माफ पाऊँ सरकार : आदेश पालना गर्न सक्दिन

समाधान संवाददाता २०७६ चैत ३० गते १४:२७

विजय परियार

कोरोना भाइरसले आज संसार लकडाउन छ । जिन्दगी लकडाउनको बन्धक भएको छ । तर जिन्दगीभित्रको मनलाई भने लकडाउनले छुन सकेको छैन । लकडाउनको घेरालाई पार गर्दै मन सर्वव्यापी डुलिरहेको छ ।

जिन्दगीलाई कति मनले पढाइतिर तानेका छन्, कतिलाई लेखाइतिर, कतिलाई भान्सातिर, कतिलाई समाचारतिर कतिलाई फिलिमतिर, कतिलाई फेसबुकतिर अनि कतिलाई लोकप्रिय टिकटकतिर । मनहरु स्वतन्त्र त छन् तर शून्यताभित्रको स्वतन्त्रताको के नै अर्थ र ! तनबिनाको मनको केनै अर्थ र !

कतिलाई त लकडाउन मजा भएको छ तर धेरैलाई यो लकडाउन सजाय भएको छ । दिनभरि काम ग¥यो, पसिना बगायो अनि साँझमा आफू अनि बचेराहरुको गासँको जोहो गर्नेहरुको हालत कम्ता दयनीय छैन । मान्छेहरु कुनै न कुनै बाहनामा ग्रसित छन् । एउटै कारण लकडाउन । एउटै कारण कोरोना ।

हुनत सहयोगका हातहरु पनि प्रशस्तै देखिन्छन् समाचारतिर, युटुबतिर अझ बढी त फेकबुकतिर । कतिलेत साँच्चै नै राहत बाडेका छन् । खुसी नै दिन नसकेपनि सकभर रुन नपरोस् भनी सहकार्य गरिरहेका छन् तर कतिको ह्वाइभन्दा ख्याइ ठूलो । राहत होकि के हो बुझ्नै गाह्रो । राहत लिनेभन्दा दिने धेरै ।

मलाई लाग्छ राहत त तिनीहरुका लागि हो जसको अँगेनोमा तबसम्म अगुल्टोको मिलन हुँदैन जबसम्म दिनभर काम गर्दैन । राहत तिनीहरुका लागि हो जसले एकछान खान पाएका छैनन् । तर अघिपछि मै हु भन्नेहरु पनि राहतको लाइनमा ।

खान पुग्ने अनि दिन पुग्ने पनि राहतकै लाइनमा । मानौं राहत दुखी गरिबका लागि भन्दा पनि राहत बाँड्नेहरुका आफन्तका लागि हो जस्तो । हुनत सबैतिर यस्तो भएको छैन होला । राम्रोसँग राहत वितरण पनि भएको छ तर राहतमा अनुशासनभन्दा पनि अनियमितताका समाचार धेरै आएकाले पनि हामीलाई यस्तो लागेको हुन सक्ला ।

विश्वलाई नछाडेको लकडाउनेले मलाई त झन् केको छाडोस् । मन जति फिरन्ते भए पनि तनलाई घरबेटीको डेराभित्र ल्यापटप, मोबाइल अनि टिभीले चौकीदारी गरिरहेका छन् ।आफ्नै डेरापनि झ्यालखानाजस्तो । धेरै जसो समय त समाचार हेरेर अनि पढेर बितिरहेको छ ।

विश्व नै संकटबाट गुज्रिरहेका बेला आएका सहकार्यका समाचारहरुले मनलाई अलिकति भएपनि सहानूभूति दिइरहेका छन् । नेपाल सरकाले पनि विभिन्न राहतका कार्यक्रमहरु ल्याएको छ ।

२/४ दिन अघिमात्र एउटा समाचार पढेको थिएँ । नेपाल सरकारले यो दुखद घडीमा सम्पूर्ण घरधनीहरुलाई यो महिनाको घरभाडा नलिन अनुरोध गरेको छ । साथै विद्युत महसुलमा पनि छुटको व्यवस्था गरेको छ । वास्तवमै नेपाल सरकारको यो निर्णय लाखाैं नेपालीका लागि चर्केको घाउमा मलम छर्ने निर्णय हो ।

तर सरकार जसलाई लक्ष्यगरी यो निर्णय भएको छ के त्यो वर्गले साँच्ची नै राहतको महसुस गर्लान् त ! के हाम्रा घरधनीहरु यति नरम बन्लान् त ! बिजुली अफिसबाट विद्युत महशुल छुट लिने तर घरबहालहरुसँग प्रति युनिट १५ रुपैयाँसम्म लिने हाम्रा घरधनीले के साँच्ची नै विद्युत महसुल भइगयो तनि अहिलेलाई भन्लान् त ! यसो भइदिए त साँच्चीनै एउटा चमत्कार जस्तै हुन्छ सरकार । सरकार तिमीभनौंला—निर्णयको सबैले पालना गर्नैपर्छ ।

सरकारको निर्णयको पालना नगरे कारबाहीको भागीदार हुनुपर्नेछ । तर सरकार योत बुझ्नेले कुरा नबुझेपछि, मनमा पीर नलिएपछि,मनमा पीर त पर्ने नै भयो यो मन त्यसै मर्ने नै भयो भने जस्तै हो ।’

तिमी कुनकुन घरधनीले बिजुली अनि घरभाडा लिए भनेर अवलोकन गर्न पक्कै पनि आउँदैनौ । तिमी अवलोकनमा आएपनि हामी धेरैको जवाफ यही हुनेछ —हाम्रा घरबेटी बात कति स्वादै यो महिनाको पानि, बिजुली भाडा केही पनि लिनुभएन । भलै हामीले १५ रुपैयाँका दरले बिजुली तिरेका हौं चाहे ५ हजारको कोठालाई १० हजार तिरेका हाैं ।

माफ पाऊँ सरकार तिम्रो यो निर्णयको म चाहेर पनि पालना गर्न सक्दिन ।मलाई मेरा घरबेटी बाआमासँग मनमुटाव गर्नु छैन । सिंगो बजार चहारेर बल्ल पाएको यो डेरा छाडी फेरि अर्को डेरा खोज्ने सामथ्र्य मसँग छैन । लुट्न सके लुट, जति सक्छस् लुट भन्ने गीत जस्तै हामि कति हाँसीहाँसी आफैलाई लुटाइराछौ ।

के गर्ने सरकार हाम्रो बाध्यता यस्तै हो । यो बस्ती नै बस्तीले भरिएको यो व्यस्त सहरमा आफ्नो दिनभरको थकाई बिसाउने छानो पाएको छु । समाज त जिउँदाको जन्ती अनि मर्दाको मलामी भन्छन् । तर यो बस्तीभित्र अझै समाजको आभास छैन मलाई । बरु एकथोक नै खाउँला एकछाकमै दिन काटौला तर या छानोभित्र म कुनै कोलाहल चाहन्न ।

माफ पाउँ सरकार म तिम्रो आदेशको पालना गर्न सक्दिन ।

भविष्यको खोजीमा संघर्षको मैदान छिरेको म बरु अर्को थप संघर्ष गरौंला सरकार तर घरबेटीसँग तिमीले दिएको अधिकार मागी आफैलाई लखेट्न चाहन्न । हुनत सरकार आफ्नो घरलाई कोरोना रोकथामका लागि क्वारेन्टाइनका लागि दिने मनका धनी घरबेटीका समाचार पनि पढेको छु ।

घरभाडा नलिने मात्र होइन घरमा बस्नेसँग मिठो मसिनो बाडेर खाने दयालु घरबेटीका समाचार पनि पढेको छु । जो साँच्ची नै उदाहरणहरु हुन् । घरको छानोले मात्र होइन मनको छानोले पनि ओत दिने घरबेटीहरु पनि छन् छनत् । तर उनीहरुलाई चामलमा बियाँ खोजेझै खोज्नपर्छ सरकार ।

कोेरोनाको त्रासले हामी सबैको मन पगालेर कठोरतालाई नरमतामा बदलिदिएत ठिकै हो, पैसाकै लागि मरीमेट्ने हरुलाई अब सेवाका लागि खट्ने बनाइदिएत ठिकै हो नत्र सरकार भोलिदेखि घरबेटीसँग द्वन्द्व सिर्जना हुने गरीतिम्रोको आदेशको पालना गर्न सक्दिन सरकार ।

तपाईको प्रतिक्रिया