लकडाउन नभए नि अब हप्तामा १ दिन घरमै बस्छु

समाधान संवाददाता २०७६ चैत २९ गते १५:२८

विष्णु ढकाल

लकडाउनले दैनिकी नै परिवर्तन भयो । कहिल्यै कसैले सोचेका थिएनौं यसरी ठप्प भइन्छ भनेर । कतिलाई अब के खाने भन्नेसमस्या होला, कतिलाई व्यापारमा लागेको घाटाको चिन्ता होला । तर स्वास्थ्यभन्दा ठूलो त केही भएन । यहाँ त आफ्नो मात्र स्वास्थ्यको कुरा भएन । हाम्रो बानीको सानो परिवर्तनबाट आफ्नो र अरुको ज्यान बच्छ भने किन नगर्ने भन्ने कुरा । यसो मोबाइल चलाउँदै कोभिड १९ को अपडेट लिँदै थिए ।

मेरो प्रतिबिम्ब, हा हा हा ……….. हाँस्दै मलाई आँखा सन्कायो । म अलि झिँजो मान्दै सोधे ‘किन हाँसेको ?’ उसले हाँस्दै भन्यो ‘१७ दिन भयो तिमी कसरी यस्तो चुपचाप बस्न सकेको ?’ मैले सहज उत्तर दिएँ के गर्नु त ? लकडाउन छ, बाहिर निस्किन पाइँदैन । पाए पनि निस्कन पनि भएन नि । उसले मस्किँदै भन्यो ‘त्यै त लकडाउन नभएको भए ? अहिले कहाँ के गर्दै हुन्थ्यौं होला ? हस्याङफस्याङ, हा हा………. ’   

Advertisement

मैले भनें, ‘नजिस्काउँ बढी, के नै गर्थे होला र ? बिहान उठ्ने, खाना खाने, अफिस जाने, अफिस पछि साथीभाइ अनि साँझ खाना खाएर सुत्ने । सुरु सुरुमा त लकडाउन झाउ लागेथ्यो । तर दिन बित्दै जाँदा कति आनन्द भएको छ । घरमा बस्न पाईएको छ । पुराना कामहरु गर्न पाईएको छ । सधैँ कामले पछ्याइरहने, दौडाइरहने, भगाइरहने जिन्दगी आज ठप्प हुँदा आखिर केही नबिग्रँदो रहेछ ।

घरमा परिवरसँग समय दिँदा के गरेर खाने काम पो गर्नुपर्छ भन्ने पनि सोच्थें । आखिर पुग्दो रहेछ त । मेरो लकडाउनले बाहिर के के बिग्रियो थाहा भएन तर मेरो चार भित्ताले मलाई मन भर्ने गरी देख्न पाएको छ । सधैँ हस्याङ फस्याङ गर्ने म आज भित्तामा जमेको माकुराको जालो हेर्न पाएको छु ।

Advertisement

जालो झिक्न कुर्सी माथि चढेर कुचो लगाउँदा श्रीमती हास्दै लामो डण्डीमा कुचो लगार बिना कुर्सी जालो सफा गर्दा मेरो श्रीमती आफ्नो कामलाई सहजताका साथ गर्न सक्ने खुबी राख्छे भन्ने महशुस भएको छ ।

उसले बिहान देखी राती सम्म गर्ने गरेको कति काम वोर्किङ आवर भित्रको हो अनि कति काम ओभर टाईम छुट्याउन सकेको छैन्, किनकी उ उठेदेखी राती नसुतीन्जेल सम्म कामैकामले घेरिन्छे । सले कहिले काहिँ राख्ने नयाँ गहना र कपडाको रहर थप खर्चका बोझ होईन उसको योगदानको सामान्य कदर मात्र पो रहेछ ।

ऊ सँगै भान्छामा बसेर तरकारी नकेलाएको थुप्रै भएछ । मैलै पकाएको खाएर उसलाई आफ्नो श्रीमानले पनि मिठो पकाउन जान्ने रहेछ भनेर पहिलो पटक थाह पाई रे । ऊ सँगै बसेर काम सघाँउदा उ खुलेर घरका साना देखि ठुला कुरा सुनाँउदा म जति बाहिरको कुरा सम्हाल्न मिहिनत गर्छु त्यो भन्दा बढि घरको कार्यको व्यवस्थापन गर्न कठिन रहेछ भन्ने थाहा लाग्यो ।

यसलाई सहजताको साथ सम्हाल्ने मेरो श्रीमती अधिकृत स्तर भन्दा माथिको म्यानेजर (व्यवस्थापक) हो भन्ने लकडाउनमा सुक्ष्म अध्ययनबाट थाहा पाएँ । उसलाई कसरी कृतज्ञता ज्ञापन गर्ने थाहा नै छैन् ।

लकडाउनले दिएको समयले बुढा बा आमाको जीउ दुख्ने गरेको थाहा पाएको छु । खाने औषधीका पुरियाहरुले मन अमिलो बनायो । पुराना कुरा कोट्याएर कुरा गर्दा अनुहार उज्यालो पार्दै मुस्कुराउँदा मेरो बा आमा भित्रको मसँग बसेर गफ गर्ने ठूला रहर छचल्किएको देख्न पाएँ जुन रहर मेरा लागि सधैँ साना थिए ।

बा आमालाई पाल्नका लागि सधैँ यसरी मिहिनत गरेको छु भनेर गर्व गर्ने मजस्तालाई दुई छाक खाना र औषधिका लागि खर्च बाहेक बा आमासँग बसेर गफ गरेको समयलाई कति महत्वपुर्ण हुने रहेछ उहाँहरुको मुहारको चमक देखेर बुझ्न पाइयो ।

अर्को कुरा छोरा छोरीले रात पारेर मलाई कुर्नुपरेको छैन । स्कुलका दुई चार नजानेका प्रश्न सिकाउँदा ड्याडी प्रतिको उनीहरुको विश्वास जोगाउन पाएँको छु । उनीहरुसँग बसेर उनीहरुको कुरा नसुनेको धेरै भएछ । कामको प्रेसरमा धेरै कुरा नगर्ने मसँग खुल्न तिनीहरुले लगाएको ५ दिनले मलाई म उनीहरुबाट कति टाढा भएको रहेछु महसुस गरायो । मसँग बसेर चेस खेल्दै हराएको खुशीमा नाचेको त्यो मन देख्न पाउँदा दंग भएको छु ।

आज म हारेर पनि खुशी हुन पाएको छु । केही पल आफ्नै बालक पनको स्मृतिमा पनि हराउँन पाएँ । साथीहरुको पुराना फोटो पल्टाएँ फेसबुकमा पच्छाएँ कतिले मलाई पच्छाएँ । के हो कहाँ छौँ फेसबुकमा यसो पोष्ट पनि गर्दैनौ भनेर फोन गरें । हास्दै बुक त पढनलाई होला भनेर हरेक दिन पढ्छु तर आफ्ना कुरा लेख्नलाई फेसराइट खोज्दै थिए भनि उडाए ।

पुराना साथीसँग यादहरु ताजा बनाउने अवसर पाइयो । अहिलेको जीवन साथीको सट्टा त्यतिदेर पछ्याउने नक्कली भएको भए लाईफ कस्तो हुँदो हो सोचेर सोचे जस्तो हुन्न जिन्दगी भन्न भाएँ । निष्कर्षमा जे भयो सबै भन्दा राम्रो भयो भनेर मुस्कुराउएँ ।

साँच्चै, घरका लागि काम भन्दा भन्दै म कतातिर दौडदै रहेछु भन्ने कुराको आभास गर्न यो लकडाउन त राम्रो अवसर पो भयो त । जति दुनियाँ बाहिर खोज्दै थिए त्यति नै दुनिया घर भित्रै रहेछ ।

मेरो कर्तव्य घरको खर्च व्यवस्थापन मात्र कहाँ हो र ? घरको सदस्यलाई समय दिएर सुखदुःखको साक्षी बन्ने पनि त हो । यो लकडाउनले मलाई धेरै कुरा सोच्न बाध्य बनायो । अब त म सरकारले लकडाउन गरोस् या नगरोस् हप्ताको १ दिन त घरमै लकडाउन बस्ने बिचारमा छु ।

‘हो नि’ मलाई गिज्जाइरहेको मेरै प्रतिबिम्ब मलाई समर्थन गर्दै भन्छ ‘गज्जबको आइडिया, यदि सबैले हप्तामा ५ दिन काम गर्ने १ दिन लकडाउन र १ दिन बाहिर परिवार इष्टमित्रका साथ घुमघाम गर्न थाले त परिवारमा आत्मियता बढ्छ । बुढा आमा बा को एक्लोपन पनि कम हुन्छ ।

छोरा छोरीले नी सिक्ने अवसर पाउने छन् । अनी तिमी जस्ता ५ जनाले हप्तामा एक दिन काम कम गर्दा थप १ मान्छेले रोजगार पाँउछन् । यसले देशको बेरोजगार समस्या पनि हल हुन्छ अर्कोतिर घुमघामले आन्तरिक पर्यटन बढ्छ यसले व्यवसाय पनि बलियो हुन्छ । तिम्रो आईडियाले त परिवार र राष्ट्र दुवैको हित पो हुने रहेछ ।’

मनमनै सोचें आखिर परिवारको लागि गरिने स्वःलकडाउनले त पारिवारिक शान्ति र आनन्द देखि राष्ट्रकै हित पो हुनेरहेछ । म त लकडाउन अब आफैँ घोषणा गर्ने पक्षमा पुगेँ । तर घर भन्दा बाहिर बसेर काम गर्ने मान्छेलाई नि …………… केही हुन्न कोठामै बसेर मस्तसँग परिवारका मान्छेसँग पालैपालो गफ अनलाईनमा गफ गर्ने । जय लकडाउन भन्दै थिएँ …………… विश्वमा १ लाख भन्दा बढी को कोरोनाबाट मुत्यु समाचारले ध्यान खिच्यो । सायद प्रतिबिम्ब पनि एक्लै महसुस गरेछ क्यारे, समाचारसँगै बिलायो …….. ।

लेखक ढकाल जैविक विविधताको क्षेत्रमा सक्रिय संस्था ली-बर्डका लागि बर्दियाको बाँसगढीमा मूल्यांकन तथा अनुगमन अधिकृतको जिम्मेवारीमा छन् ।

तपाईको प्रतिक्रिया