भेन्टिलेटरको काम के हो ? गण्डकीमा अवस्था यस्तो छ

समाधान संवाददाता २०७६ चैत २९ गते १३:३७

ईश्वर देवकाटा
पोखरा


विश्वभर कोरोना भाइरस (कोभिड–१९)को संक्रमण तीब्र गतिमा फैलिएको छ । संक्रमणको प्रभावसँगै विश्वभर नै यसको उपचार प्रक्रियामा झन् जटिल स्थिति देखा पर्दै गइरहेको छ ।


विश्व स्वास्थ्य संगठनले विश्व नै स्वास्थ्य आपत्कालको घोषणा गरिसक्दा नेपालमा कोरोना रोकथामको लागि कुनै तयारी नै थिएन । त्यसको प्रत्यक्ष प्रभाव स्वास्थ्य सामग्री अभावमा देखिएको छ । स्वास्थ्यकर्मीले प्रयोग गर्ने अत्यावश्यक पिपिई, मास्क सहित मेडिकल उपकरणमा भइरहेको अभावले पनि नेपालको स्वास्थ्य पूर्वाधारको अवस्था प्रस्तुत गरिरहेको छ ।

Advertisement


भेन्टिलेटरको आवश्यकता पर्ने जटिल अवस्थाका बिरामीलाई उपचारका लागि गण्डकीमा ५४ वटा उपलब्ध छन् ।

तर नेपालमा कुनै पनि संक्रमण जटिल अवस्थामा पुगिसकेको भने छैन । हालसम्म संक्रमित ९ जनाको स्वास्थ्य अवस्था सामान्य अवस्थामा रहँदा आगामी दिनमा ढुक्कसाथ बस्ने स्थिति भने नरहेको विशेषज्ञहरुले चेतावनी दिँदै आएका छन् ।
कोरोना प्रकोप देखिएसँगै यसका संक्रमितहरुको उपचारका लागि अत्यावश्यक बनेको भेन्टिलेटरको बारेमा अहिले मेडिकल क्षेत्रमा चर्चा छ । संक्रमितको उपचारका लागि अनिवार्य भेन्टिलेटरको प्रबन्ध गर्नसमेत स्वास्थ्य विशेषज्ञले सल्लाह दिँदै आएका छन् ।

Advertisement


कोरोना संक्रमितको विशेषगरी फोक्सोमा समस्या देखिने भएकाले श्वासप्रश्वासका लागि भेन्टिलेटरको आवश्यकता औल्याइएको छ । भेन्टिलेटर मेसिनबाट सहज श्वासप्रश्वास गराई बिरामीलाई सामान्य अवस्थामा राखिरहन मद्दत गर्दछ । फोक्सोसम्म अक्सिजन पु¥याउने र कार्बनडाइअक्साइड बाहिर निकाल्ने हुँदा फोक्सोले औसतभन्दा कम क्षमतामा काम गरिरहेको अवस्थामा भेन्टिलेटरको आवश्यकता पर्दछ ।


विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाका ८० प्रतिशत बिरामीहरु अस्पतालको उपचार बिना नै ठिक भएका छन् । तर, त्यस्ता ५ बिरामीमध्ये १ जना गम्भीर बिरामी फेला पर्दा उनीहरुलाई भेन्टिलेटरको आवश्यकता परेको बताएको छ ।
कोरोना संक्रमित बिरामीलाई भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्दाको अवस्थामा फर्केर आउने सम्भावना कम रहने चर्चा सुनिए पनि डब्लुएचओले यसमा सत्यता नभएको बताएको छ । भेन्टिलेटरले समग्रमा फोक्सोको काम गर्ने हुँदा बिरामीलाई जीवन राहत दिने मेसिनको रुपमा मानिन्छ ।

गण्डकीमा ५४ वटा भेन्टिलेटर

भेन्टिलेटरको आवश्यकता पर्ने जटिल अवस्थाका बिरामीलाई उपचारका लागि गण्डकीमा ५४ वटा उपलब्ध छन् । सरकारीभन्दा निजी अस्पतालमा यसको प्रबन्ध राम्रो देखिएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीको अभिलेखअनुसार प्रदेशकै ठूलो सरकारी स्वास्थ्य संस्था पश्मिाञ्चल क्षेत्रीय अस्पतालमा २ वटा भेन्टिलेटर छ ।

निजीस्तरबाट सञ्चालित मणिपालमा भने १५ वटा भेन्टिलेटर रहेको निर्देशनालयका स्वास्थ्य शिक्षा प्रशिक्षक नवराज शर्माले जानकारी दिए । गण्डकी मेडिकल कलेजमा १०, चरक मेमोरियल अस्पतालमा ६ वटा भेन्टिलेटर छन् । गण्डकी प्रदेशमा आइसियु बेड क्षमता भने १ सय ३३ वटा छन् ।

तपाईको प्रतिक्रिया