गाउँलाई नयाँ वर्षको शुभकामना !

समाधान संवाददाता २०७६ चैत ३० गते १४:१२

विवेक देवकोटा

आज संसार महा–विपत्तिमा गुज्रिएको छ । चीनको वुहान शहरबाट नरसंहार सुरु गरेको कोरोना (कोभिड–१९) भाइरसले यतिबेलासम्म पृथ्वीका सबै कुनाहरूबाट करिब १ लाख १० हजार मानिसको ज्यान लिइसकेको छ । यो भाइरस युद्धको विरूद्धमा संसारका सारा मानिसहरूसँगै हामी नेपालीहरू पनि जुधिरहेका छौँ । यो विपत्तिको संघारमै नेपालमा भने लकडाउनको २१ औँ दिनमा नयाँ बर्षले दैलो नाघेर मझेरी प्रवेश गर्यो ।

नेपालीहरूको नयाँ वर्ष प्रत्येकका लागि नयाँ पाइलाको सुरुवात गर्ने दिन हो । नयाँ वर्षमा नयाँ योजना, नयाँ सङ्कल्प, नयाँ उद्देश्य, नयाँ पाठ सहित नेपालीहरू नयाँ कामको थालनी गर्दछन् । यसपालिको नयाँ वर्ष भने सबै नेपालीहरूका लागि त्यति सुखद् हुनेवाला छैन । समयले हामी सबैलाई घरकैदी बनाएको छ । तर यी सबै सत्यताका बावजुत पनि एउटा अर्को सत्य ‘गाउँ’ले नयाँ वर्ष मनाउँछ ।

Advertisement

विश्वका महाशक्ति राष्ट्रहरू कोरोनाको कहरबाट जोगिन सकेनन् । संसारका शक्ति राष्ट्रहरुले आफ्ना नागरिकहरूलाई प्लास्टिकमा खाना बाँडी रहेका छन् । प्लास्टिकको खानाबाट जोगिने ती शक्ति राष्ट्रहरूमा पनि सायद गाउँलेहरू नै होलान् । संसारमा त्यस्ता गाउँ छैनन् जहाँ तरकारी, फलफुल र अन्न फल्दैनन् । त्यसमाथि नेपाल त गाउँले भरिएको हरितगृह हो । त्यसैले त नेपालमा फाट्टफुट्ट बजारका मजदुर, सुकुम्बासी बस्ती बाहेक अन्त खाना बाँड्नु परेन । गाउँले नेपालीको सान लाई बचाएको छ, कम्तीमा माग्नु त परेको छैन । विगतमा कोरियाले नेपालसँग गहुँ, मकै मागे जस्तै यो बेला यदि गाउँ नभइदिएको भए नेपालले पनि चिउरा, चामल माग्नु पर्दथ्यो ।

यति हुँदाहुँदै पनि हामी सबैलाई थाहा छ कि हाम्रो अन्नको जननी गाउँले खेतबारीहरू निर्लज्ज नाङ्गै छन् । ती बाँझा नाङ्गा खेतबारीहरूले यो कोरोना भन्दा खतरनाक महामारीहरूबाट हामी बचाउन सक्दैनन् ।अब त हामी सामान्य आँकलन गर्न सक्छौं । भूकम्प र कोभिड–१९ ले हामीलाई पाठ सिकाएकै हुनुपर्छ । जेनतेन हाम्रा गाउँहरूले यी दुईवटा ठूला आपतबाट बचाए तर यहि क्रमले गाउँहरू रित्तिने हो भने अर्को पटकको विपत्ति नेपालीहरूको काल बनेर आउनेछ । हरेक लडाइँको अन्तिम हतियार गाँस, बास र कपास नै रैछ । नेपालीसँग यो हतियार छ तर कमजोर हुँदैछ । यदि हामी नेपालीले बेलैमा गाउँका बाझा खेतबारी खनेनौ भने, अबको अर्को महामारीले हाम्रो चिहान पक्कै खन्नेछ ।

Advertisement

आज हेरौं शहर बजारका मनुवाहरू दिउँसै बत्ती बाल्नुपर्ने अँध्यारा कोठाहरूमा निसासिँदै छन् । नयाँ बर्षले उनीहरूलाई गिज्याएको छ । उनीहरु कुनै हालत नयाँ बर्षको आभास गर्न सक्दैनन् । ठ्याक्कै अर्कोतिर गाउँलेहरू नयाँ बर्षको स्वागत गरिरहेछन् । उनीहरूसँग भकारी, डालाभरी अन्नपात छ । नयाँ बर्षलाई भनी साँचेको मिठोमसिनो छ । गाउँलेहरु नयाँ वर्ष मनाउँछन् अब । हामीले गाउँलाई धन्यवाद दिनुपर्छ । यसरकाण पनि कम्तीमा नयाँ बर्षलाई स्वागत गर्ने कोही त भयो ।

यसबेला हामीलाई लाग्छ, कसैको काम छैन सबै सुतिरहेका छन् । तर, होइन यही बेला यही देशमा लाखौं नेपालीहरू आफ्नो गाउँमा घरमुनीका बारीभरी मकै सिँगार्दै छन् । कहीँकतै चैते धान रोप्दै छन् । कहीँकतै कोदोको बीऊ राख्दैछन् । कहीँ बाँझो जोत्दैछन् । जहाँ जेहोस् गाउँलेहरूलाई फुर्सद छैन । उनीहरू कतै भिडभाडमा जानु पर्दैन अरूले दिएको खानु पर्दैन । त्यसो त गाउँलेहरू सुरक्षित छन् । जीवनको भिख माग्दै बजारेहरू गाउँ फर्किएको समाचार त हामीले पढे देखेकै हो । अन्ततः गाउँ नै हाम्रो सहारा हो । हामीले गाउँको विकास र समृद्धि सोच्नुको विकल्प छैन । गाउँका भत्किएका घरहरू सज्ने काम गरौँ । गाउँका बाँझा खेतबारीहरू जोत्ने काम गरौँ । नयाँ प्रविधि सहित कृषिलाई अङ्गालौँ । यो नयाँ बर्षमा गाउँ बचाउने प्रण गरौँ । तब मात्र गाउँले हामीलाई बचाउने छ । मैले त यो नयाँ बर्षमा गाउँलाई शुभकामना दिन्छु ।

(लुम्ले, कास्की)

तपाईको प्रतिक्रिया