लकडाउन र त्यो साँझको यात्रा

समाधान संवाददाता २०७७ वैशाख ४ गते १५:२९

जमुनावर्षा शर्मा

डिसेम्बरमा ३१ मा चीनको वुहानमा कोरोना भाइरस देखिएको कुरा सञ्चारमाध्यममा आउन थाल्यो । यसअघि पनि यस्ता भाइरसको चर्चा हुने र विस्तारै नियन्त्रणमा आउने हुन्थ्यो ।

सामान्य नै लाग्यो कोरोना पनि केही समयमै रोकिन्छ वा रोकिने बनाइन्छ । तर सोचे जस्तो भएन दिन प्रतिदिन मान्छे मरेको र संक्रमितको संख्या बढेको मात्रै सुन्न थालियो ।

चैत ४ गते कतार एयरवेजबाट नेपाल आएकी १ युवतीमा कोरोना पोजेटिभ देखियो त्यस अघि एक युवा निको भएर घर फर्किसकेका थिए । परिस्थितिलाई नियन्त्रणमा राख्न र कोरोना फैलन नदिन चैत ११ गते सरकारले लकडाउन घोषणा ग¥यो ।

छोराछोरी परीक्षा सकेर मामा घर बागलुङ गएका थिए । चैत १६ गते हुनुपर्छ बागलुङ कुँडुलेकी अंशुको कारोना पोजेटिभ देखियो । सरकारले थप १ हप्ताको लागि लकडाउन थप्ने निर्णय ग¥यो ।


अक्सर यात्रामा रमाउने मान्छे म । त्यो दिनको यात्रा भने बिल्कुल फरक थियो । सुनसान बाटो, चराचुरुंगीका आवाजहरु, फाटफुट्ट मान्छे आवात जावत, बीचबीचमा प्रहरीको निगरानी, वर्षौ हिडिरहेको त्यो बाटो निकै बिरानो जस्तो ।

समाचार बनाउँदै थिएँ, बेलुकाको ४.३० भएको थियो । छोरी प्राप्तीको फोन आयो ममी लकडाउन फेरी थप्ने रे, अब कसरी आउने हामी मलाई रुघा लागेको छ, कान दुखेको छ । भाइलाई पनि रुघा लागेको छ ।

कता कता उनीहरुमा कोरोनाको त्रास भएको भान भयो । आमा हुँ, छोराछोरीको मनोविज्ञान बुझ्न समय लागेन । गाडी चल्ने कुरा भएन, अब छोराछोरी झन् आत्तिने भए भन्ने कुराले मन पोल्न थाल्यो ।

ल्यापटप बन्द गरें । श्रीमानलाई म बागलुङ जान्छु भने । उहाँ एकछिन अलमल्ल पर्नु भयो । उहाँमा चिसोको एलर्जी थियो, उहाँ जान सम्भव थिएन । उहाँलाई विश्वस्त बनाएर, स्कुटरमा पेट्रोल राख्न लगाएँ ।

पास बनाउन जाने समय पनि भएन । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दानबहादुर कार्कीलाई आफू बागलुङ जान लागेको भनेर स्कुटर नम्बर टिपाएँ । अनि आइतबारको त्यो साँझ पौने ६ बजे स्कुटरमा हानिएँ पोखराबाट बागलुङ तिर ।

अक्सर यात्रामा रमाउने मान्छे म । त्यो दिनको यात्रा भने बिल्कुल फरक थियो । सुनसान बाटो, चराचुरुंगीका आवाजहरु, फाटफुट्ट मान्छे आवात जावत, बीचबीचमा प्रहरीको निगरानी, वर्षौ हिडिरहेको त्यो बाटो निकै बिरानो जस्तो ।

मनभरी शून्यता, समय रोकिए जस्तो, सबै कुरा भोगिरहे पनि अझै भोग्न बाँकी भएजस्ता, कस्तो कस्तो अनुभुति, न त शब्दमा आउने, न त व्यक्त गर्न सकिने । मनमा के के कुरा खेल्यो थाहै भएन । डिमुवानेर पुगेपछि हेडलाइट बालें ।

सडक बीचमा कालो कपडा लगाएको र चुरोट सल्लाएर लमक लमक हिडेको मान्छे देख्दा अलिकति झसँग भए । किन डराएँ त्यो मान्छसँग थाहा छैन ।बाटोको अवस्था नराम्रो होइन तर राम्रो भनेर स्पिडमा हिँड्न मिल्ने पनि थिएन । ग्राबेल, खाल्डा खुल्टी, ओटासिल बाटोमा सतर्कता पनि उत्तिकै जरुरी थियो ।

मनभित्र अनेक प्रश्न खेलाउँदै खेलाउँदै कुश्माको जिल्ला प्रहरी कार्यालय अघि पुगें । प्रहरीको आवश्य सोधपुछले केही बेर रोकिएँ । त्यहाँबाट उता जान भने अलि डर लाग्न थाल्यो सात बजिसकेको थियो । यात्रा उही रफ्तारमा अघि बढ्यो ।

जति जति उता जान्छु मनमा कता कता अदृश्य डरले शिथिल बनाए जस्तो अनुभव गर्छु, घडी हेरें पौन ८ भएको रहेछ । अघिपछि कतिखेरै खाली नहुने त्यो बाटो पूरै खाली थियो । बेला बेला देखिने एम्बुलेन्सले भने मन शान्त बनाइदिन्थ्यो ।

जब जंगल आउँछ डराउँदिन भनेको मन सबैभन्दा अगाडि आएर आएर आफैलाई तर्साइदिन्छ । केही समय अगाडि आफैले लेखेको ‘मध्यरातमा सेतो पहिरन कि सुन्दरी’ भन्ने लेखकी तिनै पात्र अगाडि आए जस्तो भान हुन थाल्यो ।

स्कुटरको एक्सलेटर बटारेर यात्रामा कुद्नु बाहेकको विकल्प पनि थिएन । डरलाई जित्नुनै थियो, सुरक्षित यात्रा गर्नुनै थियो । लाग्यो मान्छे आफैले आफैलाई निकै बलियो सम्झे पनि परिस्थिति आफ्नो अनुकुल नभएपछि उस भित्रको त्यो अहमता क्षणभरमै विलिन हुन्छ र आफूलाई कमजोर ठान्छ ।

मेरो नियती त्यस्तै थियो । मालढुंगााबाट माथि बागलुङ कालिका मन्दिर बीचसम्मको बाटो पनि मेरा लागि बाल्यकाल देखि डर लाग्नेमा पर्छ । सानै हुँदा एक जना दिदी त्यो भीरबाट लडेर बित्नुभएको थियो मानसपटलमा त्यो छाप अझै छ ।

त्यही बाटोमा सडक दुर्घटनामा ज्यान गुमाएका दुई जनाको प्रतिमा ढिस्को माथि टुपुक्क राखिएको छ । अनायसै घेरिएको त्यो भयलाई हटाउन उही स्कुटरको एक्सलेटर बटा¥यो र सकेको स्पिडमा हिड्नु बाहेक अर्को विकल्प थिएन ।

त्यसपछिको यात्रामा सहज भयो ८ बजे माइती घर पुगें । मेरो आगमनले आमा, भाइ प्रकट र भदा प्रवेशसँगै छोराछोरीमा एक प्रकारको खुशी छायो । उनीहरु नजिक जानु अघि हात गोढा धोए र केहिबेरको आरामपछि यात्राका अनुभव सुनाएँ । संसारमा ठूलै युद्ध जितेर आएजस्तो अनुभुति संगाल्दै उनीहरुसँग रमाएँ ।

जिन्दगीमा साना साना खुशीले दिने आनन्द पनि गजबकै हुनेरहेछ । छोरा काखमा लिएर सुतें, राती छोरालाई ज्वरो आयो, पेट दुख्यो भनेर उ रातभर सुत्न सकेन । नाकको एकापट्टीको भाग बन्द भएपछि उसलाई श्वास फेर्न पनि उस्तै गाह्रो भएको थियो । जसोतसो रात बित्यो, बिहान भयो ।

अब स्कुटरमा कसरी लिएर जाने होला भन्ने चिन्ता पनि थियो । भाइ प्रकट आमाको आशय केही दिन बसे हुने भन्ने देखिन्थ्यो तर परिस्थिति अनुकुल थिएन । छोरीले पनि कान दुख्यो भनिरहेकी थिइन् ।

पोखरा लगेर नै चेकअफ गराउने विचार गरें । बच्चाहरुलाई अरु गाडीमा एक्लै पठाउन सक्ने अवस्था पनि थिएन, त्यसैले साइनेक्स र आमाले जडिबुटीबाट तयार गरेको धुलो औषधी बाबुलाई खुवाएर दिउँसो १ बजे हिँड्ने तरखर गरें ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक नवराज भट्टलाई हिड्नु अघि जानकारी गराएँ । मालढुंगाामा चेकिङ थियो, त्यसपश्चात कुश्मा पुगेपछि स्कुटरमा तेल सकिन लागेछ । कतै पेट्रोल पम्पहरु खुला थिएनन् ।

पर्वतका डिएसपी श्याम अर्याललाई बच्चासँगको यात्रा र पेट्रोल सकिन लागेको जानकारी गराएँ । २ लिटर पेट्रोल बन्दोबस्त गरिदिनुभयो । मनदेखि धेरै धन्यवाद दिएँ ।

जाँदा डराएको कुराहरु छोराछोरीसँग शेयर गर्दै बाटो बाटो विश्राम लिदै यात्रा अघि बढ्यो । वरिपरि हरियाली चराचुरुंगीको आवाज र खाली सडकमा बाख्राहरु रमाइरहेका दृश्यले साँच्चै प्रकृतिको स्वच्छताको अनुभव गर्न सकिन्थ्यो ।

हिजो निकै कठिन र कष्टकर लागेको यात्रा आज १५ र १० वर्षको छोरी र छोरा लिएर यात्रा गर्दा भने त्यस्तो गाह्रो अुनभव भएन । यत्तिकैमा नौडाँडा आइपुगियो ।

प्रहरी चौकीमा रहेका प्रहरीले रोके र पास मागे । मैले हिजो एसपी साबलाई खबर गरेर इमरजेन्सि गएको र आज पनि सबैलाई खबर गरेर बच्चा लिएर आएको जानकारी गराएँ । अहँ मानेन ! मैले छोराछोरी बिरामी भएकाले लिन गएको भने । डाक्टरको प्रिकिप्सन मागे ।

मैले पोखरामै चेक गर्ने भनेर उता चेक नगराएको बताए । तर उनीहरु मलाई झुटो बोलेको भनेर थप केरकार गरिरहे । म पत्रकार भन्न मन पनि लागेन किनकि म समाचार संकलनको लागि गएकी थिइन । अतिनै गरेपछि मैले एसपी दानबहादुर कार्कीलाई जानकारी गराएँ । उहाँले हुन्छ म खबर गर्छु भन्नुभयो ।

छोरा निकै शिथिल भएको थियो । बिरामी त्यहिमाथि स्कुटरको यात्रा । प्रहरीले छोरालाई केरकार गर्न थाले, मलाई देखाउँदै, यो तिम्रो को हो ? कहिले जानु भएको ? के तिमी बिरामी हौ ? ममीले भनेको कुरा साँचो हो ?

बिरामी छोरालाई गरिएका अनेक प्रश्नले दिक्क बनायो । रिस त त्यति बेला उठ्यो तिम्रो ममी नै हो ? अनि ममीले भनेको कुरा साँचो हो ? छोराछोरीको अघि १ आमालाई अविश्वासी जस्तो बनाएर सोधिएको त्यो प्रश्न कति जायज थियो कुन्नि बुझ्न सकिन । प्रहरीको बाङ्गा टिङ्गा प्रश्नले छोरानै आजित भएको थियो ।

त्यो लामो बाटोमा कोरोना त्रास सँगै असुरक्षित यात्रा बीच सबै कुराको सविस्तार गर्दा पनि नसुनेझे गर्ने प्रहरीलाई सायद त्यहि आदेश थियो होला । केही बेर रोकेपछि मुस्कान सहितको प्रहरी सेवाको कर्तव्य पुरा भो र बल्ल जान दिइयो ।

सराङकोटको बाटो हुँदै विन्ध्यवासिनी निस्कियो, पोखरा पुगेपछि छोराछोरी प्रसन्न भए । करिब सबा ३ घण्टामा बागलुङदेखि पोखरासम्मको ७३ किलोमिटर यात्रा सकियो ।

यो सङ्मणकालीन अवस्थामा मेरो यात्रा रहर थिएन, त्यो एक्लो र अपरझटको यात्रा भित्र एक आमाको ममता थियो । यो विषम अवस्थामा छोराछोरीलाई आफ्नै काखमा राखेर उनीहरुलाई निराशाबाट जोगाउनु थियो । पढेका सुनेका धेरै महामारीका कथाहरु बीच प्रत्यक्ष त्यसैको असरमा एक आमाको कर्तव्य पूरा गर्न पाउँदाको खुशी पनि सँगै मिलेको थियो ।

लकडाउन लम्बिएको छ, घर भित्र बस्नु पर्ने बेला पेशागत जिम्मेवारीले बेला बेला बाहिर निस्कनुपर्छ । ‘समस्या छ भने, समाधान पनि हुन्छ’ भन्ने भनाइले आत्मबल बलियो बनाउन खोजे पनि समाधान नदेखिदाँ बन्दाबन्दी यो जीवन कहिलेसम्म भन्ने प्रश्नले सोचमग्न बनाउँछ ।

फेरि पनि इतिहासमा धेरै महामारी मानवले जितेर युग बदलेका केही दृष्टान्तहरुलाई साक्षी राखेर अब बन्दाबन्दी भित्रको आफ्नो अस्तित्व रक्षाको लागि संघर्ष गर्नुको विकल्प छैन ।

अन्तमाः दिनेश अधिकारीको शब्द र तारादेवीको स्वर सोचे जस्तो हुन्न जीवन, सम्झे जस्तो हुन्न जीवन, जस्तो भोग्यो उस्तै हुन्छ , देखे जस्तो हुन्न जीवन ।

तपाईको प्रतिक्रिया