कोभिड–१९, लकडाउन र समय व्यवस्थापन

समाधान संवाददाता २०७७ वैशाख १ गते ९:१५


बसन्त बस्नेत

विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड – १९) को संक्रमणको त्रासले यतिबेला सबैलाई चिन्तित तुल्याएको छ । संक्रमण फैलिन नदिनका लागि विभिन्न देशहरुले सुरक्षाका संयन्त्रहरु अपनाइरहेका छन् तर पनि सबै जना भय र त्रासमा नै छन् । मेडिकल साइन्सले चमत्कार ल्याइसकेको वर्तमान अवस्थामा कोरोनाको सन्त्रासले सिङ्गो चिकित्सा विज्ञानलाई नै चुनौती दिइरहेको छ । आर्थिक, शैक्षिक, प्राविधिक लगायत सम्पूर्ण क्षेत्रहरुमा अब्बल मानिएका देशहरु पनि यसबाट अछुतो रहन सकिरहेका छैनन् ।

Advertisement

कोरोनाको त्रासका कारण नेपाल सरकारले रोग फैलिन नदिनका लागि लकडाउन घोषणा गरेको छ । जसका कारण यतिबेला मानिसहरु निकै फुर्सदिला भएको कुरा सामाजिक सञ्जालमा देखिएका विभिन्न क्रियाकलापहरु र तस्बीरहरुले प्रतिबिम्वित गरिरहेका छन् । कति मानिसहरुले लकडाउनलाई उल्लङ्घन गरेको समेत पाइएको कारणले प्रशासनले कारवाहीका विभिन्न प्रयासहरु गरिरहेका छन्, कुनै प्रंसशनीय र कुनै आलोचनात्मक छन् । सबैले आआफ्नो तर्फबाट संयमता अपनाई सुरक्षित रहनुपर्ने अवस्था आएको छ, यसमा नै सबैको भलो हुनेछ र यस गैरसैनिक लडाईँमा जीत प्राप्त हुनेछ ।


आवश्यक भन्दा बढी समय सामाजिक सञ्जालमा व्यस्त हुनु, अनावश्यक सन्देश तथा भिडियोहरु पठाउनु, बालबालिकाहरु धेरै समय गेम खेल्नु जस्ता कार्यहरुले आँखा तथा मानसिक समस्याहरु बढाएका छन्

Advertisement

यस विपद्को घडीमा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहहरुले स्थापना गरेका राहत कोषहरुमा विभिन्न संघसंस्था तथा व्यक्तिहरुले सहयोग गरिरहेका छन् । विभिन्न सेवा प्रदायकहरुले आआफ्नो सेवा अनुसार छुट र निःशुल्क सेवाहरु समेत प्रदान गरिरहेका छन् । खाद्यान्न वितरण, यातायात सुविधा, निःशुल्क सेवा, घरभाडा छुट, स्वास्थ्य सुरक्षा सामाग्री वितरण, मास्क तथा पिपिइ (पर्सनल प्रोटेक्सन इक्वीपमन्ट) उत्पादन तथा वितरण, साबुन तथा स्यानिटाइजर वितरण, स्वास्थ्य सचेतना कार्यक्रम, रक्तदान कार्यक्रमहरु गरिरहेका छन्, जुन कार्यहरु निकै स्वागत योग्य छन् ।

स्वास्थ्य सुरक्षाको कारण घरभित्रै बस्नुपर्ने भएकोले सबैजना फुर्सदमा छन् । सकारात्मक सोच राख्ने हो भने यो समयलाई विभिन्न रचनात्मक कार्यहरु गरेर उपलब्धिमुलक बनाउन सकिन्छ । व्यस्त आमाबाबुहरुले आफ्ना बालबालिकाहरुका लागि राम्रो समय दिन पाएका छन् । घरको रेखदेख गर्ने, सरसफाई गर्ने, मिठा तथा नयाँ परिकारहरु बनाएर खुवाउन पाउँदा अभिभावक तथा बालबालिकाहरु निकै खुसी छन् । बालबच्चाहरुलाई घरभित्रै राख्नुपर्ने भएकोले उनीहरु खुसी हुने खालका क्रियाकलापहरु गर्न दिनुपर्छ, जस्तै ः फिल्म हेर्ने, गेम खेल्ने, चित्र बनाउने, क्राफ्ट वर्क इत्यादि । जसले गर्दा बालबालिकाहरुले फुर्सदको समय सजिलो तथा रमाइलोसँग व्यतीत गर्नुका साथै उनीहरुको ज्ञान समेत बढ्दछ । आफ्नो इच्छा अनुसार नयाँ तथा सिर्जनात्मक कार्यहरु सिक्ने तथा गर्नु नै यतिबेलाको उत्तम कार्य हो जसले गर्दा समयको उचित सदुपयोग, ज्ञान तथा सीपमा वृद्धि हुनुका साथै सकारात्मक सन्देश पनि प्रवाह गर्दछ । किताब पढ्ने, फिल्म तथा डकुमेन्ट्री हेर्ने, गीत तथा कविता सिर्जना गर्ने, लेख लेख्ने, योगा गर्ने, नयाँ प्रविधिहरु चलाउन सिक्ने, नयाँ परिकारहरु बनाउन सिक्ने तथा सिकाउने जस्ता कार्यहरु गर्नु उत्तम मानिन्छ ।   

सूचना प्रविधिको विकाससँगै इन्टरनेटको पहुँचले गर्दा जुनसुकै कार्यहरु गर्न निकै सहज बनाएको छ । सूचना तथा समाचारहरु हेर्न, एकअर्कामा सम्पर्क गर्न, गीत सुन्न, भिडियो हेर्न, गेम खेल्न आदि । इन्टरनेटको प्रयोगले गर्दा कति कार्यालयीय कामहरु घरबाट नै गर्न पाउँदा कामहरु पनि रोकिएको छैन । अनलाइन कक्षा सञ्चालन, अनलाइन मिटिङ तथा सेमिनार गर्ने, अन्र्तवार्ता लिने÷दिने, बैङ्किङ सेवा, मार्केटिङ, सामान किनमेल जस्ता कार्यहरु अनलाइनबाट गर्न पाउँदा इन्टरनेटको सही सदुपयोग भएको छ ।

इन्टरनेटको सुविधाले विभिन्न कार्यहरु सहज बनाएको भएतापनि यसको दुरुपयोग पनि निकै भएको पाइएको छ । आवश्यक भन्दा बढी समय सामाजिक सञ्जालमा व्यस्त हुनु, अनावश्यक सन्देश तथा भिडियोहरु पठाउनु, बालबालिकाहरु धेरै समय गेम खेल्नु जस्ता कार्यहरुले आँखा तथा मानसिक समस्याहरु बढाएका छन् । सत्य समाचारहरु भन्दा पनि असत्य र भ्रामक समाचार तथा सामाग्रीहरुले सामाजिक सञ्जालमा वर्चश्व जमाएको कारणले धेरै मानिसमा भय र त्रासको कारणले  नकारात्मकता थपेको छ । फुर्सद भयो भनेर सामाजिक सञ्जालमा अनावश्यक टिका टिप्पणी गर्ने, महाकाव्य जस्ता कमेन्टहरु राख्ने, नेटवाला झ्यालका प्वालहरु गनेर बस्ने, समाचार वाचिकाले आँखा झिम्क्याएको गनेर बस्ने जस्ता कार्यहरु फुर्सद र इन्टरनेटको दुरुपयोग हो ।

कोभिड–१९ को महामारीलाई नियन्त्रण गर्नका लागि शारीरिक दुरी कायम राख्नु, अत्यावश्यक कामका लागि बाहेक बाहिर ननिस्कनु, खानपानमा ध्यान दिनु, रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने खालका खानेकुराहरु सेवन गर्नु, प्रविधिको सदुपयोग गरी सम्पर्कमा रहिरहनु, सकारात्मक सोँच राख्नु, सत्य तथ्य सुचना तथा समाचार हेर्नु र प्रवाह गर्नु, शारीरिक सरसफाईमा ध्यान दिनु, ग्लोब्स तथा मास्कको प्रयोग गर्नु नै रहेका छन् । अन्त्यमा, नव वर्ष २०७७ को पावन अवसरमा विश्वभरि महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणमा छिट्टै नै कमी हुँदै गएर निर्मुल नै होस्, सबैको जीवनमा सुख, शान्ति र समृद्धि कायम होस् भन्ने शुभकामना व्यक्त गर्दछु ।

(उनी हाल भीरकोट नगरपालिका, स्याङ्जामा कार्यरत छन् ।)         

तपाईको प्रतिक्रिया