युरोपका नेपाली राजदूतको १ महिनाको तलब राहत कोषमा

समाधान संवाददाता २०७६ चैत २९ गते १३:३३

महेशकुमार खाती कोपनहेगन

Advertisement

युरोपका विभिन्न देशका नेपाली राजदूतले १ महिनाको तलब कोरोना विरुद्धको केन्द्रीय राहत कोषमा प्रदान गर्ने भएका छन् । ९ देशका राजदूतले नेपाल सरकारले स्थापना गरेको केन्द्रीय राहत कोषमा तलब उपलब्ध गराउने शुक्रवार भएको भिडियो बैठकबाट निर्णय गरेका हुन् ।

राहत कोषमा रकम जम्मा गर्ने नेपाली राजदूतहरुमा जर्मनीका रमेश खनाल, डेनमार्कका युवनाथ लम्साल, बेल्जियमका लोकबहादुर थापा, अष्ट्रियाका प्रकाश सुवेदी, फ़्रान्सका दीपक अधिकारी, स्विजरल्याडका मणि भट्टराई, युकेका दुर्गाबहादुर सुवेदी, रसियाका ऋषि घिमिरे र स्पेनकी दावा शेर्पा छन् ।

भिडियो बैठकमा उनीहरुबिच युरोपका नेपालीहरुलाई कोरोना भाइरसले पारेको असरबारेमा पनि छलफल भएको थियो । डेनमार्कका लागि नेपाली राजदूत लम्सालले युरोपमा रहेका नेपाली समुदायलाई सुरक्षित रहन र एकआपसमा सहयोग आदानप्रदान गर्न अनुरोध गरिएको जानकारी दिए । ‘युरोपका बिभिन्न देशमा रहेका राजदूतहरुको भिडियो बैठकमा यहाँका नेपालीहरुको अवस्था बारेमा छलफल भयो,’ लम्सालले भने, ‘१ महिनाको तलब राहत कोषमा प्रदान गर्ने र नेपाली समुदायलाई सुरक्षित रहन अनुरोध गरेका छौं ।’

Advertisement

तपाईको प्रतिक्रिया