कोभिड-१९ र गाउँहरु

समाधान संवाददाता २०७७ वैशाख ३ गते १४:०९



डा वसन्त गौतम

यतिखेर सारा संसार ठप्प छ  । एउटा अनौठो, ‘निर्दयी’ र द्रूत गतिमा फैलने भाइरसका रुपमा मानव जातिका अगाडि इतिहासकै सबैभन्दा ठूलो चुनौती खडा भएको छ। यस अघिका विभिन्न संकटहरु जस्तै मानव जातिले यो संकट पनि पार गरेर अगाडि जानेछ अवश्य पनि तर यो संकटले गर्ने मानवीय र आर्थिक क्षति हामीले कल्पना गर्न सक्ने भन्दा धेरै ठूलो हुने लक्षण देखिएको छ । यो महामारीको कारक कोभिड-१९ नाम दिइएको भाइरसको उत्पत्तिस्रोत र यसको प्रकृतिलाई वैज्ञानिक जगतले अझै ठम्याउन सकेको छैन ।

Advertisement

यसलाई पूरै नचिनी यस विरुद्धको उपचार पद्धतिको विकास गर्न सम्भव पनि छैन । गर्मी लाग्दै गएपछि सकृय हुन नसक्ने सार्स, मर्स, बर्ड फ्लू, स्वाइन फ्लू, आदि जस्ता विगतका भाइरसहरुको जस्तो गुण यसको नहुने सम्भावनापनि धेरै अनुसन्धाताहरुले औंल्याएका छन् । यो संक्रमण साम्य हुन कम्तीमा पनि ३-६ महिना लाग्नसक्ने देखिन्छ । संसारका बिभिन्न प्रयोगशालाहरुमा यसका विरुद्ध खोप निर्माणका लागि अनुसन्धानहरु पनि भइरहेका छन् तर ती खोप बनीसकेपछि पनि सबै परीक्षणहरु पार गरेर आम उत्पादनमा जान लामो समय लाग्ने निश्चित छ । मानवजातिले कोभिड-१९ संग लामो समयको लडाईँको तयारी गर्नुपर्ने स्पष्ट भएको छ । धेरै देशहरुले त्यसै अनुसारको तयारीको घोषणा पनि गरीसकेका छन् ।

Advertisement

संक्रमण हाम्रै देशमा पनि देखिइसकेको छ । अन्यत्रको दाँजोमा हाम्रो अत्यन्त न्यून संख्यामा जाँच भएका कारण संख्या कम देखिएको छ । जाँचको संख्या बढ्दै जाँदा संक्रमितको संख्या पनि बढ्ने छ । कामना गरौं मानवीय क्षति नहोस् तर हामीले त्यसका लागि पनि आफूलाई मानसिक रुपले तयार पार्नु जरुरी छ ।

यो महामारीका कारण सृजित विश्वव्यापी आर्थिक मन्दी शुरु भइसकेको छ । यो आर्थिक मन्दीको असर लामो समयसम्म देखिने छ । विकसित र धनी देशहरु आर्थिक मन्दीसंग जुध्ने रणनीति निर्माणमा जुटिसकेका छन् । हाम्रो जस्तो परनिर्भर अर्थतन्त्र त यसका असरहरुले झन् छिटो प्रभावित हुन्छ । यो संकटबाट न्यूनतम मानवीय क्षतिका साथ निक्लने र यसले सिर्जेको आर्थिक मन्दीलाई सक्दो छिटो अन्त्य गर्ने काम कसरी सम्पन्न हुन्छ त्यसमै एउटा देशको रुपमा हामी कत्तिको सक्षम र गम्भिर छौं भन्न कुरा प्रमाणित हुने छ ।

अहिलेको प्रमुख प्राथमिकता संक्रमणलाई सीमित पार्नु र यो व्यक्तिगत संक्रमणको तहबाट सामुदायिक संक्रमणमा नपुगोस् भनेर सम्पूर्ण शक्ति लगाउनु हो । यो प्राथमिकतालाई केन्द्र सरकार मात्र होइन प्रदेश सरकार र हरेक नगर र गाउँपालिकाले उत्तिकै गम्भिरताका साथ लिनु जरुरी छ । लकडाउन संक्रमण रोक्नका लागि यतिखेर सबैभन्दा प्रभावकारी उपाय बनेको छ तर व्यापक जाँच अभियानलाई पनि लकडाउनसंग लान सकिएन भने यसको प्रभावकारिता देखिनेछैन ।

हालै आयात गरिएको टेष्ट कीट र पीपीइलाई समानुपातिक रुपमा देशभर वितरण गरेर जाँच अभियानलाई व्यापक बनाउनुपर्छ । यो जाँच अभियानमा विदेशबाट आएका र तिनको सम्पर्कमा आएका र लक्षण देखिएका मात्र होइन जनसंख्याको ठूलो हिस्सालाईनै समेट्नुपर्ने हुनसक्छ । जाँच जति व्यापक भयो त्यतिनै उपचार सजिलो हुन्छ र महामारीको सम्भावना कम हुन्छ ।

लकडाउनका कारण अहिले ठूलो जनसंख्या गाउँ फर्केको छ । विगतमा यस्तो स्थिति दशैंताकामात्र देखिन्थ्यो । देशभित्रैका शहरहरुबाट मात्र होइन, भारत र अन्य देशमा रोजगारीरत हजारौं नेपाली नागरिक पनि गाउँ फर्केका छन् । कोभिड-१९ महामारी भएका देशबाट पनि धेरै फर्किएका छन् । भारतबाट फर्कनेमा धेरैजसो अत्यन्त असुरक्षित र भिडभाडपूर्ण यात्रा गरेर आएका छन् र तीमध्ये लगभग सबै दुर्गम ग्रामीण भेगका हुन् ।  

सरकारले अहिलेसम्म दिएको तथ्यांकका संक्रमित सबै विदेशबाटै आएका हुन् । सरकारले शहरी क्षेत्रमा लकडाउनको अनुगमन गर्न सक्छ तर गाउँमा त्यति सम्भव छैन । यसैले गाउँहरु जोखिममा परिसकेका हुनसक्छन् । कुनै व्यक्तिको शरीरमा प्रवेश गरीसकेर पनि केहि समय लक्षण देखाउँदैन कोभिड – १९ भाइरसले तर त्यहि अवधिमा उक्त व्यक्तिबाट अरु धेरै व्यक्तिमा सरीसकेको हुनसक्छ । त्यसैले लक्षण देखिएपछि मात्रै जाँच गर्नु भनेको महामारी फैलिन दिनु हो। अर्कोतिर, लक्षण देखिएपछि पनि रोग लुकाउन खोज्ने, उपचारबाट भाग्ने प्रवृत्तिसमेत देखिन थालेको छ नेपालीमा । यस्तो प्रवृत्ति रोक्न स्थानीय सरकार र समाज सचेत हुनैपर्छ । अर्कोतिर, नेपालको ग्रामीण क्षेत्रमा स्तरीय स्वास्थ्यसेवाको उपलब्धता छैन ।

संक्रमण फैलिनबाट रोक्नका लागि यो स्थितिलाई सम्बोधन गर्ने एउटा ठोस योजना विशेषगरी गाउँपालिकाहरुसंग हुनैपर्छ । केन्द्र र प्रदेश सरकारले पनि संक्रमण परीक्षणको प्रणालीलाई गाउँपालिकाका वडातहसम्मै विकेन्द्रित गर्नु जरुरी छ ।

संकट लम्बिँदै गयो र अहिले गाउँ फर्केको जनसंख्या लामो समय त्यहिँ रहने स्थितिमा बालबालिकाको पढाइको समस्यालाई समेत केहि महिनासम्म गाउँमै हल गर्नुपर्ने स्थिति आउनसक्छ । त्यस्तो अवश्थामा गाउँमा रहेका सरकारी र सामुदायिक विद्यालयहरुको व्यवश्थापन कसरी गर्ने भन्ने बारेमा पनि गाउँपालिकाहरुले सोच्नु जरुरी छ ।  

सबैले गम्भिर भएर सोच्नुपर्ने अर्को विषय भनेको आर्थिक गतिविधिहरुका बारेमा हो । संकट चाँडैनै अन्त्य भयो भने बन्द भएको सामाजिक जीवन र आर्थिक गतिविधिलाई कसरी पूर्ववत अवश्थामा फर्काउने भन्ने एउटा पाटो हो ।  संकट लम्बिरह्यो भनेपनि देश र समाज सधैंभरी कडा लकडाउनमा रहन सक्दैन ।


विगतमा विभिन्न असुविधाहरुका कारण गाउँ छोडेर शहर पसेकाहरुले लकडाउनको यो लामो अवधिमा गाउँमा थपिएका सुविधाहरु र गाउँमै बसेर गर्न सकिने उद्यमका सम्भावनाहरु पनि बुझ्छन् । अहिले गाउँमा बाटो छ, बिजुली छ, पानीको सुविधा छ तर मान्छे छैनन् । गाउँमा व्यावसायिक तरकारी खेती, पशुपालन, जडीबुटी र बन पैदावर उद्योगको सम्भावना छ ।

लामो समयको लकडाउनले भोकमरीको रुपमा अर्को गम्भिर संकट देखिनेमात्र होइन जनताको ठूला हिस्सामा निराशा र अवसाद पनि सृजना गर्छ ।

त्यसकारण, सुरक्षित रुपमा सीमितनै भएपनि उत्पादन र वितरण प्रणालीलाई कसरी चलाउने भन्ने बारेमा केन्द्रदेखि पालिकासम्मका सरकारहरुले सोच्नुपर्छ ।

संक्रमणलाई फैलिनबाट रोक्न सकेको अवश्थामा ग्रामीण अर्थतन्त्रलाई शहरी अर्थतन्त्रभन्दा पहिल्यै चलायमान गराउन सकिन्छ । गाउँमा यतिखेर खेतीपातीको मौसम शुरु भएको छ । गाउँ फर्केको जनसंख्यासंग भएको श्रमशक्ति र सीपलाई योजनाबद्ध ढङ्गले गाउँको कृषि उत्पादन प्रणाली र घरेलु उद्योगहरुमा लगाउन सकिन्छ । गाउँमा अन्न-तरकारी उत्पादनमा हुने थोरैमात्र वृद्धिले पनि यो संकटको समयमा ठूलो त्राण दिन्छ । यस्तो वृद्धिले गाउँनै गाउँले घेरिएको पोखराजस्तो शहरको आपूर्ति प्रणालीलाई समेत ठूलो भरथेग गर्न सक्छ ।

विगतमा बिभिन्न असुविधाहरुका कारण गाउँ छोडेर शहर पसेकाहरुले लकडाउनको यो लामो अवधिमा गाउँमा थपिएका सुविधाहरु र गाउँमै बसेर गर्न सकिने उद्यमका सम्भावनाहरु पनि बुझ्छन् । अहिले गाउँमा बाटो छ, बिजुली छ, पानीको सुविधा छ तर मान्छे छैनन् । गाउँमा व्यावसायिक तरकारी खेती, पशुपालन, जडीबुटी र बन पैदावर उद्योगको सम्भावना छ ।

कोभिड – १९ संकटका कारण गाउँ फर्केको जनसंख्याको एउटा अंश यस्ता सम्भावनाहरुको दोहन गर्न गाउँमै बस्यो भने गाउँका लागि बरदान सावित हुनेछ । गाउँपालिकाहरुले यस्ता सम्भावनालाई स्पष्ट पार्दिन र रुचि देखाउनेहरुलाई उचित सरसल्लाह दिन सक्नुपर्छ । साथै उनीहरुलाई लगानी जुटाउन र बजार खोज्न आवश्यक सहजीकरण गरिदिने तत्परता पनि हुनुपर्छ । यो संकटको घडीमा देशले ‘कालो बादलमा चाँदीको घेरा’ खोज्ने एउटा बाटो यो पनि हुनसक्छ । र पहिलो प्राथमिकता भनेको संक्रमणलाई फैलिन नदिनुनै हो फेरि पनि ।



तपाईको प्रतिक्रिया