थिएनन् । ती आन्दोलनसँग मुलुककै भविष्य जोडिएको थियो । तर अहिलेको बन्दले लेकसाइड, पोखरा, नेपाल र विश्वको अर्थतन्त्रलाई कहाँ लगेर पछार्ने हो भन्ने बारेमा कोही कसैले अनुमान लगाउन सक्ने अवस्था नै छैन ।


सुनसान फेवाको किनारमा निकै परसम्म हेरें अहँ… त्यो झिल्के मेड इन नेपालवाला बोट देखिएन ।

पोखरामै जन्मेर लेकसाइड थाहा पाए देखिनै यस्तो सन्नाटा कहिल्यै देखिएको थिएन । तर अहिलेको जस्तो दृश्य देखिएको थिएन । वास्तविक दृश्य स्वीकार गर्न अझै मन तयार छैन ।

यो वर्ष सडकमा न ट्राफिक प्रहरी न गाडीको भीडभाड । एक सासमा पुगियो लेकसाइड । चाँडो पुुग्नु पनि कुनै कुनै समयमा विडम्वना जस्तै हुन्छ । तर हामी तुलनात्मक रुपमा भाग्यमानी छौं । कारण उही हो विश्वव्यापी महामारी कोरना । सरकारले सबैलाई घरको चौघेरोबाट बाहिर निस्कन प्रतिवन्ध गरेको आज १९ दिन भयो । त्यसैले पनि विदेशी र नेपाली पर्यटकहरुले ओइरो लाग्ने लेकसाइड अहिले सुनसान । पोखरा बजारबाट सिधै हल्लनचोकमा पुुगेपछि मात्रै मेरो स्कुटरको ब्रेक लगाउनु प¥र्यो । झट्ट दिमागको कुरालाई मनले नकार्दै भन्यो, अहिले लेकसाइड बजार स्थानान्तरण त भएको छैन नि ड्यामसाइडबाट बैदाम सरे झैं ।’

बिहान ११ बजेको थियो होला म त्यो ठाउँमा पुुग्दा, किनभने अहिले म विहान १० बजे खाना खान्छु । बाबुको स्कुल बन्द छ विगत १ महिनादेखि । नत्र त बिहान नौ बजे नै खाना खाइन्थ्यो । त्यसैले खाना खाने बित्तिकै सामान्य वहाना बनाएर मनको चाहना पूरा गर्नै मात्रै हल्लनचोक पुुग्दा बज्ने भनेको बढीमा ११ नै हो । जब लेकसाइड पुगें झट्ट दिमागमा आयो, त्यो झिल्के र रातो रंगको छाप्री हालिएको फेमिलि बोट ।

संजोग भनांै कि खै के हो, पछिल्ला ४ पटकको फेवा बोटिङ र ताल वाराही मन्दिरको दर्शनमा त्यहि झिल्के फेमिलीबोटमा यात्रा गरियो । लगातारको यात्राले गर्दा पनि होला त्यसका चालकसँग पनि चिनजान नै भएको थियो । वर्दियाका चौधरी विगत १७ वर्ष देखि यही पेसामा रमाएका । दिमागमा हान्यो त्यो डुंगा अहिले के गर्दै होला है फेवा संसारमा ? कि कोरना झै बिना नियन्त्रण त कुदेको छैन नि ? न त विश्वमा कोरोनाको औषधी पत्ता लागेर कोरोना नियन्त्रणमा आएको छ न त फेवाको त्यो बोट मनले यस्तै यस्तै सोच्यो । अनि जान मन लाग्यो वारही घाटमा त्यहि बोट हेर्न ।

सुनसान फेवाको किनारमा निकै परसम्म हेरें अहँ… त्यो झिल्के मेड इन नेपालवाला बोट देखिएन । तेस्रो पटकको यात्रामा ती चौधरी थरका चालकले ठट्टा गर्दै भनेका थिए, ‘मैले पाइला टेक्दा यो बच्चै थियो यो अहिले मर्ने बेलाको भयो तर पनि म भन्दा बलियो छ ।’ मनमा चिसो पस्यो कोरोनाले बृद्ध मानिससँगै फेवातालको वृद्ध मेड इन नेपाल त लगेन नि ? सोच्न थालें त्यसका चालक चौधरी के गर्दै होलान् । पोखरामै छन् कि वर्दिया पुगे होलान् ? कि त्यहि डुुंगा झै…. ?
त्यहिँ नजिकै सडकमा सवारी गुडाएर गुजारा गरेकाहरु अनि ताल र माछापुुच्छ«ेको तस्बिर बेचेर गुजारा गरेकाहरु पनि के खाएर बाँचेका होलान् ? सरकारले घरबाट बाहिर निस्कन प्रतिवन्ध गरेको आज १९ दिन भयो नि त ।

एक तमासले मनको कुरा सन्दा सुन्दै अनायासै कानमा सुनियो छत्ल्याङ छत्ल्याङ आवाज । सायद फेवातालको पानीले पनि मलाई चिन्यो र आफ्नो भाषामा नि भनेको होला कृपया यो कोरनाबाट म पनि बँच्न चाहन्छु त्यसैले मलाई पनि तिमी सँगै लग । मन एकोहोरो भयो अनि आँखा पनि चिसो चिसो हुुँदै गाला भिज्दै त्यहि तालमा समाहित हुन मन लाग्यो ।

यहि बन्दको बेला फेसबुकतिर कतै पढेको थिएँ ‘रोएर ताल भर्न त नसकिएला तर प्रत्येक आशुुका थोपामा एक समुद्र हुन्छ ।’ यस्तै यस्तै केही । केही पर तालको बीचमा रहेको त्यहि तालवाराही मन्दिरतिर फर्केर हात जोर्दै भनें हे भगवान ताल, पानी र मन्दिरसँग जोडिएका कसैलाई पनि कोरना नदेखियोस् ।

तपाईको प्रतिक्रिया