जे भएपनि काेराेनाकै शंका

अनुप पौडेल, पोखरा
सोमबार दिउँसो १ बज्दै थियो । प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले सञ्चालन गरेको ‘हेलो डाक्टर’ हटलाइनमा फोन आयो । फोन गर्ने व्यक्ति पोखराबाटै थिए । फोन गर्नेले भने, ‘मेरो छिमेकीलाई कोरोनाको जस्तै लक्षण देखिएको छ ।’
हटलाइनमा खटिएकी आर्मी अस्पतालकी सह–सेनानी डा. आर्या रायमाझीले छिमेकीलाई देखिएको लक्षणबारे सोधिन् । फोन गर्नेले छिमेकीमा देखिएको लक्षण सुनाउँदा कोरोनाको एउटा पनि लक्षण मिलेन ।
‘उहाँले भने अनुसार ज्वरो थिएन झाडापखाला मात्र थियो,’ डा. रायमाझीले भनिन्, ‘कोरोना श्वासप्रश्वासको समस्या हो भनेर यत्तिको चर्चा भइराख्दा जे लक्षण देखा पर्दा पनि कोरोनाको त्रास छ ।’
हेलो डाक्टरमा अन्य स्वास्थ्य परामर्श लिनेसँगै छिमेकीले कोरोना परीक्षण नगरेको भनेर बढी गुनासो आउने गरेको छ । ‘एम्बुलेनस लिन नआएको, औषधि सकिएको, कोरोनाका लक्षणबारे जानकारी लिन हटलाइनमा फोन आउँछ,’ निर्देशनालयका स्वास्थ्य शिक्षा प्रशिक्षक नवराज शर्मा भन्छन्, ‘विदेशबाट आएका छिमेकीले कोरोना परीक्षण नगराएको भनेर बढी गुनासो आउँछन् ।’
१०९२ नम्बरको हटलाइनमा बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म दैनिक ५० जनासम्मले सेवा लिने गरेका छन् । अस्पतालमा ओपिडी सेवा बन्द भएपछि स्वास्थ्य परामर्श दिनका लागि निर्देशनालयले गत १० चैतदेखि यो सेवा सञ्चालनमा ल्याएको थियो ।
हटलाइनमार्फत सोमबारसम्म ५ सय ६९ जनाले परामर्श लिएको निर्देशनालयले जनाएको छ । पोखराका छुट्टाछुट्टै अस्पतालले स्वास्थ्य परामर्श दिन पालो गरेर चिकित्सक खटाउने गरेको स्वास्थ्य शिक्षा प्रशिक्षक नवराज शर्माले जानकारी दिए ।
मृत्यु दर बढी भएका रोगभन्दा मानिसमा कोरोनाको त्रास धेरै देखिएको प्रशिक्षक शर्मा बताउँछन् । उनी भन्छन्, ‘यसको मृत्यु दर जम्मा २ देखि ३ प्रतिशत हो । कोरोनाभन्दा ठूला रोगहरुको ५० प्रतिशतसम्म हुन्छ । तर कोरोनाले त्रास र तनावको स्थिति बनाएको छ ।’
उनकाअनुसार हेलो डाक्टर सेवालाई निरन्तरता दिन छुट्टै कर्मचारी व्यवस्थापनको तयारी भइरहेको छ । ‘कतै सवारी दुर्घटना भयो, कोही महिलाको हेलिकोप्टरबाट उद्दार गर्नप¥यो भने यसलाई कोरोना पछि प्रदेशको स्वास्थ्यसम्बन्धी इमरजेन्सी नम्बर बनाउँछौं,’ उनले भने, ‘छिट्टै मोबाइल एप पनि सार्वजनिक गर्दैछौं । त्यसबाट पनि स्वास्थ्य परामर्श दिने तयारी हुँदै छ ।’
‘उपचार नहुँदा त्रास स्वभाविक’
अहिले सामान्य केही समस्या आएपनि कोरोना नै भएको भनेर अत्तालिने गरेको देखिन्छ । कुनै उपचार नभएको रोगबाट त्रास सिर्जना हुनु स्वभाविक भएको नेपाल चिकित्सक संघ गण्डकीका अध्यक्ष डा. निर्मल लामिछानेको बुझाइ छ ।
उनी भन्छन्, ‘नयाँ रोग भयो अनि अहिलेसम्म उपचार पत्ता लागेको छैन । त्यसैले त्रसित हुनु स्वभाविक हो । भ्याक्सिन भएको भए मानिसको मनोबल अर्के हुन्थ्यो ।’
करिब १८ सयको आरडीटी
गण्डकी प्रदेशमा सोमबारसम्म १७ सय ८२ जनाको आरडीटी किटबाट कोरोना भाइरसको परीक्षण गरिएको छ । परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको छ । सोमबार एकैदिन ४ सय जनाको आरडीटी किटबाट कोरोना परीक्षण गरिएको निर्देशनालयका स्वास्थ्य शिक्षा प्रशिक्षक नवराज शर्माले जानकारी दिए ।
उनकाअनुसार सबैभन्दा धेरै बागलुङमा ९ सय ११ जनाको कोरोना परीक्षण गरिएको छ । पर्वतमा २ सय ३९, स्याङजामा २ सय ९, लमजुङमा १ सय ८, कास्कीमा ८० र तनहुँमा ७९ जनाको कोरोना परीक्षण गरिएको छ ।
यसबाहेक नवलपुर, म्याग्दी, गोरखा र मुस्ताङमा क्रमशः ६९, ५२, २८ र ७ जनाको किटमार्फत कोरोना जाँच गरिएको छ । मनाङमा अहिलेसम्म कसैको पनि परीक्षण भएको छैन ।
गण्डकीमा सोमबारसम्म ३ सय ७५ जनाको नमुना पीसीआर मेसिनबाट गरिएको निर्देशनालयले जनाएको छ । त्यसमा ३ सय ६० जनाको नेगेटिभ र २ जनाको पोजेटिभ आएको छ । बाँकी १३ जनाको नमुनाको रिपोर्ट आउन बाँकी छ ।
गण्डकी प्रदेशमा चैत महिनामा ४५ सय २२ जना विभिन्न देशबाट आएका छन् । त्यसमा २६ सय ६७ जना होम क्वारेन्टाइनमा र १ सय ९९ जना क्वारेन्टाइनमा बसेका छन् । प्रदेशभर गरेर २ सय ९५ ठाउँमा ४७ सय क्षमताको क्वारेन्टाइन निर्माण गरिएको छ ।









पोखरामा सांगीतिक प्रस्तुतिसहित स्वरसम्राटको सम्झना
क्यानका महानिर्देशक अधिकारी जेल चलान, निर्देशक भण्डारीसँग ५ लाख धरौटी
सकियो ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला
संसद् विघटनविरुद्ध एमालेपछि कांग्रेस पनि सर्वोच्चमा, ८ सांसदद्वारा रिट पेस
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया