आफ्नै गाउँ, आफ्नै ठाउँ

समाधान संवाददाता २०७७ वैशाख ३ गते १४:१४

माधव पराजुली

आफू जन्मेको ठाउँ प्यारो अनि आफ्नो गाउँ सबैलाई रमाइलो लाग्छ । आफ्नो ठाउँलाई असाध्यै माया गर्ने मध्येको एक म हुँ भन्दै आफूलाई उभ्याइरहँदा गौरवान्वित ठानेको छु । आफ्नो गाउँको कुरा गरिरहँदा गाउँकै पहाडको खोँचबाट हाम्फाल्ने गरेको निडर स्वभावले म २÷४ शब्द कोर्दै छु ।
सायद ठूला ठूला पहडा चढ्दै हाम फाल्दै गरेको कारणले होला ज्यान कसैसगँ पनि नडगमगाउने निडर बनेको । गाउँको प्रेम, सद्भाव, सहयोग आपसमा फुल्थ्यो, फल्थ्यो, झाँगिन्थ्यो, लहराउँथ्यो र मग्मगाउँथ्यो । यहाँको सामाजिक एकता, सहिष्णुता र मेलजोलताको गरिमामय पुरानोे संस्कारजन्य परिवेशकै कारणले होला म आज शसक्त बन्दै गएको अनि स्वच्छ गाउँकै कारण होला सिर्जना, कल्पना र अध्ययनको ऊर्जाशीलता पैदा भएको छ ।


आफ्नो गाउँमै बस्ने चाहना हुदाँ हुँदै पनि असिमित प्रगतिका चाङहरु प्राप्त गर्ने अभिलाषा बोकेर म गाउँभन्दा बाहिरको संसारसँग जुध्न विवस्त भएँ । बाहिरिए भनिरहँदा मेरो शरीर गाउँमा मात्र नभएको हो, मन त मेरो गाउँका पाखा पखेरामै झुलिरहेको हुन्छ । म गाउँभन्दा धेरै टाढा पनि छैन । गाउँमा भने महिनाको १ वा २ पटक अवश्य पुगेकै हुन्छ । यहाँको विकास निर्माणको बारेमा चासो म नियमित लिनेगरेको छु भने यहाँको विकास निर्माणमा मेरो पनि केही योग्दानको हिस्सा छ ।


सडक, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतको क्षेत्रलाई व्यवस्थित गर्न यो ज्यान दौडिरहेको छ, केबल आफ्नो ठाउँमा केहीँ गरौं भनी ।


आफ्नो ठाउँलाई कति माया गरेको छु र गाउँ बनाउन कति यो ज्यान दौडधूप छ भन्ने कुराको साक्षी यहाँका झरना, खोला, नाला र वन जंगल छन् । गाउँ प्रतिको मेरो मोह म शब्दहरुमा उतार्न सक्दिन, न त कसैलाई साबित गर्न सक्छु नै ।
म जन्मेको विहादी पर्वत जिल्लाको दक्षिण भेगमा अवस्थित अत्यन्तै सुन्दर गाउँपालिका हो । विसं २०७३ सालमा नेपालको नयाँ प्रादेशिक संरचना कायम गर्दा बाच्छा, बर्राचौर, रानीपानी, वहाकीठाँटी, उरामपोखरा, शालिग्राम गरि ६ वटा गाउँ विकास समितिहरूलाई समेटेर विहादी गाउँपालिका घोषणा गरिएको छ । यसमध्ये रानीपानी साविकको गाविस वडा नं.३ कुडादी पोखरीचौर मेरो जन्म गाउँ हो ।

यहाँका छहरा, खोला नाला, डाँडाकाँडा, चौर, वन जंगलसँग पौंठेजोरी खेल्दै म हुर्के । निर्मल, खुलस्त र विशाल लाग्छ म जन्मेको ठाउँ, पे्ररणाको स्रोत मेरो गाउँ । आफ्नो ठाउँको कुरा गरिरहँदा सँगै पढ्दाका, बाल्यकाल देखिका, उकाली ओराली, गाई बाख्रा हेर्दाका साथीलाई बिर्सन कहाँ सकिन्छ र । जनावरलाई खुल्ला चौरमा उन्मुक्तिको स्वाद चखाउदै साथीहरुसँग बेपर्वाह रापिलो घाममा गफिएको कहाँ भुल्न सक्छु र । चाडपर्वमा आफ्नो रितिरिवाज अनुरुप डम्फू, मादल, खैंजडी र मजुराको धुनहरुको तरंगसँगै विलय हुँदै रात काटेको अनि त्यो देउरालीमा मुर्तीको घुम्टो उघार्दाको क्षणमा बेग्लै मज्जा थयो ।
पर्वत दक्षिणी भेगको रमणीय र पर्यटकीय स्थल, प्रमुख दलका नेताको उद्गमस्थल, राजनीतिक परिवर्तन र थरिथरिको समाज अनि एकता, फरक भूगोल, धार्मिक विविधता यहाँको अपरिभाष्य विशेषता हो ।


धार्मिक पर्यटन तथा ऐतिहासिक हिसावले महत्वपूर्ण यो गाउँपालिका भूगोल, संस्कृृति अनि पर्यटनले समग्र नेपालको अनुभूति दिलाउने ठाउँ हो । प्राकृतिक स्रोत र साधनका हिसावले भनौँ या कला संस्कृतिको हिसावले यो ठाउँ धनी मानीन्छ । मेरो गाउँपालिका विहादीको सबैभन्दा उचाइमा रहेको गोर्ल्याङ टाकुरी, बच्छेश्वर मन्दिर, कालिगण्डकी नदी किनारमा रहेको विश्वकै ठूलो शालिग्राम शिला, शिवपुरी धाम, छापाकोट मन्दिर, लुरिङकोट मन्दिर, शीतल गुफा, रानीपानी दरवार गुफा, खड्का देवी मन्दिर, रम्भा देवी मन्दिर, देउराली डाँडा लगायतका स्थानहरु महत्वपूर्ण पर्यटकीय स्थलका रुपमा चिनिन्छन् ।

जुन गाउँमा प्याराग्लाइडिङको समेत सफल परीक्षण गरिएको छ । यहाँ बाट उत्तर तर्फ देखिने माछापुच्छ«े र धौवलागिरि हिमाल, दक्षिणतर्फ देखिने बेसुर गतिमा बग्ने कालिगण्डकी नदी तथा कालिगण्डकी जलविद्युत आयोजनाका क्रममा बनेको ताल, लटरम्म कृषि उत्पादन गरिरहेका फाँट, प्राकृतिक मनमोहक छटा, मननै लोभ्याउने प्राकृतिक डाँडा, खोला नाला, गुफा र झर्नाहरुले मन लोभ्याइरहेको छ ।


कृषि तथा पशुपालन,मझौला तथा साना घरेलु उद्योगहरु र व्यपार व्यवसायलाई यहाँ मानिसहरुले मुख्य पेशा बनाएका छन् । यहाँका विशाल ढुंगाखानी क्षेत्र, कालीगण्डकीमा रहेको बालुवालाई प्रशोधन तथा अन्य निर्माणसामग्री उत्पादनको क्षेत्र, वन पैदावर र स्थानीय कृषि उत्पादनमा आधारित उद्योगहरु समेट्दै यस क्षेत्रलाई औद्योगिक क्षेत्र बनाउन सकिन्छ । भौतिक विकास र समृद्धिका धेरै सम्भावना बोकेको प्राकृतिक स्रोत र साधनले भरिपूर्ण विहादीको स्थानीयस्तरमा उपलब्ध स्रोत र साधनहरूको सदुपयोग गर्नसके उक्त गाउँ समृद्ध हुनेमा कुनै शंका छैन ।


गाउँ समृद्धको विषय उठाइएरहदा यहाँका हजारौँ युवाहरु विदेशिएका छन् । ती युवाहरुलाई मातृभूमि नर्फकाइ विकास, परिवर्तन र समृद्धि प्राप्त गर्न कठिन हुन सक्छ । त्यसैले पनि बाहिरिएको जनशक्तिलाई फर्काउन अब हामी लाग्नुपर्छ । विदेशिनु बाध्यता हो तर यहाँको सम्भावनाको अध्ययन नगरी, अझै भनौँ केही गर्न सकिने सम्भावना हुँदा हुँदै पनि प्रवासिएका धेरै युवाहरु छन् । हिजो आजका मानिस सुविधाभोगी बन्दै गए आफ्नो हैसियत बिर्सिएर सालनाल गाडिएको गाउँठाउँभन्दा सहर–बजार बस्न रुचाउनेहरुको कमी छैन यहाँ । गाउँको २ सय रोपनी बहुउपयोगी जग्गा कौडीको मूल्यमा बेचेर सहरमा केही आना जग्गा किन्ने यथार्थरहित सपना धेरैले देखेका छन् । विभिन्न दुख, सुखले ऋणधनमा परी एउटा घर ठडाउनु कुनै ठूलो कुरा होइन तर त्यहाँ चल्न सक्नु, जम्न सक्नु ठूलो कुरा हो ।


शहर पस ेपनि खान अर्गानिक पर्दोरहेछ अनि संकट परे गाउँ नै चाहिने रहेछ भन्ने उदाहरण त म पेस गरिरहन आवश्यक ठान्दिन । कयौँ उदाहरण हजुरहरु आफैले भोग्नुभएको छ, कतिले देख्नु पनि भएकोछ ।


सयलको गाउँ छोडी दुखको शहर बस्ने अनि बिदेशमा हुने प्रिय मित्रहरुमा म आग्रहका साथ भन्छु, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, खानेपानी, कला संस्कृति र यातायातका क्षेत्रमा यस ठाउँले विकासको गति लिँदै छ ।


प्रिय मित्रहरु, आउँ बसेर एकछिन मनन् गरौ यहाँको सम्भावना । के गर्दा हामी सम्पन्नशाली हुन्छौं छलफल गरौँ । आफ्नै ठाउँमा केहीँ गरौँ, तिमीहरुले बिदेशमा बगाएको पसिनाको ३० प्रतिशत पसिना यहीँ माटोमा बगाऔँ हामी जन्मेको माटोमा सुन फलाउन सकिन्छ । हामी एकताका साथ आफ्नो ठाउँलाई नमुना, समुन्नत र सम्पन्नशाली बनाउन जुटौँ । समृद्धिको दुरी धेरै टाढा छैन ।

तपाईको प्रतिक्रिया