मजदुरलाई सहयोग गर्न बागलुङ नगरपालिकामा फुड बैंक स्थापना

समाधान संवाददाता २०७६ चैत ३० गते १२:५८
file photo

गलकोट

विश्वभर फैलिएको कोरोना भाइरसको सङ्कटका कारण रोजीरोटी गुमाएका बिपन्न तथा मजदुरलाई सहयोग गर्न बागलुङ जिल्लाको बागलुङ नगरपालिकाले ‘फुड बैंक’ स्थापना गरेको छ ।

नेपालमा चैत ११ गतेदेखि जारी लकडाउनका कारण दैनिक ज्यालादारीमा काम गर्दै आएका श्रमिक मजदुर, गरिब, विपन्नलाई सहयोग गर्न नगरपालिकाले बागलुङ जेसीजको सहयोगमा फुड बैंक स्थापना गरेको बागलुङ नगरपालिकाले जनाएको छ ।

Advertisement

जेसीजले पहिलो चरणमा रु ६० हजार बराबरको खाद्य सामग्री प्रदान गरेर फुड बैंकको स्थापना गरिएको बागलुङ जेसीजका अध्यक्ष सुरेन्द्र शाक्यले जानकारी दिए । शाक्यका अनुसार, पहिलो चरणमा ५०० केजी चामल, ७५ केजी दाल, ५० केजी नुन, ५० केजी तेल, २०० केजी आटा सहयोग गरिएको छ ।

जिल्ला सदरमुकाम र मुख्य बजार क्षेत्रमा बाहिरबाट आएका श्रमिक मजदुरले राहत नपाएको गुनासो आएपछि जेसीजको सहकार्यमा फुड बैंक स्थापना गरिएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिए ।

Advertisement

कसैलाई पनि भोकै बस्ने अवस्था नआओस् भन्ने अभिप्रायले फुड बैंक स्थापनाका लागि जेसीजले पहल र सहकार्य गरेको हो । कतै राहतको अभाव भएमा तत्कालै फुड बैंकमार्फत खाद्यन्न सहयोग गरिनेछ ।

नगरपालिकाको फुड बैंक स्थापनाकै दिन अधिकारकर्मी राम शर्माले रु।३० हजार बराबरको २० बोरा चामल र पत्रकार महासङ्घ बागलुङ शाखाका पूर्वअध्यक्ष तथा ढोरपाटन दैनिकका सम्पादक हरिनारायण गौतमले रु।२० बोरा चामल, दाल र नुन सहयोग गरेका छन् ।

फुड बैंकबाट खासगरी बाहिरबाट श्रम गर्नका लागि आएका श्रमिक मजदुर र तीनका परिवारलाई सहयोग गरिने बागलुङ नगरपालिकाका प्रमुख पौडेलले जानकारी दिए ।

‘हामीले नगरपालिकाका सबै वडाका गरिब, विपन्न, मजदुरको पहिचान गरेर पहिलो चरणमा राहत बाँडिसकेका छौ,’ प्रमुख पौडेलले भने, ‘फुड बैंकबाट थप समस्यामा परेका र बिशेषगरी बाहिरबाट आएर लकडाउनका कारण अलपत्र श्रमिक मजदुरलाई तत्काल सहयोग गर्नेछौँ ।’

तपाईको प्रतिक्रिया